कामीरिताबाट सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान

काठमाडौं १ जेस्ठ ।

साहसिक आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २३ औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो ।
कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहण अघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो ।
यसअघि २१ पटक सगरमाथा चढिसक्नुभएका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसक्नुभएको छ ।
रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया