कामना फिल्म अवार्ड मनोनयन

काठमाडौं २ कार्तिक

 कामना अवार्डस्को दोस्रो संस्करणको मनोनयनमा विकास आचार्य निर्देशित फिल्म ‘नाई नभन्नू ल ४’को वर्चस्व छ। आयोजक कामना मासिकले दसैंअघि सार्वजनिक गरेको सूची अनुसार अवार्डमा ‘नाई नभन्नु ल ४’ सर्वाधिक २१ विधाको मनोनयनमा परेको छ। विकासराज आचार्य निर्देशित फिल्म उत्कृष्ट फिल्मसहित उत्कृष्ट कथा, पटकथा, संवाद, छायाँकन, आदि विधामा गरी २१ विधाको मनोनयनमा परेको हो। ‘नाई नभन्नू ल ४’ पछि ‘प्रेम गीत’ सर्वाधिक १९ विधामा मनोनयन परेको छ। अभिनेता तथा निर्माता भुवन केसीको निर्देशनमा डेब्यु रहेको फिल्म ‘ड्रिम्स’ भने १६ विधामा मनोनयनमा छ।

२०७२ साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुको प्रतिस्पर्धामा अनमोल केसीले खगेन्द्र लामिछाने, सौगात मल्ल, दयाहाङ राई र आर्यन सिग्देलसँग प्रतिस्पर्धा गर्ने भएका छन्। यस्तै अभिनेत्री तर्फ भने पूजा शर्मा, केकी अधिकारी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, शिल्पा पोखरेलबीच भिडन्त हुने भएको छ। मनानयनमा केही कलाकार तथा प्राविधिक फरक फिल्मबाट दोहोरो तेहरो मनोनयनमा परेका छन्।

दयाहाङ राई ‘कबड्डी कबड्डी’बाट उत्कृष्ट अभिनेता र ‘फन्को’बाट सह अभिनेता तथा प्रियंका कार्की ‘वडा नम्बर ६’ बाट उत्कृष्ट अभिनेत्री र ‘क्लासिक’बाट सहअभिनेत्रीको विधामा मनोनयनमा परेकी छिन्। त्यसै गरी गायिका अञ्जु पन्त ३ गीतबाट मनोनयनमा परेकी छिन्। उनी ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ तथा ‘प्रेम गीत’को ‘म यस्तो गीत गाउँछु’ र ‘म त अलपत्रै पर्छु’बाट मनोनयनमा परेकी छिन्। राजाराम पौडेल हास्यकलाकार र खलपात्र दुवैको प्रतिस्पर्धामा छन् भने लेखक सामीप्यराज तिमल्सेना, द्धन्द्ध निर्देशक हिमाल केसी, कोरियोग्राफर कविराज गहतराज, , गीतकार डा. कृष्णहरी बराल, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकर्मी एलिश कार्की, श्रृंगारकर्ता निमा लामा र चलचित्र सम्पादक सुरेन्द्र पौडेल २/२ फिल्मबाट मनोनयनमा परेका छन्।

आर्मी अफिसर्स क्लबमा वितरण गरिने अवार्ड २६ विधामा प्रदान गरिनेछ। २६ मध्ये लोकप्रिय १८ विधामा दर्शकको एसएमएस मतका आधारमा सर्वोत्कृष्ट फिल्म तथा कलाकारको छनोट गरिने कामनाले जनाएको छ। कामनाका अनुसार यी १८ विधाका अवार्डमा ९० प्रतिशत निर्णायकबाट र १० प्रतिशत मत एसएमएसबाट लिइनेछ। उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, गीतकार, पार्श्व गायक र गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, बालकलाकार, कोरियोग्राफी र द्धन्द्ध निर्देशक विधाको एसएमएस मतका लागि बिहीबारबाट भोटिङ खुला हुने पनि आयोजकले जानकारी गराएका छन्।  प्राविधिक विधामा भने निर्णायक मण्डलको मूल्यांकनका आधारमा अवार्ड प्रदान गरिनेछ।

पहिलो वर्ष झैं यस वर्ष पनि पर्दापछाडि र अगाडिका २ जनालाई फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। त्यसै गरी संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड प्रदान गरिने आयोजक कामना न्यूज पब्लिकेसन्स्द्धारा जारी प्रेस सामग्रीमा उल्लेख गरिएको छ। सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट अवार्डको थालनी भएको हो। नागरिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया