एशियाली शेयरबजार मिश्रित

चैत २४, टोकियो (जापान) ।
बुधवार एशियाली शेयरबजार मिश्रित रहेको छ । यसै हप्ता अमेरिकामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनपिङको बैठकपूर्व लगानीकर्ताहरू सशङ्कित हुँदा शेयरबजारमा यसको प्रभाव देखिएको हो ।

बुधवार बजार बन्द हुँदा जापानी बेञ्चमार्क निक्केई २२५ सूचक शून्य दशमलव ९२ प्रतिशतले घटी १८ हजार ८ सय १० दशमलव २५ अङ्कमा आएको थियो । उता, सिङ्गापुरमा पनि स्ट्रेट टाइम्स पनि शून्य दशमलव २७ प्रतिशतले घटी ३ हजार १ सय ७९ दशमलव शून्य ६ अङ्कमा आएर बन्द भएको थियो ।

चीनको साङ्हाई कम्पोजिट इण्डेक्स शून्य दशमलव ३८ प्रतिशत र हङ्कङमा हाङशेङ परिसूचक शून्य दशमलव ६२ प्रतिशतले बढेका थिए । मुख्यभूमि चीनको राजधानी पेचिङनजिकै नयाँ आर्थिक विकास क्षेत्र स्थापना गरिने समाचारले लगानीकर्ताहरू उत्साहित भएकाले यो क्षेत्रका शेयरबजार बढेको हो । ताइवानको ताइवान वेटेडमा शून्य दशमलव ३७ प्रतिशतको कमी आएको थियो । त्यस्तैगरी, बुधवार दक्षिण कोरियाली बेञ्चमार्क कोस्पी परिसूचक शून्य दशमलव ३ प्रतिशतले घटी २ हजार १ सय ६१ दशमलव १ अङ्कमा आएको थियो ।

उता, इण्डोनेशियाली बेञ्चमार्क जकार्ता कम्पोजिटमा भने सबैभन्दा बढी शून्य दशमलव ८ प्रतिशतको वृद्धि भएको थियो । लगानीकर्ताहरूले सि र ट्रम्पबीचको बैठक र अमेरिकाको गैरकृषिक्षेत्रको रोजगारी तथ्याङ्क कुरिरहेको जस्तो देखिएको एक्सी ट्रेडरका प्रमुख बजार रणनीतिज्ञ ग्रेग म्याककेन्नाले बताएका छन् । यूरोपेली क्षेत्रमा पनि बुधवार शेयरबजार मिश्रित नै थियो ।

लण्डनमा फूट्सी १ सय परिसूचक शून्य दशमलव ३४ अङ्कले बढ्दा फ्रान्समा क्याक पनि ४० शून्य दशमलव शून्य ३ प्रतिशतले बढेको थियो ।

जर्मनीमा भने डीएएक्स परिसूचकमा शून्य शून्य २ प्रतिशतको कमी आएको थियो । यो समाचार तयार पार्दासम्म अमेरिकामा भने शेयरबजार खुलिसकेको थिएन । यद्यपि, फ्यूचर्सले भने दाउ जोन्स र एसएण्डपी ५ सय दुवै परिसूचक हरियोमा आउने देखाएको छ । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया