२०८२ भाद्र १८ | Sep 03, 2025

कथाभित्रको कथा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३२
|
51 views

आन्ना ढुंगेल नीता
अलिसा आजभोलि जीवनमा आफू एक्लिएको महशुस गर्छिन् । परिवारबाट टाढाको बसाई । सुन्दर भविष्यको ब्यग्र चाहना राखेर घरबाट टाढिएको तीतो सत्य स्वीकार्दै सधै समाजप्रति सकारात्मक सोच राखेर अगाडि बढिरहेकी उनको आफ्नो परिवारप्रति अगाध स्नेह छ । सामाजिक अनि पारिवारिक एकताको सुन्दर कल्पनामा डुब्ने गरेकी अलिसा आजभोलि आफै एक्लिएको महशुस गर्दैछिन् ।

अतीत सम्झिँदै रसाएका आँखा, पीडाले कामेका ओठ, बचनले दिएको घाउ अनि गहिरो चोटले छटपटाएको मानसपटल यी उनका अनुहारमा छर्लङ्ग देख्न सकिने निशानीहरु हुन् ।

उनको जीवन खण्डित अनि विभाजित छ । जीवनका हरेक मोडहरु छिचोल्दै जाँदा पनि अल्झाउने र बिझाउने काँडाहरुको कमी छैन अझै पनि ।

कुनै बेला जीवनलाई बिट मार्ने परिस्थिति सृजना हुँदा पनि उनी आफ्नै लागि बाँचिन् । जीवनमा सुनाखरी फुल्ने आशामा अनि भोलिको सुन्दर यात्राको कल्पनामा उनी बाँचिन् । सुन्दर जीवनको काल्पनामा केही समय एकान्तवासको निर्णयले उनलाई एकाएक जिउनुको अर्थबोध गरायो ।

देश, समाज अनि परिवारको लागि गरेको त्याग, समर्पण अनि निश्वार्थ मायाको बदलामा पाएको दुःखले पोलेको उनको मन शान्त गराउन समुन्द्रको पानीले पनि सक्दैनथ्यो । कतै मानसिक विचलन त आएको होइन ? उनी किन आफूलाई एक्लो महसुस गरिरहेकी छिन् ? आफ्ना वरिपरि भएको एकरदुई नकारात्मक सोच बोकेका मानिसले उपेक्षा गर्दैमा यति धेरै प्रताडित हुनु पर्ने हो त ? के उनलाई यो समाजका बुद्धिजीवीहरुले बेइमान भन्न सक्लान् त ? आफूलाई निकै बुद्धिजीवी ठान्ने तर अलिकति पनि बुद्धि नभएका स्वाँठहरूले उनको इमान्दारिताको फाइदा उठाएर गलत प्रचार गरेका कारण जीवन सिध्याउने निर्णय लिनु पर्ला त ? प्रश्नै प्रश्नले भरिएको मन सम्हाल्नु त्यति सजिलो पनि त थिएन उनलाई ।

उनी गलत हैनन्, उनी बेइमान पनि छैनन् । संघर्षले जीउन सिकाएको अनि इमान्दारिताले कमाउन सिकाएको मान्छे कसरी गलत हुन सक्छ रु न कसैको आस न कसैको डाह, आफ्नै गतिमा जीवन चलाउन बानी परेको मान्छेको गलत प्रचार गर्ने मगज बिग्रेका एक झुण्ड व्यक्तिकै कारण आफ्नो अमूल्य जीवन सक्नु हुँदैन भन्ने प्रेरणा आफैबाट आउँदा यहाँसम्म आइपुगेको तर मन साह्रै विरक्तिएको कथा सुनाउँछिन् उनी ।

देखावटी जीवन जिउन नसक्नु अनि वनावटी हाँसो हास्न नसक्नु के अभिशाप हो ? या समाजको दोष हो कि यहाका व्यक्तिको ? उनी प्रश्नमाथि प्रश्न गर्छिन् ।

आफ्नो देश, यहाँको समाज अनि आफन्त नै हुन् टुसाएको बिरुवालाई निमोठ्न खोज्ने । अझै भन्ने हो भने त आफूलाई बुद्धिजीवी ठान्ने बुद्धिनै नभएका ल्वाठहरु अनि तिनीहरुको उत्ताउलो पन देखेर साह्रै मन पोल्छ नानी, सबै लथालिङ्ग छ, केही राम्रो छैन । म के गरौं ? देशमा विकास हुनुपर्छ, जनता उत्साहित, जाँगरिलो अनि मिहिनेती हुनुपर्छ । त्यसका लागि उचित वातावरण निर्माण हुनुपर्छ । राज्य संवेदनशील हुनुपर्छ । समाज अनि परिवारमा एकता हुनुपर्छ नि । अनि पो सभ्य समाजको कल्पना गर्न सकिन्छ । खै, त्यो केही छैन । जताततै अन्धकार देख्दा मन पोल्छ भित्रभित्रै अनि के गरु ?

माथि उठ्ने खोज्दा खुट्टा तान्ने प्रवृत्ति झन झन मौलाउँदै गएको छ । उक्लिन खोज्यो भर्याङ झिकिदिन्छन् । त्यस्ता व्यक्तिहरु हाम्रै समाजमा छ्याप्छ्याप्ती छन् ।

उदाहरण दिनु पर्दा, हाम्रा गाउँका कार्की दाइले पढ्न पाएनन्, उनलाई आफ्नो नाम समेत लेख्न आउँदैन । तल्ला घरकी खत्रिनी दिदीले भात–भान्साबाट कहिल्यै उन्मुक्ति पाइनन् । डाँडा माथिका खड्का दाइले धनीको घरमा हली बस्ने सपना देख्न बाहेक अरु केही जानेनन् । खोइ त परिवर्तन ? सँधै यसरी दबिएर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको सृजना गराउने हाम्रै समाजका मान्छे होइनन् त ? के यसरी नै हुन्छ त परिवर्तन ? यस्तै यस्तै असन्तुष्टि अनि आत्मग्लानीका भावहरुसँग पोखिएका शब्दहरु पनि उनकै हुन् ।

जसोतसो जीवन धान्नकै लागि बाल्यकालदेखि गरेका संघर्षका हरेक प्रमाणहरु उनका डायरीमा सुरक्षित छन् । विगतमा खाएका हण्डरहरु र बिताएका कष्टपूर्ण अतीतसँगै चुहिएका आँसुका थोपाको डाम अनि जीवनमा हावा सरी क्षणिक आएका सुखद अनुभुतिका कथाहरु समेत उनका डायरीमा पढ्न सकिन्छ ।

भूइँचालोसरी जीवनमा आएका कष्टकर अवस्थासँग जुध्दै बसन्त कालमा आएर प्रकृतिसँग रमाउँदै बाँचेको जिन्दगीको उदाहरण भएका दर्जनौं कथाहरु पनि छन् उनीसँग । खै, कसले पल्टाउने ती डायरीका पाना ?

यति बुझ्ने भएर पनि अझै किन विरक्तिएको छ उनको मन ? के उनले जीउनुको अर्थ नै बिर्सिएकी त हैनन् ? जीवनमा कसैको आस अनि भरोसाविनै चल्न जानेकी अलिसालाई किन आज अरुको ढाडस चाहिएको छ ?

जुनबेला शिक्षित हुनुपर्छ भन्न चेतना आयो त्यतिबेला उनी १३ वर्षकी मात्र थिइन् । अध्ययनको दौरानमा बुवाआमाको काखबाट बाहिरिएर आफ्नो नातेदारकोमा पुगिन् । गाउँमा स्कूल टाढा थियो । बोर्डिङ स्कूलको त चलन नै थिएन । कक्षा सातको परीक्षा पश्चात् कक्षा १० सम्मको अध्ययनका लागि जहाँ बसिन् त्यहाँ पढ्ने वातावरण बिलकुल थिएन ।

स्कूल नजिक थियो तर घरमा पढ्ने वातावरण पटक्कै थिएन । उज्यालोमा किताब समाउन पाइँदैनथ्यो । बेलुका भएपछि घरको सारा काम सकेर सबै निदाएपछि बल्ल उनले किताब समाउन पाउँथिन् । उनीसँग कटौती गर्न सक्ने अरु केही थिएन मात्र आफ्नै निन्द्रा थियो ।

त्यतिबेला सरकारी स्कुलमा छात्राहरुको लागि कुनै पनि शुल्क लाग्दैनथ्यो, स्कूल नजिक भएकाले बस भाडा पनि नपर्ने । खासै खर्च केही थिएन । त्यै पनि ड्रेस र किताब, कापी–कलम भने किन्नै पथ्र्यो त्यो पनि घरबाट आउन सक्ने वातावरण थिएन । बुवा आमाको आम्दानी भनेको जीवन धान्नका लागि मात्र थियो । जसोतसो स्कूलको एकजोर लुगा सिलाइयो र २ वर्ष पुराना एकथान किताब मागेर स्कुल जान थालियो ।

यति भन्दै गर्दा उनका आँखा भरिइसकेका थिए । कथाकारले अगाडि बढ्न अनुरोध गरे पश्चात् उनी भन्दै गइन् ………….
त्यहाँको नयाँ वातावरणसँग भिज्न, भाषा बुझ्न अनि त्यो परिवारसँग जुध्न उनले धेरै संघर्ष गर्नु गर्नु परेको थियो । । कति छाक त भोकै सुत्नुपर्ने अनि कति रात रोएरै बिताउनुपर्ने परिस्थिति पनि सिर्जना भयो । घर छोडेर आएपछि उनका सुनिश्चित र सुनियोजित छाकहरु बित्नै छोडे । यद्यपि ३ वर्ष बिताउनका लागि हरेक कुरामा सम्झौता गर्न बाध्य भएको कथा उनी सुनाउँछिन् ।

उनी अध्ययनका लागि भनेर जुन घरमा बस्थिन् त्यहाँको वातावरण निकै अत्यासलाग्दो थियो । भोक के हो ? निद्रा के हो ? बिरामी हुँदाको आराम अर्थात् औषधी के हो त्यो सबै आफूले बिर्सिएको भन्दै उनी आफ्ना कथा सुनाउँदै गइन् ।

आफ्नो उद्देश्य अध्ययनलाई अगाडि बढाउने भए पनि त्यो घरको उद्देश्य भने फरक थियो । घरमा काम गर्न राखेको नोकरलाई भन्दा तल्लो दर्जाको व्यवहार गरिन्थ्यो । पराइसँग के गुनासो गर्नु नानी आफ्नैले दिएको चोट यति गहिरो हुन्छ कि नत घाउ देखिन्छ नत त्यसको आवाज नै सुनिन्छ । देखावटी माया अनि देखावटी व्यवहारले भित्रभित्र जलाउने कला भएकाहरुसँग समय बिताउन निकै कठिन थियो भन्दै उनी लामो सुस्केरा हाल्छिन् ।

दिनप्रतिदिन बढ्दै गएका यस्ता गलत व्यवहारले भविष्य नै अन्धकारले ढाकेको महसुस हुन्थ्यो । बालापनमा हास्ने, खेल्ने अनि रमाउने बेलामा जुन किसिमको बोझ बोकाइयो त्यसले कहिल्यै नमेटिन अमिट छाप र नथाक्ने घाउ दिएको छ नानी १ मनमा थरिथरिका सोचाईहरु तँ छाड मछाड गर्थे, सपना धुलीसाथ हुने भयो भन्ने चिन्ताले सताइरहन्थ्यो तर पनि निरीह बन्न बाध्य भएको कथा सुनाउँछिन् ।

तर अब के गर्ने ? जुन उद्देश्यले आएको हो त्यो त पूरा गर्नैपर्छ । जीवन जिउनै पर्छ । आफ्नो लक्ष्य पूरा गर्नका लागि जसोतसो अगाडि बढ्ने दृढ संकल्पका साथ आफ्ना इच्छा विपरितका कैयौं कुरामा सम्झौता गरेको तीतो यथार्थ अहिलेसम्म मनभित्रै गुम्स्याएको बेदना सुनाउँछिन् उनी ।

बितेका ती दिनहरु निकै कष्टकर थिए । र यादगार पनि त्यत्तिकै । समाज सुधार गर्नुपर्छ भन्दै सामाजिक अभियन्ताको खोल ओढेर ठाँटिएर हिंड्ने व्यक्तिको व्यवहार नै निकै तल्लो दर्जाको थियो । एउटी निरिह बालिकामाथि गरिएको त्यस किसिमको व्यवहार न सम्झन लायक छ न त बिर्सन नै सकिन्छ ।

आफूले आफैंलाई बुद्धिजीवी ठान्ने ती बुद्धि नै नभएका स्वाँठहरुले सँधै अपमानजनक व्यवहार गरेको तीतो कथा उनीसँग प्रशस्तै भेटिए ।

भौंतारिँदै र विरक्तिदै बिताएका ती समयलाई बिट मार्दै अब त्यो परिवेशमा कहिल्यै नर्फकर्ने अठोटका साथ एकदिन त्यहाँबाट हिंडे नानी ! ती समयमा भोगेका पीडाहरु न कसैलाई भन्न सकिन्छ न सहन नै सकिन्छ ।

त्यसदिनबाट जीवनमा जतिसुकै दुःख गर तर आफ्ना लागि आफै गर अरुको गुलाम नबन भन्ने चेतना आफूमा आएको हो । जतिसुकै कष्ट भोग्नु परे पनि आफूमा प्रतिशोधको भावना भने कहिलै नआएको भन्दै भक्कानिएर कथाकारका काँधमा टाउको अड्याँछिन् अलिसा ।

अझै पनि मसँग अनेकौं अनुत्तरित प्रश्नहरु छन् । ती सबैलाई छाडेर र असह्य पीडाहरु पिएर पनि जीवनको सत्मार्गमा हिंड्ने प्रयास गरिरहेछु ।

शारीरिक अपांगता भएका व्यक्तिहरुसँग नजिक होउ तर यस किमिका मानसिक अपाङ्गता भएका व्यक्तिहरुसँग सँधै टाढा हुनुपर्छ भन्ने चेतना बोकेर त्यो अत्यासलाग्दो परिवेशबाट टाढा हुँदाहुँदै पनि उनले तिनीहरुबाट अझै पनि कयौं पटक ठक्कर खानु परेको कथा सुनाउँछिन् ।

यस्ता समाजका दुई चारथान मगज बिग्रेका मानिसहरुले जति नै दुःख दिए पनि उनले आफ्नो इमान्दारिता र नैतिकता भने गुमाउन चाहिनन् । नत समाजका यस्ता किमिसका मान्छेमाथि प्रतिशोधको चाहना नै रह्यो उनमा । बेइमानीका कतिपय प्रमाणहरु फेला पार्दा पनि भोलिका दिनमा परिवर्तन आउला कि भन्दै प्रतिकार गर्न चाहिनन् । तर मौनतालाई कमजोरी ठानेर निरन्तर मानसिक रुपमा प्रहार गर्न भने छोडिएन ।

परिवर्तनको आशामा बिताएका कयौं कठिनाइहरुले परिवर्तन ल्याएन, पटक्कै ल्याएन । वर्षौवर्षसम्म पनि उसमा परिवर्तन आएन, उसले निरन्तर घात गर्न छाडेन, दुःख दिन छाडेन । झुट बोल्नु र समाजमा नकारात्मक सन्देश फैलाउनुलाई उसले आफ्नो कर्म सम्झियो ।

कुनै समय समाजका यस्ता दुष्ट व्यक्तिहरुसँग लड्नु भन्दा आफ्नो नैतिक इमान्दारितालाई जोगाउन आत्महत्या गर्ने योजनासम्म बनाएकी उनले परिवर्तनको आशामा कष्ट खेप्तै जीवन यापन गरिरहिन् ।

समाजमा भएका यस्ता व्यक्तिहरुको दुष्प्रवृत्ति प्रति खोइ त राज्यको ध्यान पुगेको ? समाजमा यस्ता व्यक्तिहरुलाई मौलाउन दिने हो भने भोलीका दिनमा कैयौं बालिकाहरुले अन्धकारमय जीवन यापन गर्नुपर्ने हुन्छ ।

बर्ष बिते, अनुहारमा बुढ्यौलीका रेखाहरु थपिँदै गए तर फेरिएन उसको मति अनि रोकिएन उसको बेइमानीको गति । इमान्दारिता र नैतिकता गुमाएका एकझुण्ड भ्रष्ट व्यक्तिको दबदबामा परेको मेरो देश, समाज अनि आफ्नन्तको खोल ओढेका ती नरपिचासहरुबाटै दिनप्रतिदिन इमान्दारिता र नैतिकता लोप भएको भान हुँदैछ । तर इमान्दारिताको बलि चढाएर आफूलाई यो झुण्डभित्र समाहित गर्न नसकेको र आफूलाई फगत एक्लो महशुस भइरहेको कथाहरु उनीसँग प्रशस्तै भटिए ।

जानी नजानी जीवनले दिएका चोटहरु, ताडनाहरु अथवा जीवनप्रतिका धेरै उकुसमुकुसहरु, गुनासाहरु मनभित्रै राखेर जीवन अगाडि बढाउन हर हालतमा लड्नुपर्छ भन्ने अठोटका साथ अघि बढेको उनको जीवन कथाले कथाकारका आँखा धेरै ठाउँमा भरिएका छन् ।

अलिसाले चाहेको परिवर्तन, रोजेको खुशी अनि खोजेको इमान्दारिता जीवनको अन्तिम क्षणसम्म भए पनि प्राप्त होस्, पारिवारिक एकता होस्, उनका आँखाबाट हर्षका आँसु बगोस् । उनको चाहना पुरा होस् । बेइमानीको अन्तय र इमान्दारिताको जय होस ।

Neetadhungel2016@gmail.com

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement