एनआइसी एशिया बैंकको बार्षिक साधारणसभा भदौ ३० गते
बिजनेसपाटी ९ भाद्र
बाणिज्य बैंकहरुमध्ये एनआइसी एशिया बैंक सबैभन्दा पहिलो साधारणसभा बोलाउने बैंक बनेको छ । बैंकले गत आर्थिक बर्षको बार्षिक साधारणसभा भदौ ३० गतेको लागि बोलाएको छ । बैंकले साधारण सभाका लागि भदौ १६ गतेदेखि ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ ।
एनआइसीले गत आ.बको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५ नगद लाभांश साधारण सभाबाट पारित गर्देछ । राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि बोनस सेयरधनीलाई वितरण हुनेछ ।
बैंकले आफ्ना सेवाग्राहीको सर्वोपरि हितलाई मध्यनजर गर्दै कर्जा तथा बचत योजनाहरु सञ्चालन गरिरहेको छ । बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर हो । यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।
बैंकले शाखा विस्तारको रफ्तारलाई गत बर्ष पनि निरन्तरता दिएको छ । फलस्वरुप गत बर्ष नेपालको बैंकिङ्ग इतिहास मै सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा बैंकले थप गरेको छ । तिब्र शाखा विस्तार सँगै हाल १२१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् बैंकले विभिन्न बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रति सेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बैंकको चक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया