‘आठ बजेपछि होटल, रेस्टुराँ र दोहोरीसाँझ नखोल्नु’

चितवन ३० बैशाख 

जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ ।

रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन सार्वजनिक अपिल गरेको चिवतनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो ।

निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद २ को ५ ‘घ’ बमोजिम मौनअवधिमा पालना गर्नुपर्ने आचरण र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम भेला जम्मा हुन र भेलाजम्मा भई हिँडडुल गर्न नपाइने भएकाले शान्ति सुरक्षाका लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा शान्ति सुरक्षा कडा पारिएको भन्दै मतदान केन्द्रको पाँच सय मिटर वरपर मदिरा निषेध गरी कडा सुरक्षा प्रदान गरिएको जानकारी दिए । यसका लागि जिल्लामा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया