आयात–निर्यात अनुपात हालसम्मै उच्च

काठमाडौं ९ माघ

मुलुकको वैदेशिक व्यापारमा आयातको अनुपातमा निर्यात अनुपात वृद्धि हुन नसक्दा आयात–निर्यात अनुपात हालसम्मकै उच्च तहमा पुगेको खबर आजको कारोबारमा छ ।

भन्सार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा आयातभन्दा निर्यात १२.८ गुणाले बढी भएको छ । यो अनुपात हालसम्मकै उच्च हो ।

गत वर्षको पुससम्म आयात–निर्यात अनुपात ८.८ थियो । कुल व्यापारमा आयातको हिस्सा ९२.८ प्रतिशत र निर्यातको हिस्सा ७.२ प्रतिशत छ । यो हिस्सा गत आर्थिक वर्षको यसै अवधिकोभन्दा बढी हो । गत वर्ष कुल व्यापारमा आयातको हिस्सा ८९.८ र निर्यातको हिस्सा १०.२ प्रतिशत थियो ।

पुससम्म कुल वस्तु आयात चार खर्ब ६३ अर्ब ७२ करोड ९८ लाख र निर्यात ३६ अर्ब १९ करोड ९० लाख रुपैयाँको भएको छ । वस्तु आयात गत वर्षको यसै अवधिको भन्दा ६७.०६ प्रतिशत र निर्यात १४.८९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सुरुदेखि नै भारतीय सीमा नाकामा अवरोधका कारण वैदेशिक व्यापार फस्टाउन सकेको थिएन । तर, चालू वर्ष सुरुदेखि नै व्यापार सहज ढंगले अघि बढ्दा पनि त्यसको प्रभाव आयातमा मात्रै देखिएको छ तर, निर्यातमा खासै सुधार हुन सकेको छैन । गत वर्ष छ महिनामा २ खर्ब ७७ अर्ब ५७ करोडको वस्तु आयात र ३१ अर्ब ५० करोडको वस्तु निर्यात भएको थियो ।

पछिल्लो छ महिनामा भएको वैदेशिक व्यापारमध्ये पुस महिनामा नेपालले सबैभन्दा बढी व्यापार घाटा बेहोरेको छ । चालू आर्थिक वर्षमा भएको व्यापारलाई मासिक रुपमा हेर्दा सबैभन्दा बढी रकमको वस्तु आयात भएको र निर्यातमा सुधार नहुँदा यो महिना व्यापार घाटा बढी भएको हो ।

भन्सार विभागका अनुसार पुसमा ८१ अर्ब ४५ करोड ३८ लाखको वस्तु आयात र ५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँको निर्यात भएकादे व्यापारघाटा ७५ अर्ब ८६ करोड ५ लाख पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया