उदित नारायणको चुम्बन भिडियो विवादित र ‘भाइरल’
काठमाडौँ । गायक उदित नारायण झा यति बेला सामाजिक सञ्जालमा चर्चामा र विवादमा रहँदै ‘भाइरल’ बनेका छन् । एक कार्यक्रममा ‘टिप टिप वर्षा पानी’ गाउँदै गर्दा एक महिला फ्यानको ओठमा उदितले चुम्बन गरेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसका कारण उदित यति बेला विवादमा रहँदै ‘भाइरल’ बनेका हुन् ।
उदितले गाउँदै गर्दा एक महिला फ्यान सेल्फी खिच्ने उद्देश्यले उनी नजिकै पुग्छिन् । महिला फ्यानले सेल्फी लिएपछि उदितको गालामा चुम्बन गर्छिन् । त्यसपछि उदितले महिला फ्यानको ओठमा चुम्बन गरेको भिडियो क्लिप भाइरल भएको हो । तर उदितको यस प्रकारको चुम्बन हर्कत भने यो पहिलो हैन ।
उदितको अर्को एक पुरानो भिडियोमा पनि स्टेजमा अवार्ड लिन आएकी गायिका श्रेया घोषाललाई चुम्बन गरेको देखिन्छ । यस्तै उदितले रियालिटी शो इन्डियन आइडलको मञ्चमा गायिका अल्का याग्निकको गालामा चुम्बन गरेको भिडियो पनि सामाजिक सञ्जालमा आइरहेको छ ।
उदितले यसबारे एक भारतीय सञ्चार माध्यममा स्पष्टीकरण दिँदै आफ्नो हर्कतको बचाउ गरेका छन् । उनले भनेका छन्, “फ्यानहरू धेरै क्रेजी हुन्छन्, हैन र ? हामी त्यस्तो छैनौँ । हामी सभ्य मानिस हौँ । कोही कोहीले यसलाई बढावा दिन्छन् र यसको माध्यमबाट आफ्नो प्रेम देखाउँछन् ।”
“फ्यानहरूलाई भेट्ने मौका यही हो भन्ने लाग्छ । त्यसैले कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात मिलाउँछन् । यसमा धेरै ध्यान दिनु हुँदैन,” उनले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया