आन्तरिक एकता र सुदृढीकरणमा जुट्दै एमाले

काठमाडौं  ९ भदौ

 सत्ताबाट बाहिरएपछि नेकपा एमाले आन्तरिक एकता र सुदृढीकरणमा लागेको छ। नवौं महाधिवेशनपछि पार्टीभित्र पर्याप्त आन्तरिक छलफल र आपसी समझदारी हुन नसकेको प्रश्न उठ्ने गरेको सन्दर्भमा पछिल्लो स्थायी समितिको ४३ औं बैठकले आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आठ दिनसम्म चलेर भदौ ७ गते बैठक सकिएको थियो। बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण विषयमा सघन छलफलपश्चात् आएको उक्त प्रतिबद्धताले कतिपय पार्टीकै कार्यकर्तामा पनि के एमालेमा गुटबन्दी अन्त्य हुन सम्भव होला भन्ने जिज्ञासा उत्पन्न गराएको छ। प्रदेश कमिटीको संयोजक र सहसंयोजकमा सन्तुलित कार्यविभाजन भएकाले माथिबाट एकताको सन्देश पनि एकैसाथ गएको पाइएको छ।

एमालेले वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक रूपमा एकताबद्ध, जुझारु र क्रियाशील पार्टीले मात्रै मुलुकका समस्या समाधानमा अगुवाइ गर्न भएकाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित, चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै पार्टी पङ्क्तिलाई आन्तरिक एकताको सङ्कल्पमा जुट्न निर्देशित गरेको हो।

विधि, नीति र पद्धतिलाई अनुशरण गर्दै कुनै नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताका आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमानदारीका आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने सङ्कल्प पनि निर्णयमा छ। कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरू प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमानदारीका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्न नेतृत्वको प्रतिबद्धतामा कमी नआउने महासचिव ईश्वर पोखरेल बताउँछन्।

सम्पूर्ण रूपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरूको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै पार्टीलाई गतिशील र सक्रिय बनाउन एमालेको पछिल्लो निर्णय ऐतिहासिक साबित हुने सचिव योगेश भट्टराईको भनाइ छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया