आठ विदेशी सिनेमाको नेपालमा सुटिङ रद्द

काठमाडौं २१ पौष

सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको खबर आजको नयाँ पत्रिकामा छ ।
सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउन प्रतिबन्ध लगाएको थियो । नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, बलिउड तथा चिनियाँ सिनेमा उद्योगलगायतका निर्माताहरूले योजना रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् ।
ठूलो पर्दाका सिनेमाका अतिरिक्त डकुमेन्ट्री, टेलिभिजन सिरियल, छोटो फिल्म र रियालिटी शोका लागि नेपालमा सुटिङ योजना बनाइरहेका फिल्मकर्मीले पनि ड्रोनको प्रयोग झन्झटिलो भएको भन्दै नेपालमा सुटिङ रद्द गरेको उनीहरूले बताएका छन् ।
नेपालमा छायाकनको व्यवस्थापन गर्ने ४ एजेन्सीमार्फत आउन लागेका सिनेमा रद्द भएका हुन् । स्विडेन, बेलायत, अमेरिका, चीन, भारत र जर्मनीबाट नेपालमा सुटिङ योजना बनाएका फिल्मकर्मीले योजना रद्द गरेको व्यवसायीहरूले बताएका छन् । मेगा एडभेन्चर्स इन्टरनेसनल, धिमालजी सिने ट्रेक्स, बोन ट्राभल एन्ड टुर्स र आइसफ प्रोडक्सनमार्फत नेपाल आउन लागेका सिनेमाहरूको सुटिङ रद्द भएको व्यवसायीहरूले जानकारी दिए ।

भूकम्पपछि अनुमतिको व्यवस्था
१२ बैसाख०७२ मा नेपालमा भूकम्प आएपछि नेपालमा ड्रोन उठाउन पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको हो । भूकम्पलगत्तै नेपालीहरूले अत्यधिक मात्रामा ड्रोन ल्याएर तस्बिर तथा भिडियो खिच्न थालेपछि २३ वैशाखमा सरकारले त्यस्तो निर्णय गरेको थियो ।

नेपालमा सुटिङ भएका सिनेमाहरू
सिनेमा छायांकनका लागि प्राकृतिक सेटका रूपमा लिँदै नेपालमा विदेशी सिनेमाको छायांकन बढ्दै गएको छ । केही वर्षअघिको हलिउड सिनेमा अंग्रेजी सिनेमा ‘एभरेस्ट’, ‘हाइवे टु धम्पुस’ र चिनियाँ सिनेमा ‘अप इन द विन्ड’ नेपालमा सुटिङ भएका थिए । एक वर्षअघि मात्र हलिउड सिनेमा ‘डक्टर स्ट्रेन्ज’को सुटिङ पनि नेपालमा भएको थियो । एरिक भ्यालीले क्याराभान सिनेमा डोल्पामा खिचेपछि नेपाल आउने सिनेमा बढ्दै गएका थिए । २२ वर्षअघि हिन्दी सिनेमा ‘खुदागवाह’ मुस्ताङमा सुटिङ भएको थियो । हलिउडको ‘लिटिल बुद्ध’, ‘द गोल्डेन चाइल्ड’, ‘द वाइन्ड हर्स’, ‘रेड कर्नर’लगायत सिनेमा नेपालमा सुटिङ भइसकेका छन् । यस्तै, भारतीय सिनेमा ‘हरे राम हरे कृष्ण’, ‘युद्ध’, ‘घरवाली बाहरवाली’, ‘महान’, ‘लब इन नेपाल’, ‘एक हसिना एक दिवाना’, ‘बेकाबु’लगायत पनि छायांकन भइसकेका छन् ।
त्यस्तै, हङकङको सिनेमा बोधी ड्रामा, क्यू वा, फ्रान्सको फियोर डेले मिली इ यूना नोट्टे, द कन्क्वेस्ट अफ एभरेस्ट, स्पेनी सिनेमा काठमाडौं मिरर इन द स्काई, हिन्दी सिनेमा बेबीलगायतले नेपालमा सुटिङ गरेका थिए । फिचर फिल्मबाहेक दर्जनौँ अन्तराष्ट्रिय सर्ट फिल्म, डकुमेन्ट्री र टेलिभिजन विज्ञापन पनि नेपालमा सुटिङ हु“दै आएका छन् ।

विदेशीले सिनेमा सुटिङको अनुमति यसरी लिनुपर्छ
कुनै पनि विदेशी सिनेमा सुटिङको अनुमति लिनुपर्दा आवश्यक कागजपत्रका साथ सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिनुपर्छ । यदि एरियल सुटिङ गर्नुपर्ने छैन र ड्रोनको प्रयोग पनि हुँदैन भने जहाँ सुटिङ गर्ने भनिएको छ, तीसँग सम्बन्धित निकायको राय लिएर अनुमति दिन्छ ।
उदाहरणका लागि पूरातात्विक सम्पदाको सुटिङ गर्नुपर्ने भए पूरातत्व विभाग, राष्ट्रिय निकुञ्जमा गर्नूपर्ने भए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको राय मागिन्छ । यदि एरियल दृश्य लिनुपर्ने र ड्रोन प्रयोग गर्नुपर्ने भए गृह, रक्षा र पर्यटन मन्त्रालयलाई सञ्चारले पत्र लेख्छ ।
गृहले प्रहरी प्रधान कार्यालय र रक्षाले जंगी अड्डालाई पत्र लेख्छ । पर्यटनले नागरिक उड्डयन प्राधिकरणको राय लिन्छ । ती सबै निकायबाट स्वीकृति आएपछि मात्र सूचना तथा सञ्चार मन्त्रालयले अनुमति दिन्छ । यो सबै प्रक्रिया पूरा गर्न १ महीना लाग्ने व्यवसायीहरु बताउँछन् । तर, स्वीकृतिका लागि कुनै शुल्क भने लाग्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया