कालिकोटमा मोबाइलले ल्यायो डरलाग्दो समस्या

कालीकोट १० पुस।

कालीकोट जिल्लामा बालविवाहको दर बढ्नुमा मोबाइल प्रमुख कारण भएको पाइएको छ । मोबाइल फोनकै कारणले एक अर्कासँग चिनजान हुने र त्यसैको कारणले भागी विवाह गर्ने गरेको स्थानीयले बताएका छन् ।

तिलागुफा नगरपालिका-७ का सर्जिन भण्डाराले मोबाइल प्रयोगकर्ता किशोरीहरूले मात्र सानै उमेरमा विवाह गरेको दाबि गर्नुभयो । उहाँले जसको हातमा मोबाइल छैन ऊ किशोरी विवाहप्रति चासो नराख्ने गरेको भन्दै सबै अभिभावकले आ-आफ्नो छोरीको हातमा भएका मोबाइल खोसेमा केही हदसम्म बालविवाह रोकिने बताउनुभयो ।

मोबाइलसँगै विद्यालय पढ्ने बालबालिकाको उमेर घटाउने प्रवृत्तिका कारणले कालीकोटमा सोचेअनुसारको बालविवाह न्यूनीकरणका प्रतिफल नआएको स्थानीय नागरिकको भनाइ छ । विद्यालयमा भर्ना गर्दा जन्मदर्ता सच्चाइने गरिएकाले हाल आएर तथ्याङ्कमा बालविवाह देखिएको भण्डाराले बताउनुभयो ।

हामीले बालविवाह बढिरहेको भनिरहेका छौँ तर बढेको होइन घटिरहेको छ । मात्र प्रमाणपत्रले बालविवाह हो भनेर भनेकाले अबदेखि स्थानीय सरकारले जन्मदर्तामा विशेष ध्यान दिनुपर्ने भण्डाराको भनाइ छ । बच्चा जन्मिँदा स्वास्थ्य चौकीमा रेकर्ड हने भएकाले स्थानीय पञ्जिकाधिकारीले पनि स्वास्थ्य संस्थामा लगाएको खोप कार्डका आधारमा मात्र जन्मदर्ताका प्रतिलिपि दिनुपर्ने आमनागरिकले आग्रह गरेका छन् ।

स्वास्थ्य चौकी छाप्रेका इन्चार्ज जितेन्द्रबहादुर शाहीले मनोमानी जन्मदर्ताका प्रमाणपत्र दिने गरेकाले बालविवाहको तथ्याङ्क बढिरहेको बताउनुभयो। बालक्लबको आयोजना तथा रेडियो नयाँ कर्णालीको सहजीकरणमा सम्पन्न बालविवाह
न्यूनीकरणका लागि गरिएको बालकचहरीमा बोल्ने अधिकांश नागरिकले मोबाइल फोनको प्रयोग र उमेर घटाएर जन्मदर्ता गराउने गरेका कारणले बालविवाहको दर बढेको दाबी गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार उमेर पुगेको, शारीरिक रूपमा परिपक्क भएका किशोरीले विवाह गर्नु कुनै अपराध नभएकाले उनीहरूको जन्मदर्ता सच्चाएको कुरामा अनुसन्धान गर्न आग्रह गरेका छन् । उनीहरूको उमेर पुगेको छ । विवाह
गर्ने समय भएको छ । त्यो शारीरिक आवश्यकता हो तर विद्यालयको प्रमाणपत्रले बालविवाह देखिने भएकाले जन्मेको उमेरलाई आधार मानेर जन्मदर्ता दिन स्थानीय निकायको ध्यानाकर्षण समेत स्वास्थ्यकर्मीले गराएका छन् ।

स्थानीय सावित्रा भण्डारीले बालविवाहको न्यूनीकरणको अभियान स्थानीय सरकारबाटै सञ्चालन गरिनुपर्ने बताउनुभयो । उहाँले सरकारले थालेको अभियान प्रभावकारी हुने हुँदा सरकार गम्भीर नहुँदासम्म कुनै पनि कामले छिटो सकारात्मक परिवर्तन ल्याउन नसक्ने बताउनुभयो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया