औधापुरका शीतलहरपीडितलाई न्यानो कपडा वितरण

काठमाडौँ ७ माघ

औधापुर, बारा- श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरेको छ ।परिषद्का अध्यक्ष मातृका प्याकुरेल, प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहाललगायतको टोलीले औधापुर पुगेर त्यहाँका अतिविपन्न अपाङ्गतायुक्त, वृद्धवृद्धा र एकल महिलालाई प्राथमिकता दिई १०० परिवारलाई कम्बल, टोपी र ट्र्याकसुट वितरण गरेको हो ।

तीन सातायताको शीतलहरले प्रभावित भएकामा राहत पाएपछि कलैया उपमहानगरपालिका–२ का अपाङ्गतायुक्त शिवचन्द पासवानले न्यानो कपडाबाट आफूहरुले पुनर्जीवन पाएको बताउँदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।स्मृति प्रतिष्ठानका अध्यक्ष दाहालले आफूहरुलाई अरुणिमा योग ध्यान साधना केन्द्र, जापान निवासी विश्वराज गुरुङ, काभ्रेपलाञ्चोकका व्यापारी प्रेम दाहाललगायतले न्यानो कपडा एवं आर्थिक सहयोग गरेको बताउनुभयो । ‘दुव्र्यसन त्यागौँ सेवामुखी बनौँ’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय आफ्नो संस्थाले केही दिनअघि सुर्खेत, बर्दिया र रौतहट जिल्लाका ५०० विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिसकेको परिषद्का अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया