आदिनाथको महास्नान सम्पन्न

काठमाडौँ १६ चैत

-काठमाडौँको दक्षिण भेगस्थित चोभारमा आज आदिनाथको महास्नान गराइयो । प्रत्येक वर्ष आजको दिन मन्दिरबाट मूर्तिलाई विधिपूर्वक निकालेर खटमा राखी महास्नान गराउने परम्परा छ । सो मूर्तिलाई बिहीबारदेखि एक हप्तासम्म रङरोगन र सिङ्गार गरी यही चैत २२ गते चैतेदसैँका दिन नख्खु दोभानमा खटजात्रा गरी लगिने पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्बित भएकाले सो मूर्तिलाई आदिनाथ भनिएको हो । प्राचीन समयमा नख्खु दोभानमा भेटिएको सो मूर्तिलाई स्थानीयवासीले देखेर चोभार डाँडामा प्रतिस्थापन गरेको जनविश्वास छ । यसरी वर्षमा एकपटक धार्मिक विधिअनुसार मूर्तिलाई स्नान गराएपछि करिब तीन किलोमिटरको दूरीमा पर्ने दोभानमा लगेर भक्तजनले पवित्र भई पूजा गर्ने चलन छ ।
स्थानीय देवदेवीलाई निमन्त्रणा गरी आदिनाथ जात्रा सञ्चालनका लागि अनुमति माग्ने चलनसमेत छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा आदिनाथलाई सम्मान गर्ने गर्छन् । हरेक वर्ष आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक सो मन्दिरमा मेला लाग्ने गछं । करुणाका प्रतीक मानिने आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया