कांग्रेसमा किचलोः देउवाको कार्यशैलीप्रति पौडेलको तीव्र असन्तुष्टि

काठमाडौं १८ अशोज

समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक नडाकिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । सभापति शेरबहादुर देउवा आफ्नो समूहमा मात्र सीमित भएको नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ । तत्काल केन्द्रीय समिति बोलाएर सबै विषयमा छलफल गर्न पौडेल पक्षले मागसमेत गरेको छ । ‘संविधान संशोधन, राज्य पुनर्संरचना, पार्टीको आन्तरिक र सरकार सञ्चालनका विषयमा छलफल गर्दै धारणा बनाउन ढिला भइसक्यो,’ पौडेल पक्षका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ‘हामीले सभापतिलाई केन्द्रीय समिति बैठक डाक्न भन्दै आएका छौँ, तर महत्वपूर्ण विषयमा पार्टीले धारणा बनाउनुपर्ने वेला उहाँले बैठक डाकिरहनुभएको छैन ।’पार्टी सभापतिमा निर्वाचित भएपछि देउवाले तीनपटक केन्द्रीय समिति बैठक बोलाएका छन् । पछिल्लो बैठक ४ साउनमा बसेको थियो । बैठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो ।

थपिने राज्यमन्त्रीमा पौडेल चनाखो

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री मागेको छ । साथै, पार्टीले पाउने राज्यमन्त्रीमा विधि र प्रक्रियाअनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ । सभापति देउवाले दुई राज्यमन्त्रीका लागि नाम मागेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।

 

‘कसरी बनाउने भन्ने छलफल नै नगरी खालि दुईजनाको मात्र नाम मागिएको छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘संख्याको मात्रै कुराभन्दा पनि सभापतिको नियतमा प्रश्न उठेको छ । महामन्त्रीले दुई दिन सभापतिलाई भेटेर संख्या मात्र होइन, विधि र प्रक्रियाअनुसार अघि बढौँ भन्नुभएको छ ।’

क–कसको छ दाबी राज्यमन्त्रीमा ?
कांग्रेसबाट आठ राज्यमन्त्री बन्दा संस्थापनबाट पाँच, पौडेल पक्षबाट दुई र सिटौला पक्षबाट एकजनालाई बनाउने तयारी छ ।

देउवा पक्षबाट दीर्घराज भाट, दिलीप गच्छदार, अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, आङटावा शेर्पा, सुजाता परियार, ध्रुव वाग्ले प्रमुख दाबेदार छन् । पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार, सरिता प्रसाईं, कञ्चनवादे श्रेष्ठको सम्भावना बलियो छ । सिटौला पक्षबाट तारामान गुरुङ र सुधीरकुमार सिवाकोटी चर्चामा छन् ।
पौडेलको आरोप देउवाले कोठाबाटै पार्टी चलाउनुभयो

पटक–पटक बैठक राख्न आग्रह गरे पनि सभापति देउवाले नडाकेको नेता पौडेलको भनाइ छ । ‘संविधान संशोधन, स्थानीय तहदेखि थुप्रै समस्या समाधानका लागि बैठक डाकौँ र छलफल गरी धारणा बनाउन निरन्तर माग गर्दै आएका छौँ,’ नेता पौडेलले भने, ‘हामीले खोजेको विधि, प्रक्रिया, पद्धति र समझदारी हो, त्योअनुसार जानुपर्छ भन्ने हो । तर, सभापतिले बैठक डाक्न आनाकानी गरी कोठाबाटै पार्टी चलाउनुभएको छ ।’

दुई महिनाभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी, केन्द्रीय समितिको पूर्णता, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठन पनि सभापतिले गर्न नसकेको पौडेलको भनाइ छ । मन्त्री छान्दा पनि केन्द्रीय समितिले छलफल गरी संसदीय बोर्डले टुंगो लगाउनुपर्ने भए पनि त्यो हुन नसकेको आरोप उनले लगाए ।

गोपालमान भन्छन् रामचन्द्रजीको किचकिच मात्र हो

वषौँदेखि अलपत्र परेका नेविसंघ, महिला संघको महाधिवेशन भव्य रूपमा सम्पन्न भयो । २० जिल्लामा अधिवेशन नभएका कारण तरुण दलको महाधिवेशन रोकिन पुग्यो । कात्तिकको अन्तिम साता तरुण दलको महाधिवेशनको मिति तोकिएको छ । पार्टीले बिस्तारै काम गर्दै जाँदा रामचन्द्रजीहरू कार्यसमितिले केही गरेन भन्नुहुन्छ, यस्तो भन्न मिल्दैन ।

हामी प्रतिपक्षमा थियौँ, अहिले सत्तारूढ भयौँ । शासन पद्धति फेरियो । १५ जनालाई मन्त्री बनाइयो । निकट भविष्यमा राज्यमन्त्री बनाउँदै छौँ । संविधान संशोधन गर्ने भनेकै छौँ । यसमा कांग्रेसले मात्र गर्ने भनेर हुँदैन । माओवादी, एमाले पनि तयार हुनुपर्छ । धेरै कुरा भइराखेको छ । तर, रामचन्द्रजीहरू हामीलाई नभन्ने, बाहिर मिडियामा प्रचारबाजी गर्दै हुनुहुन्छ ।

रामचन्द्रजीलाई बारम्बार भन्ने गरेको छु, पहिले भागबन्डाको विरोधी हुनुहुन्थ्यो, अहिले किन भागबन्डा खोजिरहनुभएको छ ? हामी सबै एउटै बास्केटमा बसेका सय थुँगा हौँ भनेर उहाँले जान हुँदैन ? भागबन्डा खोज्ने, गुटको भेला गरेर बैठक डाक्न लगाउन खोज्ने परिपाटी राम्रो होइन । अाजकाे नयाँ पत्रिकामा समाचार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया