आमाछोरीको चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ,१७ पुस

वरिष्ठ संस्कृतविद् सत्यमोहन जोशीले कला क्षेत्रको विकास र विस्तारका लागि विशेष अभियान अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

वरिष्ठ चित्रकार चन्दा श्रेष्ठ र उहाँको आमा मनोरमाले निर्माण गर्नुभएको चित्रकला प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उहाँले कलाको संरक्षण गरेमात्र नेपालीको संस्कृति संरक्षण हुने र त्यसका लागि विशेष अभियान बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

वरिष्ठ संस्कृतविद् जोशीले कलाको विकास र विस्तारका लागि कलाकार एकजुट हुनपर्ने उल्लेख गर्दै नेपाल कला परिषद्ले पनि कलाकारलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले आफ्नो मौलिकतालाई संरक्षण गरे मात्र कलाको संरक्षण हुने बताउनुभयो ।

प्रदर्शनी यही पुस २० गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राखिएको चित्रहरु न्यूनतम रु १५ हजारदेखि एक लाखसम्मको रहेको कलाकार चन्दाले जानकारी दिनुभयो ।

बिक्रीमा राखिएका चित्रबाट आएको रकम ज्येष्ठ नागरिकका लागि लगानी गर्ने मनोरमाले बताउनुभयो । चन्दाले निर्माण गर्नुभएको नेवारी समुदायको संस्कृतिसँग सम्बन्धित २० र मनोरमाले निर्माण गर्नुभएको फूलहरुको ३५ गरी ५५ वटा चित्र प्रदर्शनीमा राखिएको छ ।

(रासस)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया