कांग्रेस–माओवादीलाई कानुनविद्को सुझाब : धारा २९८ अनुसार नयाँ सरकार

काठमाडौं–२ श्रावण

कांग्रेस–माओवादी नेतृत्वलाई कानुनविद्हरूले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने सुझाब दिएका छन् । प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनका लागि कानुनी आधार नै नभएको भन्दै राजीनामा दिन आलटाल गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार कानुनविद्हरूसाग परामर्श गरेका थिए । कानुनविद्हरूले अविश्वासको प्रस्ताव पास भएपछि धारा २९८ अनुसार नै नयाा सरकार गठन गर्न सकिने सुझाब दिएका हुन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार सवा १२ बजेसम्म कांग्रेस–माओवादीका शीर्ष नेताले कानुनविद्हरूसाग छलफल गरेका थिए । वर्तमान सरकार गठन संविधाको धारा २९८ अनुसार भएको, अविश्वास प्रस्ताव पनि २९८ अनुसार नै राखिएकाले नयाँ सरकार गठन पनि यही धाराअनुसार नै गर्न सकिने सुझाब कानुनविद्ले दिएको कांग्रेस सचेतक ईश्वरी न्यौपानेले दिइन् । धारा २९८(१३) अनुसार अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउन सकिने र २९८ उपधारा (२) र (३) अनुसार सरकार गठन गर्न सकिने कानुनविद्हरूको भनाइ छ ।  उपधारा २ मा सात दिनमा सहमतीय आधारमा र उपधारा ३ मा बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।

‘अल्पमतमा परेपछि पनि प्रधानमन्त्री केपी ओलीबाट सरकार गठनको व्यवस्था नै छैन जस्तो गरेर धेरै कुरा बाहिर आयो । हामी नयाँ सरकार गठनको प्रावधान प्रस्ट छ भन्नेमैं छौं, तर प्रधानमन्त्रीले निरन्तर सरकार गठनको आधार नै नभएको बताउँदै आएपछि कानुनविद्सँग छलफल गरेका हौं,’ कांग्रेस सचेतक न्यौपानेले नयाँ पत्रिकासित भनिन्, ‘तर, संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्था भनेर धारा २९८ अन्तर्गत नयाँ सरकार गठन गर्न सकिनेमा प्रस्टता भएको उहाँहरूले बताउनुभएको छ । ओलीले दाबी गर्दै आएजस्तो नयाँ सरकार गठनको प्रावधान नै नभएको होइन भन्नेमा हामी एकमत छौं ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया