ऐन र नियमावली लत्याउँदै करोडौँ रुपैयाँ बोनस वितरण

काठमाडौं १५ फागुन

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै ऐनमात्र नभई बोनस नियामावली, २०३९ समेतलाई लत्याउँदै करोडौँ रुपैयाँ बोनस बाँड्ने गरेको तथ्य भेटिएको छ। बोनस नियमावली २०३९ मा ‘नाफा कमाउने उद्देश्य नलिई प्रशासनिक, औद्योगिक, कृषिजस्ता कुनै क्षेत्रको सम्बर्द्धनका लागि स्थापना भएको नेपाल सरकार स्वामित्वको प्रतिष्ठानले बोनस वितरण गर्न पाउने छैन,’ भन्ने उल्लेख छ। नागरिक दैनिकमा समाचार छ

त्यस्तै नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा ‘नेपाल नागरिक उड्डयन (सिभिल एभिएसन) को विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन (एयर नेभिगेशन) र हवाई परिवहन (एयर ट्रान्सपोर्टेसन) सेवा सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना र सञ्चालनका लागि व्यवस्था गरिएको’ उल्लेख छ। प्राधिकरणले बोनस नियमावली र प्राधिकरण ऐन तथा बोनस ऐन, २०३० लाई ठाडै लत्याउँदै ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस खुवाउने निर्णय पुसको दोस्रो साता गरेको थियो। ‘आफूसम्बद्ध ऐनमा सेवा गर्ने संस्था तथा बोनस नियमावलीमा सेवा गर्ने सरकारी प्रतिष्ठानले बोनस वितरण गर्न नपाइने उल्लेख हुँदाहुँदै करोडौँ रुपैयाँ बोनस बाँड्ने निर्णय गर्नु सर्वथा गलत हो,’ प्राधिकरणसम्बद्ध एक उच्च अधिकारीले भने, ‘त्यसमाथि विमानस्थलमा यात्रुबाट उठाइएको शुल्कलाई नाफा भन्नु अर्को बलमिच्याइँ हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया