कतिन्जेल धाउने राजधानी ?

काठमाडौँ १९ माघ

सरकारले विभिन्न प्रकारका गम्भीर रोगका बिरामीलाई दिने गरेको आर्थिक सहुलियत पाउन राजधानी नै धाउनुपर्ने बाध्यता देखिएको छ। सरकारद्वारा सूचीकृत अस्पतालमार्फत सरकारी सहयोगको उपचार पाउने व्यवस्था छ। धेरैजसो रोगको उपचार राजधानीका अस्पतालबाट मात्रै हुने भएकाले टाढाका बिरामीहरू रोग पहिचान गरेर अस्पतालसम्म आइपुग्दा सरकारले दिने सहुलियतभन्दा बढी खर्च भइसक्ने गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सरकारले २०६८ देखि आठ थरीका रोग मृगौला, जुनसुकै क्यान्सर, टाउकाको चोटपटक, मेरुदण्डको चोटपटक, पार्किन्सन, अल्जाइमर, सिक्कलसेल एनिमिया र मुटुरोगका लागि उपचार सहयोग दिँदै आएको छ। यसमा मृगौलाबाहेक अन्य सबै रोगका लागि सरकारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सहयोग उपलब्ध गराउने गरेको छ। मृगौलामा भने प्रत्यारोपण नगराउँदासम्म सातामा दुई पटक वा चिकित्सकको सिफारिसमा तीन पटकसम्मको डायलासिस शुल्क सरकारले बेहोर्छ। मृगौला एक पटक डायलासिस गर्दा २५ सय रुपैयाँ लाग्छ। मृगौला प्रत्यारोपण गराउनसमेत सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग र प्रत्यारोपणपछि खानुपर्ने औषधिका लागि एक लाख दिने गरेको छ।

पछिल्लो दुई महिनामा सरकारले सहुलियत दिने रोगमा कलेजो उपचार, थालासेमिया, एप्लास्टिक एनिमिया, मस्तिष्कघात र बोनम्यारो ट्रान्सप्लान्ट थपिएका छन्।  यी सबैमा अधिकतम एक लाखसम्म सहुलियत उपचार हुन्छ। स्वास्थ्य मन्त्री गगन थापाले फागुन १ गतेदेखि मुटुको भल्भको शल्यक्रिया नि:शुल्क गरिने घोषणा गरेका छन्। यसमा अढाईदेखि सवा तीन लाखसम्म खर्च हुन सक्छ।  सरकारले सहुलियतमा उपचार गर्ने घोषणा गरेका १४ वटै रोगको उपचार हुने चारवटा मात्र अस्पताल छन्– त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान। यीमध्ये बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानबाहेक सबै अस्पताल राजधानीमा छन्।  यसबाहेक अञ्चलस्तरका केही अस्पताललाई कुनै खास रोगको उपचारका लागि सूचीकृत गरिए पनि अझै उपचार पाउन राजधानी आउनुपर्ने अवस्था छ। सरकारले हालसम्म सरकारी र गैरसरकारी गरी ५० स्वास्थ्य संस्था नि:शुल्क उपचारका लागि सूचीकृत गरेको छ। यीमध्ये २२ स्वास्थ्य संस्था मृगौलाको डायलासिसका लागि मात्रै सूचीकृत हुन्।  सिक्कलसेल एनिमियाको उपचारका लागि लुम्बिनी, भेरी, सेती अञ्चल अस्पताल र राजधानीको निजामती अस्पताल सूचीकृत छन्। निजामती अस्पताल बोनम्यारो ट्रान्सप्लान्टका लागि पनि सूचीकृत छ। मुटुरोगको उपचारका लागि गंगालाल राष्ट्रिय ह्दय केन्द्र, कलेजो र मृगौला उपचारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, थालासेमिया र एप्लास्टिक एनिमियाका लागि कान्ति बाल अस्पताल सूचीकृत छन्। क्यान्सरका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन सूचीकृत छ।

अधिकांश रोगको उपचारका लागि राजधानी नै आउनुपर्ने भएकाले धेरैजसो बिरामीलाई सरकारले दिने सहुलियत निकै थोरै हुने गरेको छ। क्षेत्रमा उपयुक्त र गुणस्तरीय उपचार सुविधा उपलब्ध नहुँदा रोग पहिचान नहुँदै विभिन्न ठाउँमा धाउँदा नै सरकारले दिने लाख रुपैयाँभन्दा बढी खर्च भइसक्छ। यसमा स्वास्थ्य मन्त्रालयको अवस्था भने फरक छ। यो आर्थिक वर्षमा विपन्न नागरिक औषधि उपचारका लागि छुट्याइएको एक अर्ब रुपैयाँ हाल दोस्रो चौमासिकसम्म आइपुग्दा सबै खर्च भइसकेको स्वास्थ्य मन्त्रालय, विपन्न नागरिक औषधि उपचार शाखाका प्रमुख डा.रामराज पन्थी बताउँछन्। उनले थप ६० करोडसम्म आवश्यक रहेको पनि बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया