कमजोर कम्पनीहरुलाई साधारण शेयर निष्काशनको अनुमति किन ?
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_609,h_400/https://businesspati.com/wp-content/uploads/2018/06/dhitopatra-....jpg)
काठमाडौँ १४ श्रावण ।
कम्पनीको वित्तीय अवस्थाको मूल्यांकन गर्ने इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ। कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ।
इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ। कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै शेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै प्रतिफल पाउन सक्ने अवस्था छ।
आजदेखि साधारण शेयर बिक्री शुरु गरेको युनियन हाइड्रोपावर कम्पनीको पनि इक्रा नेपालले गरेको रेटिङमा पाँचौ ग्रेड पाएको छ। कम्पनीले आयोजना प्रभावित लमजुङका बासिन्दालाई साधारण शेयर बिक्री गर्न लागेको हो। लमजुङमा सञ्चालित तीन मेगावाट क्षमताको मिदिम खोला जलविद्युत् आयोजनाले स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो। वित्तीय रुपमा कमजोर रहेको कम्पनीको शेयरमा लगानी गर्नेले प्रतिफलका लागि आठ वर्ष प्रतिक्षा गर्नुपर्ने देखिन्छ।
इक्रा नेपालको रेटिङमा हिमालयन ऊर्जा विकास कम्पनीले पनि चौथो ग्रेड पाएको छ। केही समय पहिले साधारण शेयर बिक्री गरेर बाँडफाँडसमेत गरिसकेको पञ्चकन्या माईहाइड्रो पावरको समेत ग्रेडिङ असाध्यै कमजोर रहेको थियो। कम्पनीको शेयरमा दशगुणा बढी आवेदन पर्यो।
पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गरिरहेका छन्।
नेपाल धितोपत्र बोर्डले सबै विवरण बुझाएपछि साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ। साना लगानीकर्ता भने यस्ता कम्पनीको शेयर खरिद गरेर के कति नाफा कमाउलान् भन्नेतर्फ कोही कसैले सोचेको देखिदैन। बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार नियम पुर्याएर आएका कम्पनीलाई अनुमतिपत्र दिइएको छ।
‘लगानी गर्दा जोखिम छ कि छैन भन्ने हेर्ने जिम्मा लगानीकर्ता कै हो। त्यही भएर बोर्डले सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दा नै सबै विवरण उल्लेख गर्न भनेका छौं, प्रवक्ता गिरीले भने, ‘लगानीकर्ताले शेयर खरिद गर्ने कम्पनीको विवरणका आधारमा नै आफै निर्णय गर्दा नै उपयुक्त हुन्छ।’
पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपिओ) समेत बिक्री हुनसकेको छैन। नेपाल बैंक लिमिटेडको आइतबार मात्रै एफपिओ बिक्रीको अवधि सकियो। दुई अर्ब ७० करोडभन्दा बढीको खरिद भएन। बैंकले करीब चार अर्ब ९५ करोडको एफपिओ बिक्री गर्न लागेको थियो।
एफपिओ नै बिक्री नभएर शेयर प्रत्याभूतकर्ता कम्पनीले उठाउनु परिरहेको छ। धमाधम आर्थिक अवस्था कमजोर भएका कम्पनीले साधारण शेयर बिक्री गरिरहेका छन्। बोर्डकाअनुसार मैलुङखोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख २८ हजार ६ सय बराबरको सात लाख ३६ हजार २८६ कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ।
कालिका पावर कम्पनी पनि १२ करोड बराबरको १२ लाख कित्ता तथा शिवश्री हाइड्रोपावर लिमिटेड १४ लाख ७६ हजार ४ सय कित्ता शेयर बिक्री गर्ने तयारीमा छ। गज्र्याङ उपत्यका हाइड्रो पावरले दुई लाख कित्ता र लाफिङ बुद्धले नौ लाख ७८ हजार बराबरको शेयर बिक्रीका लागि तयारी गरेको छ। अधिकांश कम्पनीको आर्थिक अवस्था कमजोर देखिएको छ।
शेयर विश्लेषक नीरज पुडासैनीको विचारमा तत्काल फाइदा लिई हालौ भन्ने मान्यताका साथ लगानीकर्ताले शेयरमा लगानी गर्ने गरेको पाइएको छ। नाफा प्राप्त गर्ने अवधि लामो भएका कम्पनीको शेयर खरिद गर्ने वा नगर्ने भन्ने विषय लगानीकर्ताको विवेकको विषय रहेको उनको भनाइ छ। साना लगानीकर्तालाई भने त्यस्ता कम्पनीको शेयर खरिद गर्दा समस्या पर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया