कांग्रेस मन्त्रीको टुंगो आइतबार, यी बन्दैछन् मन्त्री

काठमाडौं–२ भदौ

सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् ।

कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् ।

मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।

पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा। शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ ।

स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ ।

तर, केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन । यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उनको योजना छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया