कांग्रेसभित्र भाँडभैलो शुरु

काठमाडौं २२, पुस २०७८ 

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।

इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो ।

सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको शक्तिलाई उपेक्षा गरेर अघि बढ्दा उहाँको इच्छा कसरी पूरा हुन्छ ?,’ महामन्त्री थापाले बैठकमा भने ।

बैठकमा धारणा राख्दै थापाले केन्द्रीय सदस्य मनोनीत गर्दादेखि बाग्मती प्रदेशमा सरकार विस्तार गर्दासम्म पनि सभापतिले पार्टीभित्र छलफल नगरेको बताएका हुन् । बैठकमा महामन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन अन्य दलसँग गठबन्धन गरिए पनि आगामी तीनै तहको निर्वाचनमा कांग्रेस वडादेखि केन्द्रसम्म एक्लै भिड्ने अवस्थामा रहेकोसमेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया