इन्टरनेटकै समस्याले नियमित काममा बाधा

काठमाडौँ ६ फागुन

सोलुखुम्बु-सङ्लकन भएको तथ्याङ्क प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताए।  इन्टरनेटले कार्यक्षेत्रमा काम नगर्दा प्राविधिकले पनि दोहोरो दुःख पाएको उनले बताए । ‘डाटा अप्लोड’ का लागि जिल्लाको डाँडापारिको गाउँ विकास समिति भनेर चिनिने ‘गोली’ बाट दुई दिन हिँडेर सदरमुकाम आइपुगेको सर्वे इन्जिनियर रामकुमार पाख्रिनले भने, “इन्टरनेटकै समस्याले नियमित काममा बाधा पुगेको छ ।” इन्टरनेट नहुँदा सङ्कलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो छ ।

प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा सङ्कलन गर्न कठिनाई हुने जिल्लाका अधिकांश प्राविधिकको गुनासो छ । भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्याङ्क सङ्कलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाई हुने भएको छ । सम्बन्धित निकायकै काम ढिलो भएमा पीडितले यसवर्ष पनि सबै प्रक्रिया पूरा गरी घर बनाउन ढिला हुने गुनासो गर्न थालेका छन् । गाउँमा इन्टरनेटले काम नगरेपछि प्राविधिकलाई पनि सदरमुकाम आउन र जानमै अधिकांश समय खर्चनुपरेको छ भने जिल्लाको चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा तथ्याङ्क सङ्कलनको काम नै सुरु भएको छैन । यसैगरी, लगत सङ्कलन सम्पर्क कार्यालय सोलुखुम्बुले भूकम्पपीडितको नाम यस अघिको सूचीमा छुटेको भए गाविस सचिवमार्फत टिपाउन भूकम्पपीडितलाई आग्रह गरेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया