आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण


काठमाडौं ८ फागुन २०८१ । गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिएका छन् । उनका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् ।
यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेका छन् । साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् । सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ ।

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको चिना, भाँडाकुँडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका छन्भने काष्ठकलाले भरिपूर्ण तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा सङ्ग्रहालयको थप आकर्षणका रूपमा रहेको छ ।  यस्तै, विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया