आदर्श मानव

–राधा कार्की

सलाम छ
तिम्रो स्वतन्त्रताको सोचलाई !
दासत्व मुक्तिका लागि
जीवनभर मस्तिष्क खियायौ
कैयौँपटक कोठरीमा थुनियौ
कैयौँपटक प्रतिबन्धका झिरहरू रोपिए
फेरि पनि तिमीले
उन्मुक्तिको बुलन्द गीत गाइरह्यौ !

विचारको कुलेसो डो¥याएर
जब तिमी बस्तीमा बग्यौ
तब एकाएक उठे
हातमा कुटो र गैती बोकेर
हजारौँ–हजार निर्धा मान्छेहरू
तिनै मान्छेहरूको बलिदानमा टेकेर
भोक बेचिरहेको सडक
अन्ततः विजयी घोषित भयो !

केही मुठ्ठीभर सोचले
स्विकार्न सकेन यो परिवर्तनलाई
भुण्टी र रामेको स्कुल जाने सपना
जोमसोमकी आमाको
सेतो भात खाने रहर
हुम्लेली बाबाको
न्यानो कपडा भिर्ने मन
एकाएक किनारा लाग्दै गए
समताको नारा त कता हो कता
राजनीतिको व्यापार फस्टाएको छ मनग्गे !

आज पनि उस्तै छ सडक !

जो आए पनि
जो गए पनि
ऊ प्रतिकार गर्दैन
बरू प्रतिवद्धता प्रकट गर्छ
तिम्रो सपना अधुरो छोड्ने छैन
जबसम्म,
विभेद रहन्छ धर्तीमा
तबसम्म,
निरन्तर गाइरहने छ ऊ
उन्मुक्तिका बुलन्द गीतहरू ।



फेसबुकबाट तपाईको प्रतिक्रिया