आज नवौँ निर्वाचन दिवस


काठमाडौँ ७ फागुन २०८१ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् । नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरुले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताए ।


निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारिता माथि पनि उनले प्रश्न उठाए । निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याउनुभयो ।


त्यस्तै, आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै स्थानको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उनको भनाइ छ । निर्वाचन व्यवस्थापन तथा सन्चालनसम्बन्धि कानुन चाँडै बनेर कार्यान्वयनमा आउने विश्वास उनले व्यक्त गरे । निर्वाचनका क्रममा अहिले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको व्यवस्थापन नयाँ चुनौतीका रुपमा आएको उनले बताए ।


निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीले निर्वाचनका क्रममा आयोगको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताए । निर्वाचन व्यवस्थापनका लागि विधि र पद्धति मा के–कति सुधार आवश्यक छ भनेर समीक्षा गरिनुपर्नेमा उनले जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया