कस्तो हुन्छ यस वर्ष नेपालमा मनसुनी वर्षा ? यस्तो छ प्रक्षेपण

काठमाडौँ १९ जेष्ठ

मनसुनको पूर्वसन्ध्यामा जारी प्री मनसुनी वर्षा केही दिन अझै जारी रहनेछ।

नेपालमा मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको मौसम विज्ञान विभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि पछि सर्ने निश्चित भएको खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

प्री–मनसुनको अवधिमा चलेको वायु र भारतमा प्रवेश गर्ने मनसुनी वायुपछि मात्रै नेपालमा मनसुनको पूर्वानुमान गर्ने गरिन्छ।

भारतमा नै एक सातापछि मनसुनी वायु प्रवेश गर्ने भएकाले नेपालमा पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

मनसुन प्रवेशको औसत समयभन्दा केही दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गर्ने पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् श्रेष्ठले बताए।

‘विगतका वर्षमा भारतको केरलामा १ जुनमा मनसुन सुरु हुँदा नेपालमा १० जुनमा मनसुन प्रवेश गथ्र्यो,’ उनले भने, ‘यो वर्ष केरलामा अझै मनसुन प्रवेश नगरेकाले औसतभन्दा ढिलो गरी मनसुन सुरु हुने देखिन्छ।’

यो वर्षको मनसुनमा औसत वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद्हरूले बताएका छन् । पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविद्को पूर्वानुमान छ।

लामो समयदेखिको खडेरी हट्दै गइरहेको र पूर्वतिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने मौसमविद्ले जानकारी दिए।

गत वर्ष पनि केही दिनअघि नै मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मनसुन अवधिभर गत वर्ष धेरैजसो भागमा औसतभन्दा पनि कम वर्षा भएको थियो।

केही दिनदेखि भइरहेको वर्षा चाहिँ प्री–मनसुनी गतिविधि भएको मौसमविद् श्रेष्ठले जानकारी दिए।

गत वर्ष प्रशान्त महासागरको पूर्वी भूमध्यरेखीय क्षेत्रको सतहमा तापक्रम वृद्धि भएर ‘एलनिनो’को प्रभाव देखिएपछि दक्षिण एसियामै मनसुनी वर्षा कम भएको थियो । हरेक ५ देखि ७ वर्षको अवधिमा एलनिनोको प्रभाव पर्छ।

प्रशान्त महासागरमा एकै पटक ३ देखि ४ डिग्रीसम्म तापक्रम बढ्ने हुँदा त्यसको असर मनसुनमै परेको थियो । यो वर्ष पनि एलनिनोको असर कायमै रहेको हुँदा औसतको हाराहारीमा मात्रै मनसुन हुन सक्ने पूर्वानुमान गरिएको छ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ।

मनसुन सुरू भएपछि वायु पूर्वबाट पश्चिमतिर बहन्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ।

सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।

प्री–मनसुन सक्रिय बन्नु आगामी मनसुनी गतिविधि राम्रो हुन सक्ने संकेतका रूपमा बुझ्न सकिने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन्।

‘केही महिनाअघि प्रशान्त महासागरमा केही परिवर्तन भएको छ, त्यसले समग्र दक्षिण एसियाकै मनसुनी गतिविधि औसतभन्दा राम्रो गराउने गर्छ,’ उनले राजधानीसँग भने, ‘अहिलेको गतिविधि त्यसैको सुरुवात हो।’

प्रशान्त महासागरको पूर्वी भेगको पानी औसतभन्दा बढी चिसो हुने प्रक्रियालाई मौसमविद्हरू मनसुनी वायुमा हुने परिवर्तनका रूपमा बुझ्ने गर्छन् । सन् २०१४ देखि प्रशान्त महासागरको पूर्वी भेगमा सक्रिय रहेको ‘एलनिनो’ (औसतभन्दा बढी पानी तात्ने) प्रक्रिया सन् २०१७ को अन्त्यसँगै निष्क्रिय भएको विश्व मौसम संगठनले जनाएको छ । तर, यो वर्ष एलनिनोको सामान्य प्रभाव हुने देखिएको छ।

महाशाखाले अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनामा प्री–मनसुनी वर्षा भएको जनाएको छ । महाशाखाका अनुसार यो वर्षको प्री–मनसुन अवधिमा १२३ प्रतिशतभन्दा बढी वर्षा भएको जनाएका छन्।

शनिबार सबैभन्दा बढी पोखरामा ३५ मिलिमिटर वर्षा भएको थियो भने अन्य स्थानमा १० मिलिमिटरभन्दा कम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौंमा शनिबार ८ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो । यस्तै शनिबार काठमाडौंको न्यूनतम तापक्रम १७ दशमलव ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया