इन्भेस्टमेन्ट बैंकले गर्‍यो १ करोड सहयोगको घोषणा

काठमाडौं १७ अशोज

नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ पुनर्निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गत वर्षको भूकम्पले आंशिक रुपमा क्षति भएको ती ऐतिहासिक मन्दिर हाल जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले पुनर्निर्माण गरिराखेको छ।  युनेस्कोद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बैंकले भूकम्पबाट क्षतिग्रस्त गोपीनाथ र जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। जापान सरकारले भूकम्पका क्षति भएका सम्पदा पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत युनेस्कोलाई एक करोड ५० लाख सहयोग गरिसकेको छ ।  कार्यक्रममा नेपालका लागि जापानी राजदूत माससी ओगावाले भूकम्पले क्षति भएका काठमाडौँ उपत्यकाका सम्पदा पुनर्निर्माणमा थप सहयोग गर्ने जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया