एक अर्बको ‘एनआइसी एशिया ग्रोथ फण्ड’ माघ २ देखी विक्रीमा आउने

बिजनेसपाटी २२ पौष

एनआईसी एशिया क्यापिटलले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । एनआईसी एशिया बैंकको सहायक कम्पनी क्यापिटलले आफ्नो पहिलो ‘एनआइसी एशिया ग्रोथ फण्ड’ नामक सामुहिक लगानी कोष निष्काशन गर्न लागेको हो।

७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डले माघ २ देखि सर्वसाधारणमा १ अर्ब बराबरको १० करोड इकाई बिक्रि गर्न लागेको हो। माग भन्दा बढी आवेदन परेको खण्डमा यस योजनाको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पुग्न सक्नेछ। इच्छुक लगानीकर्ताले माघ २ देखि छिटोमा माघ ८ र ढिलोमा माघ २१ सम्म कोषको इकाई खरिदका लागि आबेदन दिन सक्नेछन।

इच्छुकले प्रति इकाई १० रुपैयाँका दरले न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईसम्म आबेदन दिन सक्नेछन। लगानीकर्ताले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्।

कानुनी प्राबधान अनुसार कोषले निष्काशन गर्न लागेको १० करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।

यस कोषले नेपाल धितोपत्र बोर्डबाट पुष ११ गते इकाई निष्काशनको अनुमति पाएको हो। साथै कोष व्यवस्थापक एनआईसी एसिया क्यापिटलले  क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपालबाट AMC Quality 3 (AMC3) र कोष प्रवर्द्धक एनआइसी एसिया बैंकले [ICRANP – IR] ‘A’ पाएको छ। म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिने क्यापिटलले जनाएको छ।

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्ति (नेट एसेस्ट भ्यालु) का आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।

सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागि पनि सामुहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्छ । विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानि कोषको आकर्षण बढ्दो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया