ओपेकको तेल उत्पादन कीर्तिमानी उचाइमा

कात्तिक २७, रियाद (साउदी अरेबिया) ।

पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक)को तेल उत्पादनमा गत महीना कीर्तिमानी उचाइमा हासिल गरेको  छ । पेरिसस्थित ‘अन्तरराष्ट्रिय ऊर्जा निकाय’ (आईईए)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अक्टोबरमा समूहको उत्पादन दैनिक २ लाख ३० हजार ब्यारेलले बढी ३ करोड ३८ लाख ३० हजार ब्यारेल पुगेको छ । नाइजेरिया र लिबियाको तेल उत्पादनमा आएको सुधार र इराकको तेल आपूर्ति कीर्तिमानी उचाइमा पुगेपछि समूहको उत्पादनले नयाँ उचाइ छोएको हो ।

योसँगै समूहको उत्पादन लगातार पाँचौं महीना पनि बढेको छ । अक्टोबरमा भने ओपेकको दैनिक तेल उत्पादन १ वर्षअघिको तुलनामा १३ लाख ब्यारेल बढी थियो । उत्पादन कीर्तिमानी उचाइमा पुगेपछि तेल बजारलाई टेवा दिन उत्पादन घटाउन समूहलाई निकै कठिन हुने विश्लेषण गर्न थालिएको छ । लगानीकर्ताहरू नोभेम्बर ३० मा बस्ने ओपेकको बैठकमा समूहले प्रतिबद्धता गरेअनुरूप उत्पादन कटौती हुन्छ कि हुँदैन भनेर कुरेर बसिरहेका छन् ।

गत महीना अल्जियर्समा बसेको बैठकमा ओपेकले उत्पादन २ प्रतिशतसम्म घटाउने बताएका थिए । प्रतिबद्धता पूरा गर्ने हो भने १४ सदस्यीय सङ्गठनले समूहको उत्पादनमा उच्च कटौती गर्नुपर्ने आईईएले बताएको छ । उता, समूहबाहिरका रूस, ब्राजिल, क्यानाडा र काजकिस्तानलगायत देशको पनि उत्पादन बढिरहेको छ । सन् २०१६ मा दैनिक ९० हजार ब्यारेलले घटेको यी देशका कुल उत्पादन आगामी वर्ष दैनिक ५० हजार ब्यारेलले बढ्ने आईईएले बताएको छ ।

‘यसको अर्थ सन् २०१६ को जस्तै गरी सन् २०१७ मा पनि विश्वमा तेलको अत्यधिक आपूर्तिको समस्या देखिनेछ,’ प्रतिवेदनमा आईईएले भनेको छ । यो महीनाको अन्त्यमा ओपेकले उत्पादन कटौतीसम्बन्धी कुनै सम्झौता गरेन भने यो वर्षभरि तेल बजारमा आपूर्ति बढी हुने र आपूर्तिको बाढी आगामी वर्ष पनि देखिएमा तेलको भाउ ओरालो लाग्ने जोखीम बढी हुने धारणा आईईएले व्यक्त गरेको छ । यस वर्ष विश्वको तेल माग गतवर्षको तुलनामा दैनिक ६ लाख ब्यारेलले घटेर १२ लाख ब्यारेलमा आउने प्रक्षेपण आईईएले गरेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया