ओलीको प्रश्न-“संविधान संशोधन केका लागि र कसका लागि ?”
बिजनेसपाटी २४ भदौ
पूर्वप्रधानमन्त्री केपी ओलीले बर्तमान सरकारलाई एप्पलको आइफोनसग तुलना गरेका छन् । अरुकै एजेण्डामा अरुले नै जोरजाम गरिदिएको बहुमतबाट सरकार बनाएको भन्दै ओलीले वर्तमान सरकारलाई एप्पलको आइफोनसँग तुलना गरेका हुन् ।
उनले भने, ‘एप्पलको आइफोन पछाडि लेखिएको हुन्छ मेड इन क्यालिफोर्निया, एसम्बल्ड इन चाइना । यो सरकार पनि आइफोन जस्तै हो, मेड इन समह्वेयर, एसम्बल्ड इन नेपाल ।’
उनले बिहीबार प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा गरेको सम्बोधनलाई ‘मयुर नाच’को पनि संज्ञा दिए । सरकारप्रति आक्रमक देखिएका एमाले अध्यक्ष समेत रहेका ओलीले राजधानीमा सुक्रबार आयोजित एक कार्यक्रममा भने, ‘हिजो संसदमा एउटा भाषण सुन्यौँ कि मयुर नाच !’
‘राष्ट्रको समृद्धिमा युवाको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले प्रचण्डको भाषणलाई मयुर नाचको संज्ञा मात्र दिएनन् सम्बोधन हावादारी भएको समेत आरोप लगाए । ओलीको प्रश्न थियो ‘संविधान संशोधन केका लागि र कसका लागि ? को-कोसँग के उद्देश्यले सम्झौता गरिएको छ ? राष्ट्रको अहित हुने गरि कुनै संशोधन हुदैन । नेशन फर्स्ट हो, यसमा मन्जुर छ ?’
ओलीले प्रचण्डको भाषणमा भारत भ्रमण र चीनका राष्ट्रपतिको नेपाल भ्रमणबारे केही नबोलेकोप्रति समेत आपत्ति जनाए । ‘के के भन्नुभयो भन्नुभयो पत्तै पाइएन,’ ओलीले भने, ‘भारतबारे केही बोल्नुभएन अनि चीनका राष्ट्रपतिको भ्रमण स्थगीतबारे नै चुहाउनुभएन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया