उपत्यकाका खानेपानीका धारामा आउन थाल्यो ढल

काठमाडौँ २० माघ

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।

उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ ।

केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज, बसुन्धरा लगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ । यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ । काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ ।

घट्टेकुलो बस्दै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन् । उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन् । साँझको ४ बजेको थियो । सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन् । धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन् । उनले भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर उफ , के गर्ने हो ।’

उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि आफूहरुले राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन् । ‘सरकारलाई पानीको बिल तिरेर पनि के गर्नु पानी नै खान पाइँदैन्, पानी आउँछ उल्टो ढलसहितको । बिरामी नै भएर मरिन्छ कि जस्तो भइसक्यो,’ पुनले भनिन् ।
राजधानीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया