‘करवीर मसान’ र युगकवि सिद्धिचरण

स्वयम्भू शाक्य

सृष्टिको थालनीदेखि अन्त्य नहुन्जेलसम्मका लागि प्राणीहरूलाई आपत् विपत्ले सताई रहने छन् । अन्तनाद वेदनाका आवाजहरू मृत्युसँगै क्रमशः हराउने छन् । हाहाकारले आज मात्र होइन युगौं युगको चिरकालदेखि समानघाट रहेसम्म ब्याप्त रहने छन् । त्यसैले आज ऊ खुशी देखिन्छ । मान्छेहरूको कोलाहल चित्कारलाई बटुलेर कहिल्यै नअघाउने भूतप्रेतले खाए जस्तै कुपु कुपु बारम्बार खाई रहेका छन् । अजिङ्गरको आहारा दैवले पु¥याउँछ भने जस्तै मान्छेहरू लाम लागेर उसैको खोजीमा छन् । पालै पालो नदीको किनारामा सुतेर करवीर मसानको काखमा निदाउँने छ । त्यसैले करवीर मसानको काम खानु हो । छाति पिटेर रोएको क्रान्दन नै उसको सत्कार हो । अतिथिलाई समान गरे जस्तै, आउने र जानेले आदर गरे जस्तै पाहुनाले आदरभाब देखाए जस्तै, स्वागत गरेर सम्मानीत पाए जस्तै कस्तो कस्तो यो दुःखले चिच्याईरहेको बेला, बिलापले रोइरहेको बेला, वेदनाले आक्रान्त भैरहेको बेला, विपत्तिमा आकाश खसेको बेला यौटा करवीर मसान यो लोकको मात्र होइन परलोक समेतको पाले बनेर आज ढोकामा बसी मान्छेहरू गन्दैछन् । यो धरतीबाट सदाका लागि बिदा लिएर स्वर्गमा जाने मान्छेहरूको आत्मा एक एक गरी गनेर पढाउँदैछन् । सीमा रेखाले होला वारी र पारी छुट्याईरहेको छ । मान्छे क्रमशः आफ्नो बाटोतिर लागेर होला दिन र रात काल गन्दैछ । आज तिम्रो पालो भोलि मेरो पालो आउने छ । समयले समयलाई बोलाए पछि समयसँगै मान्छेको पनि काल आउँदो रहेछ ।

यो संसारको रीतै यस्तो छ । जो जन्मिन्छ उसले एक दिन अवश्य पनि मृत्यु खोज्नु पर्छ । मृत्युदेखि डराएर यो भवसागरमा अहिलेसम्म भाग्न सक्ने मान्छे हामीले देखेको छैन । जहाँ जसरी बसे पनि देहको छायाँ जस्तो संग संगैं आएर एक दिन हाँसी खुशी करवीर मसानमा लगेर अन्त्यष्टि गर्ने छ । त्यसैले होला करवीर मसान स्वर्ग र मत्र्यलोकको दोभान हो । नदीको संगम जस्तै सीमा छुट्याउने ढोका हो । सत्य र असत्य पोलेर जाँच्ने ठाउँ हो । आगो पिएर खरानी हुने खाट हो । त्यसैले करवीर मसानमा जिउँदो मान्छे गएर न सुत्न सक्छ ,न खान सक्छ ? केवल जलिरहेको आगो तापेर खरानी नहुन्जेलसम्म रोएर मात्र बस्न सक्छ । युगादिदेखि युगानु युगसम्म अनन्त प्रवाह भए पनि कहिल्यै नसकिने कहिल्यै नटुट्ने त्यो कस्तो ठाउँ हो ? जहाँ जो सुकै पनि सुत्न मिल्ने करवीर मसान सधैं हाहाकारलाई बटुल्दै भोक लाग्यो भनी खाँदैछन् । निल्दै छन् । पचाउँदै छन् । विष्णुमतीको कलकल गाना सुनेर मान्छेको जीवनमा भए गरेका कुराहरूको वृत्तान्त व्याख्या गरेर स्वर्ग र नर्क छुट्याउदै छन् । यो लोकबाट परलोकसम्म जाने बाटोमा चोला फेर्नका लागि यौटा करवीर मसान छ । त्यहाँ विश्राम गरे पछि मात्र मान्छे हिँड्न सक्छ । मान्छे स्वर्ग या नर्कमा जान सक्छ । मान्छे भूत र प्रेत बनी यो लोकमै घुमिरहन सक्छ । मान्छे–मान्छेको लागि कहिल्यै नदेख्ने गरी बिलाउन सक्छ ।

    युग युगको चीर हाहाकार
    बटुली खान्छु म बारम्बार
    छाति पिटीकन रोएको
    क्रन्दन नै मेरो सत्कार
    स्वर्ग र भूबीचको पाले म
    करवीर मसान
    विष्णुमतीका कलकल गाना
    जगजीवनको हो ब्याख्यान
    स्वर्ग र भूबीचको पाले म
    करवीर मसान ।

मान्छेको शरीर खरानी न हो , आगो बलेर भष्म भएपछि आखिर खरानी नभए अरु के हुन्छ र ? यो पञ्चतत्वको शरीरभित्र अलिकता जल छ । अलिकता आगो छ । अलिकता वायु छ । अलिकता आकाश छ । अलिकता पृथ्वी छ । समग्रमा मान्छे भए पनि यो शरीरभित्र यौटा प्राण छ । त्यही प्राणको ज्योतिले हामी बोल्दैछौं । हामी हिँडै्छौं । हामी सोच्दैछौं । हामी सुत्दैछौं । हातखुट्टा हल्लाएर मनका कुराहरू गर्दैछौं ।

प्राण उडेर गए पछि आखीर मान्छे त शून्य रहेछ । पञ्चतत्वले बनेको यो शरीर आगोमा दनदनी बल्दा जहाँबाट पैंचो मागेर आएका थियौं त्यही ठाउँमा पैंचो तिरेर पञ्चतत्वको यो शरीरले सधैंका लागि बिदा लिने छ । आखीर खरानी भएपछि पानीले बगाएर कता कता अनि कहाँ कहाँ शरीर जान्दो रहेछ । थाहा छैन । यो त प्रकृतिको कुरो हो । नदीसँगै यता–उता गएर आँखाले हेर्न नसक्ने समुद्रमा पुग्ने हो । त्यसैले हामी यो पञ्चतत्वको शरीर बोकेर जीवित हुन्जेलसम्म मात्र होइन मरे पछि पनि यो शरीरलाई पञ्चतत्वलाई नै सापत्ती फिर्ता दिएर सृष्टिको लागि धैर्य धारण गरी मुहानको स्रोत बनाउने छ । यौटा करवीर मसानलाई यति धेरै माया गरेर वारी न पारी बीचमा राखेर खबरदारीका लागि ढोका पाले बनाएको छ । यौटा सुन्दर सृष्टिको लागि करवीर मसानको पनि ठूलो देन छ ।

     क्षति जल पावक गगन समीर
     रचित कलेवर भष्म भरेर
     जुन जुनको हो बाँडी म दिन्छु
     थाम्छु म सृजना धैर्य गरेर
     स्वर्ग र भूबीचको पाले म हुँ
     करवीर मसान ।

यो भवसागरमा प्राणीहरूको आउने र जाने क्रम यसरी नै चलिरहन्छ । यो त प्रकृतिको गर्भ हो । गर्भभित्र के छ के छैन, हामीलाई थाहा छैन । आँखाले देख्ने कुरा त मान्छेले थाहा नपाई रहेको बेला गर्भको कुरा कसरी थाहा हुने हो । यौटा करवीर मसानलाई त मान्छेले बुझ्न नसकेको बेला आँखाले देख्नै नसक्ने कुरामा यही बाटो हो भनी कसरी भन्न सकिन्छ ? त्यसैले यो भवसागर त प्राणीहरूको दुई दिने प्राङ्गण हो । जहाँ मान्छे हाँस्छ, रुन्छ अनि बिदा लिएर करवीर मसानमा गएर सुत्न जान्छ । स्वर्ग या नर्कमा जानका लागि यो देहको कर तिरेर सबैको अगाडी क्षमा मागेर गन्तब्य तिर जानका लागि मार्ग खुल्ला रहने छ । स्वर्गमा भावा हेर्नका लागि यो आत्मालाई मात्र बोलाएको छ । यो शरीर त मेरो होइन, यो त जूनी फेर्ने लुगा हो । सीमा रेखामा पुगेपछि लुगा फेरेर बिदा हुनु पर्ने यहाँको चलन भए पनि मान्छेहरूले बिर्सेर होला यो देहलाई आफ्नै ठानी रहेको छ । करवीर मसानलाई अन्तिम घडीमा मात्र सम्झने गरेर अरु बेला आफ्नो इच्छानुसार चल्ने गरेको छ । त्यसैले यहाँ अन्याय छ । अत्याचार छ । जबसम्म करवीर मसानलाई सधैं सम्झिने गर्दैन तबसम्म मान्छेको मनमा वेबिचार जन्मिरहन्छ । मन शुद्ध नभएर धमिलो भए पछि मनमा फोहोर हुन स्वभाविकै हो । फोहोरले मन कहाँ शुद्ध हुन सक्छ र ? फोहोरले मनमा कसरी राम्रो कुरा सोच्न सक्छ र ? त्यसैले करवीर मसान भन्छ पहिला तिम्रो मन तिमी आपैmले सफा गर्ने गर अनि तिम्रो हरेक काम शुद्ध हुनेछ । मनले चिताएको कुरो पुग्ने छ । मरेपछि स्वर्गको द्वार खोलिने छ । बाटोमा नअल्झिएर शुरु शुरु तिमी जहाँबाट आयौं त्यही तिमी पुग्ने छ । म त करवीर मसानको ढोके पाले न हुँ । मलाई त के छ र ? कर्ममा जे लेखिएको छ त्यही पढेर स्वर्गको ढोका खोल्ने हो ।

      आउनलाई जननी गर्भ
      प्राङ्ण यही हो, जाने मार्ग
      देहकर दिई मानववर्ग
      भाबा हेर्न जाऊ स्वर्ग
      स्वर्ग र भूबीचको पाले म हुँ
      करवीर मसान

युकवि सिद्धिचरण श्रेष्ठले देहत्याग गर्नेहरूका लागि करवीर मसानको कुरा गर्दै छन् । युग चेतना जगाउँनका लागि मान्छे–मान्छेमा युग बोधको कुरा गर्दै छन् । मन असाध्यै दुखेर छाति उकुस मुकुस भएको बेला मान्छेहरू किन निदाउँन चाहन्छन् ? त्यसैले यो त सबैले बुझेकैं कुरो हो । करवीर मसान मान्छेहरूको अन्तिम बाटो हो । त्यो बाटोसम्म पुग्नका लागि मान्छेले सुख र दुःखहरूका कुराहरूलाई समालेर आ–आफ्नो तरीकाबाट जाने गरिन्छ । कोही हाँसेर जान्छ । कोही रोएर जान्छ । कोही डरले जान्छ । कोही निडरले जान्छ । आखीरमा मान्छे एकदिन त्यहाँ गएर सुत्नु छ भने हामीमा घमण्डी के को लागि हो ? हामीमा ईष्याले के पाउने हो ? हामीमा घृणा कसरी जन्मिने हो ? हामीमा भेदभाव किन हुने हो ? हामीमा हेँलाले के पाउने हो ? हामीमा वैगुणीले के दिने हो ? त्यसैले यो त आ–आफ्नो मनको स्वभाव हो । आपैmलाई पीडा नभएसम्म पीडाको मर्म नबुझिनेहरूलाई करवीर मसान यौटा डर हो । मन खोला भैंm बग्नेहरूलाई करवीर मसान यौटा मुक्ति हो ।

प्रकासित मिति २०७८–५–२०

फेसबुकबाट तपाईको प्रतिक्रिया