काबुल घटना राष्ट्रकै पीडा बन्नुपर्छः पीडित

धनञ्जय बुढा
 काठमाडौं २३  असार।
अफगानिस्तानको काबुलमा भएको दुःखद घटना राष्ट्रकै पीडा बन्नु पर्ने पीडित परिवारका सदस्यहरुले बताएका छन् । उनीहरुले रोजगारीका लागि विदेश जानु नेपालीहरुको रहर नभएर बाध्यता भएको पनि प्रष्ट पारेका छन् ।
बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा सम्मान म्युजिक प्रा.लि.ले आयोजना गरेको असार ६ गते अफगानिस्तानको काबुलमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घटनालाई लिएर तयार पारिएको गीत विमोचन कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोक गायिका बिमाकुमारी दुराले नेपालीहरु विदेशिनु रहर नभएर बाध्यता भएको बताइन् । बाध्यतामा परी रोजगारी गर्न विदेश भूमिमा पुगेका तिनै नेपालीहरुले असमायिक मृत्युका घटनाहरु व्यहोरिरहेको उनले बताइन् ।  काबुल घटना त्यसैको अर्को श्रृंखाल भएको बताउँदै काबुल घटना दुखद् भएको बताइन् । घटना निधन भएकाहरुप्रति श्रद्धान्जली तथा मृतक परिवारलाई समवेदना प्रकाट गर्दै धैर्यधारण गर्न आग्रह गरिन् ।
प्रमुख अतिथि दुराले सम्मान म्युजिक प्रा.लिको व्यवस्थापनमा काबुल घटनासँग सम्बन्धित रह तयार पारिएको ‘सुन्नुस हजुर’ नामक गीत सीडी विमोचन गरेकी थिइन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रबासी एलायन्स नेपालका अध्यक्ष रमेश तुफानले नेपाल सरकारले आफ्ना नागरिकहरुलाई स्वदेशमा रोजगारीको व्यबस्था गर्न नसके पनि उनीहरुलाई गन्तब्य देशसँग  उचित काम, तलब, सुविधा, सम्मानजनक ब्यबहार र भरपर्दो सुरक्षा, अधिकारको विषय सम्झौतामै प्रष्टरुपमा लेखेर प्रत्याभुति गर्नुपर्ने बताए ।
अध्यक्ष तुफानले नेपालीहरुले विदेशमा निकै जोखिमपूर्ण काम गरिरहेको र धेरै जीवन खतरामा रहेको बताउँदै नेपाली कामदारले विदेशबाट मृत्यु,अपाङ्गता र रोगमध्ये कुनै न कुनै दुःख बोकेर फर्कने गरेको बताए ।
म्यानपावर व्यवसायी सागर कँडेलले विदेश जान कुनै नेपालीलाई रहर नभएको सरकारको अकर्मण्यताले कर्मठ युवाहरुलाई विदेशी भूमिमा पुर्याएको बताए । विदेशमा गएर नेपाली मजदुरले अत्यन्तै जोखिमपूर्ण काम गर्नुपरेको र त्यहाँ पाउने तलब, सुविधामा समेत विभेद गर्ने गरेको बताए ।
सरकारले गरेको फ्रि भिसा र फ्रि टिकटले कामदारमा भ्रम परेको धारणा राख्दै घोषणा कार्यान्वयन गर्नका लागि सरकारले सम्बधित देशसँग ठोस सम्झौता गर्नुपर्ने बताए । फ्रि भिसा र फ्रि टिकटको विषय मिडियाले लेख्दैमा हल नहुने उनको भनाई छ । कँडेलका अनुसार विदेशिने नेपालीहरुमा ९५ प्रतिशत लेबरमा जाने गर्दछन् । ‘विदेशी भूमिमा हामीले सोचेभन्दा बढी शोसण भइरहेको छ । यो कुरा सरकारले खोई मिडियामा ल्याएको ?’ कँडेलले भने ।
चलचित्र एक्सनका नायक राज थपलियाले कलाकार पनि यस्ता घटनाबाट निकै नै प्रभावित हुने गरेको र कलाकरिताबाट जनचेतना जगाउन आफूले प्रयास जारी राख्ने बताए ।
संगीतकार बिबि अनुरागीले हामी नेपालीहरुले कहिलेसम्म विदेशी भूमिमा रगत बगाउने, ? प्रश्न गर्दै मिडियाले काबुलजस्तो कारुणिक घटनालाई गीतमा उतारेर संचारित गर्न उच्च प्राथमिकताका साथ स्थान दिनु सबैको दायित्व भएको बताए । ‘गीतले निकै ठूलो शन्देश प्रवाह गरेको छ । नेपालीले खानै नपाएर विदेश जाने अवस्था छैन’ उनको भनाई छ ।
गीतको चरना हाल साउदीमा रहेका वीरबहादुर खत्री र जीवनकुमार आचार्यले गरेका हुन् । स्वर लोकदोहोरी गायिका तथा गायक कृष्णा परियार र शेरबहादुर आचार्य ‘गाइने’ले दिएका छन् ।
‘सुन्नुस हजुर’ गीतको भीडियो आगामी हप्तादिनमा बजार ल्याउने  तयारी रहेको प्रा.लि.का  निर्देशक प्रकाश क्षेत्रीले बताए । गीतबाट प्राप्त रोयल्टी पीडित परिवारलाई सहयोग गर्ने निर्देशक क्षेत्रीले बताए ।
त्यसैगरी प्रा.लि.की अर्का डाइरेक्टर सजिना लामिछानेले अफगानिस्तानमा मात्रै नभएर यस्ता धेरै घटनाहरु घट्ने क्रम नरोकिएको भन्दै सम्बन्धित निकाय सजक हुनु आवश्यक रहेको बताए । ‘जसस्तरबाट जनचेतना र सरकारलाई झकझक्याउन यो गीत बजारमा ल्याएको हो’ लामिछानेले भनिन् ।
कार्यक्रममा पीडित परिवारको तर्फबाट मृतक बीरबहादुर क्षेत्रीकी धर्मपत्नी गंगा महत सुबेदीले श्रीमानको निधनले आफू जीवनकै ठूलो पीडा परेको बताइन् । यस्ता घटना दोहोरिन नदिन सरकार र सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै  सोही घटनाका मृतक चन्द्रबहादुर रानामगरका छोरा असशेक रानामगरले आपूm र परिवार बुबाको निधनपछि निकै पीडामा बाँचिरहेको र पीडालाई सामान्य अवस्थामा ढाल्ने प्रयासमा रहेको बताए । सरकारले आफू जस्तै पीडामा परेका सबैलाई सरकारले सहनुभूति र सहयोग गर्न सक्नुपर्नेमा जोड दिए । पीडित गंगा र अशोकले यस्ता घटनाहरु रोक्न सरकारले ठोस रणनीति तत्काल ल्याउनु पर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका चलचित्र निर्माता महेन्द्र मैनालीले अन्य पीडित परिवार सदस्यलाई कार्यक्रममा ल्याउन असमर्थ रहेपनि आगामी दिनमा अन्य कार्यक्रममार्फत सम्बोधन गर्दै जाने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया