काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ ११ साउन –

नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जानाका साथै हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुनुपरेको घटनाप्रति काँग्रेसले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ।

काँग्रेसले उक्त घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडितका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै पार्टीले बेपत्ताको तत्काल खोजी गर्न र विपत्मा परेका पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न सरकारलगायत सम्बन्धित सबै पक्षसँग माग गरेको छ।

त्यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विज्ञप्ति जारी गरी बाढी र पहिराबाट मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। उनले पार्टीका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारको उद्धार र राहतमा आवश्यक सहयोग पुर्याउन आग्रह गरे। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया