उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो
काठमाडौं–१९ श्रावण
विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ ।
शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन (सिएमएफएस) अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ११ महिनाभन्दा यस वर्ष १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेश अध्ययन गर्न जानेहरूका कारण मुद्रा सटही गर्ने क्रम बढिरहेको जानकारी दिए । अघिल्लो एक वर्षमा सटही भएबराबरको रकम यो वर्ष ११ महिनामै सटही भएको छ ।
शिक्षा मन्त्रालयमा गत आर्थिक वर्ष साउन महिनाबाहेकको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया, जापान र अमेरिकालाई प्रमुख गन्तव्य बनाएका छन् । ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । जापानका लागि पाँच हजार चार सय ९१ र अमेरिका अध्ययनका लागि चार हजार सात सय २६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया