कर्णाली प्रदेशका ६ जिल्लामा खाद्यान्न संकट

दैलेख २५ माघ।

कर्णाली प्रदेशका ६ जिल्ला बर्सेनि खाद्य संकट हुने गरेको छ । प्रदेशका १० जिल्लामध्ये ६ जिल्लामा स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने भएपछि बर्सेनि खाद्य संकटको समस्या हुने गरेको हो ।

जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ । उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, रुकुम, सल्यान र दैलेख खाद्य सुरक्षाको जिल्लामा परेका छन् ।

कर्णालीमा बर्सेनि २५ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको सो मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ३ लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा ३ लाख २६ हजार ५ सय मेट्रिकटन खाद्यान्न मात्र उत्पादन हुने गरेको छ ।
रुकुमले जिल्लाको आश्यकता परिपूर्ति गरेर वार्षिक ४ हजार १ सय मेट्रिकटन खाद्यान्न सञ्चित गर्दै आएको छ । सबैभन्दा बढी खाद्यान्न सञ्चित सल्यानले गर्दै आएको छ । सल्यानले १३ हजार ९ सय ९६ मेट्रिकटन खाद्यान्न सञ्चित गर्दै आएको छ । त्यस्तै, सुर्खेतले उत्पादन गरेको ७८ हजार ७ सय ३४ मेट्रिकटनमध्ये ७७ हजार ६ सय ६० आन्तरिक आवश्यकता पूरा गरेर १ हजार ७४ मेट्रिकटन सञ्चित गर्दै आएको छ ।

सरकारी तथ्यांकअनुसार कालिकोटमा वार्षिक २९ हजार ७ सय ३९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । तर, यहाँ वार्षिक १७ हजार ९ सय ६४ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । यस्तै, जाजरकोटमा २ हजार ९७, डोल्पामा २ हजार ७ सय ८७, जुम्लामा ७ हजार ३०, हुम्लामा ८ हजार २ सय ७३ र मुगुमा ५ हजार ४ सय ४४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको उक्त मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए । दैलेखमा खाद्यान्न आवश्यकता र उपलब्धता समान हुने गरेको छ । बाँकी जिल्लामा भने स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन । प्रदेशमा उत्पादन भएको अन्नले नधान्ने भएपछि कर्णालीमा बर्सेनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया