इराककाण्डपछिको ठूलो घटना काबुल घटना

काठमाडौं–७ असार

सन् २००४ मा १२ नेपालीले इराकमा अनाहकमा ज्यान गुमाउनु परेको थियो, त्यसको ठीक १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलमा तालिवानी विद्रोहीको बम आक्रमणबाट १२ नेपालीको मृत्यु भएको छ । सोमबार बिहान नेपाली सुरक्षागार्ड सवार मिनिबसमा भएको आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जना नेपालीको पुष्टि भएको छ भने सातजना घाइते भएका छन् ।

‘१२ जना नेपाली सुरक्षागार्डको मृत्यु भएको छ, घाइतेहरू खतरामुक्त हुनुहुन्छ,’ अफगानिस्तानसमेत हेर्ने पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ अर्यालले सोमबार साँझ टेलिफोनमा नयाँ पत्रिकासँग भने । मृत्यु भएका दुईजना नेपालीजस्तै अनुहार रहे पनि भारतीय नागरिक रहेको अनुमान छ । तर, पुष्टि हुन सकेको छैन । मारिएका र घाइते नेपाली सुरक्षागार्ड काबुलको वाजिर अकबर खान स्ट्रिट नम्बर १५ स्थित क्यानेडियन दूतावासमा कार्यरत थिए ।

मृतक तथा घाइतेका परिवार सम्पर्कमा

परराष्ट्र मन्त्रालयले सोमबारै उपसचिव सुधीर भट्टराईलाई मृतक तथा घाइतेका परिवारसँग समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ । उपसचिव भट्टराईले मृतक तथा घाइतेका परिवार सम्पर्कमा आइरहेको बताए ।

इराककाण्डपछिको ठूलो घटना

१६ भदौ २०६० को इराकमा नेपाली कामदारको सामूहिक हत्या भएपछि ठूलो संख्यामा एकैपटक नेपाली मारिएको यो पहिलो घटना हो । इराकमा १२ जना नेपालीलाई आतंककारीले हत्या गरेका थिए ।

शव स्वदेश ल्याउने प्रक्रिया सुरु

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बिहानै जारी गरेको विज्ञप्तिमा मृतक सबै १४ जना नेपाली रहेको उल्लेख गरेको थियो । मन्त्रालयले पाँचजना नेपाली र चारजना अफगान नागरिक घाइते भएको बताएको थियो । तर, साँझसम्म सातजना नेपाली घाइते भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए । ‘हामी अझै पनि सोधपुछ गरिरहेका छौँ,’ पौड्यालले भने ।

मृतक सबै निजी कम्पनीमा कार्यरत

तालिवानी हमलामा परेका नेपाली सुरक्षागार्ड सावर इन्टरनेसनल नामक निजी सुरक्षा कम्पनीमा कार्यरत थिए । सावरको वेबसाइटमा उसले इराकलगायत द्वन्द्वग्रस्त अन्य मुलुकका विभिन्न दूतावासमा समेत सुरक्षागार्ड उपलब्ध गराउँदै आएको उल्लेख छ । सावरले पाकिस्तानस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले मृतक र घाइतेको विवरण सार्वजनिक गरेको हो । नेपालीहरू फरक–फरक मितिमा त्यहाँ गएको परराष्ट्रले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया