उन्नत नेपाल-चीन सम्बन्धको विकल्प छैन
सुरेन्द्र ढकाल
मल्लकालमा नेपालको भोटसँगको ब्यापार निकै चम्किएको कारण त्यतिखेरको काठमाडौँको उपत्यकाको विकासले युरोपको विकासलाई समेत उछिनेको कुरा केपुचिन पादरीहरुको यात्रा वृतान्त तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरु भन्ने पुस्तकमा राम्रोसँग उल्लेख गरिएको छ । नेपालको त्यत्रो आर्थिक विकास हुनुको पछाडि नेपाल तिब्बत ब्यपार नै थियो । दुई देशबीचको ब्यापार यति बढेको थियो कि तिब्बतमा नेपाली मुद्रा चल्दथ्यो । त्यही नेपाली सिक्का खिइँदै गएको कारण नेपालले पुरानो सिक्काको सट्टा नयाँ सिक्का तिब्बतमा पठाउने विषयमा उठेको विवाद बढ्दै गई त्यसैको कारण पहिलो नेपाल तिब्बत युद्ध बहादुर शाहको पालामा भएको थियो । तिब्बतसँगको युद्ध भनिए तापनि नेपाली सेनाले चिनिया फौजसँग लडाइँ लड्नु परेको थियो । किनकी चीनको दुई ग्यारिसन सेना प्राचीनकालदेखि नै तिब्बतको ल्हासामा बस्ने गर्दथे । चीन सरकारले जसलाई दलाई लामा मान्यो त्यही दलाई लामा हुने गर्दथ्यो । बेलायतीहरुले छापेको Map of the Dominion of the House of Gorkha हेर्ने हो भने त्यतिखेरको नेपालको उत्तरी सीमा हुङ चिनिया साम्राज्यसँग देखिन्छ । त्यहाँ तिब्बत भन्ने कुनै देश देखिँदैन ।
यस परिप्रेक्ष्यमा नेपाल चीन सम्बन्धको आधारशीला खोज्ने हो भने लिच्छवीकालीन राजा अंशु बर्मासम्म पुग्दछ जसले आफ्नी छोरी भृकुटीको विवाह तिब्बती राजासँग गरिदिएको इतिहासले बताउँछ । तर पछि तिब्बतले आफ्नो स्वतन्त्रता कायम गर्न नसक्दा, धर्मको विषय आउँदा तिब्बत, मंचुरिया र मंगोलियामा दलाई लामा प्रमुख हुने तर राज्य संचालनको विषय आउँदा चिनिया सम्राटको अधिनमा तिब्बत रहने परम्परा भएकै कारण नेपालको दरबारले उपहार पठाउँदा पनि चिनिया सम्राटलाई पठाउने परम्परा बसेको थियो ।
यस्तो सौहाद्रपूर्ण सम्बन्ध भारतका राजा रजौटासँग नेपालको कहिले पनि भएन । त्यसको कारण यो पनि हो कि सन् १९४७ अघि भारत भन्ने कुनै देश नै थिएन । माथि भनिएको ग्रेटर नेपालको नक्सा हेर्ने हो भने नेपालको पश्चिमी सीमा त्यतिखेर सिख साम्राज्यसँग, दक्षिणी सीमा अवधसँग र दक्षिण पूर्वी सीमा बंगालसँग रहेको पाइन्छ । नेपाल एकिकरण गर्ने दौरानमा मकवानपुरलाई नेपालभित्र गाभ्न खोज्दा मकवानपुरी सेन राजाले बंगालको नवाव मीर कासीमसँग सैन्य सहयोग मागेको कारण नेपाल बंगालको युद्ध हुनु पुगेको थियो । बंगाली सेना मकवानपुर गढीसम्म आइपुगेको अवस्थामा गोर्खाली सेनाले यिनीहरुलाई परास्त गरी यिनीहरुका हतियार लुटेका थिए । यस लडाइँमा बंगालको हार भएको कारण मकवानपुर नेपालभित्र गाभिएको थियो । यसो भन्नुको अर्थ यो हो कि नेपालको चीनसँगको सम्बन्ध जति प्राचीन र सौहाद्रपूर्ण थियो भारतका राजा रजौटाहरुसँग थिएन । तिब्बतमा चलेको नेपाली सिक्काको विवादको कारण बहादुर शाहको पालामा भएको नेपाल चीन युद्ध सन् १७९२ मा भएको बेत्रावती सन्धिपश्चात टुंगिएको थियो । तत्पश्चात नेपाल चीन सम्बन्धमा कुनै पनि अप्ठेराहरु परेनन् ।
तर पछि नेपालमा जंगबहादुरको उदय भएपछि उनको भारतमा रहेका अंग्रेजहसँग राम्रो सम्बन्ध भएको कारण उनले चीनसँगको मित्रतालाई त्यति महत्व दिएनन् । चीनमा मंचु वंश कमजोर भएको फाइदा उठाई जंगबहादुरले तिब्बतमा आक्रमण गरी ल्हासा लुटे । सन् १८५६ मा भएको नेपाल चीनबीचको थापाथली सन्धिपश्चात तिब्बत नेपाल ब्यापार पुरानै स्थितिमा फर्कियो । नेपाली ब्यापारीहरुले तिब्बतमा विना रोकटोक आवतजावत र ब्यापार गर्न पाउने भएको कारण नेपाल चीनबीच जनस्तरमा समेत ज्यादै राम्रो सम्बन्धको विकास हुन पुगेको थियो । यसरी चलिरहेको नेपाल तिब्बत ब्यापारलाई प्रधानमन्त्री चन्द्रशम्शेरले अंग्रेजलाई रिझाउने नाममा सन् १९०३ को डिसेम्बरमा अंग्रेजी अर्धसैनिक ब्यापारी प्रतिनिधिमण्डल योग हस्वेण्ड मिसनलाई सिक्किमको नाथुला भन्ज्याङबाट तिब्बत प्रवेश गर्न दिएपछि अंग्रेज तिब्बत ब्यापार सुरु हुन गई नेपाल तिब्बतको परम्परागत ब्यापार सदाको लागि अन्त्य भएको थियो ।
यसरी टुटेको नेपाल चीन सम्बन्धलाई भर्खरै राजा बनेका महेन्द्रले सन् १९५५ को अगष्टमा दौत्य सम्बन्ध कायम गरी पुनर्जीवन दिएका थिए भने उनकै अगुवाइमा कोदारी राजमार्ग खुल्न गई नेपाल चीनबीच स्थलमार्ग जोडी टुटेको नेपाल तिब्बत ब्यापारले पनि पुनर्जीवन पाएको थियो । दौत्य सम्बन्ध स्थापना पश्चात चीन नेपालको अप्ठेरो पर्दाको अशल मित्र बनेको विगतको इतिहासले प्रमाणित गरेको छ । नेपाल चीनबीच कुनै सीमा खिचलो छैन । नेपाली पक्षको प्राविधिक त्रुटीको कारण दोलखाको लामाबगर क्षेत्रका केही नेपाली भूमि चीनभित्र पर्न गएका छन् ।
नेपालको यातायात, संचार, उद्योग, स्वास्थ्य क्षेत्रमा चीनको अपार निस्वार्थ सहयोग रहेको छ । चीनकै समर्थनको कारण भारतले राजाद्वारा नेतृत्व गरिएको पंचायत ब्यवस्थालाई मान्नु परेको थियो भने चीनकै सहयोगको कारण भारतले लगाएको हरेक आर्थिक नाकाबन्दीलाई नेपालले चुनौती दिई असफल बनाइदिएको छ । अहिले नेपालले विआरआइमा हस्ताक्षर गरिसकेको अवस्था छ र सो अनुरुप नेपाल चीनबीच धेरै नाकाहरु खुल्ने क्रम जारी छ र विआरआइमा नेपाल जोडिन पुग्दा नेपालले चीनको भूभाग प्रयोग गरी केन्द्रीय एसिया र पूर्वी युरोपसम्म स्थलमार्गबाट आयात निर्यात ब्यापार गर्ने अवसर सिर्जना भई भारतप्रतिको परनिर्भरताको अन्त्य हुने दिन आउन अब धेरै कुर्नु नपर्ने भएको छ । चीनले आर्थिक र सामरिक रुपमा गरेको प्रगतिबाट आत्तियर अमेरिका चीनसँग ब्यापारिक र सामरिक युद्ध गर्न उद्दत छ भन्ने कुरा चीनको वस्तुमा अमेरिकाले गैरकानुनी किसिमबाट लगाएको भन्सार दरबाट पनि बुझ्न सकिन्छ भने अब भारतलाई आणविक शस्त्रअस्त्रले सुज्जित पार्ने अनि उत्तर कोरियालाई आफ्नो पक्षमा पारी उसको परमाणिक शक्ति नष्ट गर्दै चीनलाई एक्लाउने रणनीतिमा अमेरिका लागि परेको छ ।
स्वतन्त्र तिब्बतको नाममा अमेरिकाले जुनरुपमा नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई सहयोग गरिरहेको छ र नेपाली माटोलाई चीन विरुद्ध प्रयोग गर्न उक्साइरहेको छ । त्यस परिपेक्ष््रयमा चीन नेपालबाट साँच्चिकै एक चीन नीति अख्तियार गरेको देख्न चाहन्छ । यसका लागि नेपाल सरकारले नेपालमा रहेका तिब्बतीहरुलाई कि त तिब्बत कि त भारतको धर्मशाला कि त भुटानी शरणार्थीलाई जस्तै अमेरिका, क्यानडातर्फ पठाउनेतर्फ चीनसँग सहकार्य गर्नु अति जरुरी भइसकेको छ । अन्यथा चीनले नेपाललाई सजिलै पत्याउने पनि छैन । दक्षिण एसियाको मामलामा चीन चुप लागेर बस्दा भारतले सन् ७० को दशकमा पाकिस्तानलाई विखण्डन गरी बंगलादेश बनाएको र सिक्किमको स्वतन्त्रतालाई निलेको उदाहरण राष्ट्रवादी नेपालीहरुले बिर्सन हँुदैन । यस अर्थमा पनि नेपाल चीन सम्बन्धले ठूलो महत्व राख्दछ । नेपाललाई कहिले विकसित देख्न नचाहने भारत र नेपाललाई सकेसम्म चाँडो समद्ध बनाउनुपर्छ भन्ने चीनलाई नेपालको सरकार र जनताले राम्ररी चिन्न सकेन भने यो नेपाली स्वतन्त्रता र आत्मनिर्भरताको लागि खतराको घण्टी बन्न बेर हँुदैन । तसर्थ स्वाभीमान, आत्मनिर्भर र विकसित नेपालको सपनालाई यथार्थमा परिणत गर्ने हो भने उन्नत नेपाल चीन सम्बन्धको कुनै विकल्प छ्रैन ।
(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–३–९
फेसबुकबाट तपाईको प्रतिक्रिया