कति नेपाली इन्टरनेटको पहुँचमा छन् ? यस्तो छ नेपाल दूरसञ्चार प्राधिकरणको पछिलो तथ्याङ्क
काठमाडौं, ६ मंसिर ।
मोबाइलको पहुँच बढेसँगै पछिल्लो समय नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा पनि व्यापक वृद्धि आएको छ । दूरसञ्चार सेवा प्रदायकबीच बढ्दो सेवा विस्तारको प्रतिस्पर्धाले पनि इन्टरनेटमा आम मानिसको पहुँच बढाइरहेको छ । यसबाहेक इन्टरनेट सेवा प्रदायकले व्यापार प्रवद्र्धन रणनीति अन्तर्गत सञ्चालन गरेका विभिन्न प्याकेजले पनि इन्टरनेट प्रयोगकर्ता थप गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार पनि इन्टरनेट बजारमा मासिक तीन लाख प्रयोगकर्ता थपिँदै आएका छन् । इन्टरनेटको बढ्दो बजारबीच पनि प्राधिकरणकै पछिल्लो तथ्याङ्क भने केही फरक छ । अर्थात् पहिलोपटक मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या घटेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको भदौ महिनासम्मको प्रतिवेदन अनुसार देशभर एक करोड ६३ लाख १६ हजार व्यक्ति इन्टरनेटको पहुँचमा छन् । यो कुल जनसङ्ख्याको ६१.५८ प्रतिशत हो । यसमध्ये एक करोड ५६ लाख ३५ हजारले मोबाइलबाट इन्टरनेट चलाउँछन् तर त्यसको एक महिनाअघि अर्थात् साउन महिनासम्म कुल जनसङ्ख्याको ६१.९९ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । साउनसम्म मोबाइल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ५७ लाख ४८ हजार थियो ।
तथ्याङ्क अनुसार मोबाइलमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेका तीन सेवा प्रदायकमध्ये एनसेलका प्रयोगकर्ता घटेका छन् । साउनसम्म एनसेलका ७४ लाख सात हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेकोमा यो सङ्ख्या घटेर भदौमा ७१ लाख ८३ हजार पुगेको छ । यसबीचमा एनसेलका करिब दुई लाख मोबाइल इन्टरनेट प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ ।
यद्यपि नेपाल टेलिकम र स्मार्ट टेलिकमका प्रयोगकर्ता बढ्दा समग्र मोबाइल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा करिब एक लाखले मात्र घटेको पाइएको छ । प्राधिकरणका अनुसार साउनसम्म टेलिकमका ८१ लाख ६१ हजार इन्टरनेट प्रयोगकर्ता रहेकोमा भदौसम्म बढेर ८२ लाख ७० हजार पुगेको छ । त्यस्तै साउनसम्म १७ लाख नौ हजारबाट स्मार्ट टेलिकमका मोबाइल इन्टरनेट प्रयोगकर्ता सामान्य बढेर करिब १८ लाख एक हजार पुगेको छ । यसबीचमा इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराइरहेको वायरलेस प्रयोगकर्ता पनि करिब एक हजार पाँच सयले घटेका छन् ।
किन घटे प्रयोगकर्ता ?
नेपाल दूरसञ्चार प्राधिकरणले छ महिनासम्म प्रयोगमा नरहेका सिमकार्ड स्वतः निस्क्रिय गराउनुपर्ने व्यवस्था गरेको छ । यसै व्यवस्था अनुसार पनि सिमकार्ड निस्क्रिय हुँदा सक्रिय प्रयोगकर्ताको सङ्ख्या घट्न सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउनुहुन्छ । कतिपय अवस्थामा दूरसञ्चार सेवा प्रदायकले मोबाइल डेटालाई केन्द्रित गरेर लागू गर्ने प्याकेज अथवा अभियान सम्पन्न हुँदा पनि सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा भिन्नता देखिन सक्छ । एनसेलले लागू गरेको ‘इन्टरनेट फर अल’ नामक अभियान साउनमा सम्पन्न भएकोले भदौ महिनामा ग्राहक सङ्ख्या घटेको हुनसक्ने कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया