‘किस्मत-२’ छवीराज प्रोडक्शनको निरन्तरतामात्र होईनः ऋषि लामिछाने
नेपाली रजतपटमा स्थापित नाम हो ऋषि लामिछाने । ठूलो पर्दाका ९ ओटा चलचित्र निर्देशन गरिसकेका लामिछानेका अधिकांश चलचित्र दर्शकले रुचाएका छन् । नेपाली चलचित्रको बजार बिस्तार गर्न सकेमा र निर्माताले मन खोलेर लगानी गर्ने वातावरण बने आफुले बलिउड र हलिउडका चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्ने चलचित्र बनाउन सक्ने उनको दावी छ । प्रदर्शनको क्रममा रहेको चलचित्र किस्मत २ का निर्देशक उनै ऋषि लामिछानेसँग नेपाली चलचित्रको वर्तमान अवस्था र किस्मत २ कै सेरोफेरोमा रहेर विजनेसपाटीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको निर्देशन रहेको चलचित्र किस्मत २ आमामी असोज २१ गतेबाट प्रदर्शनमा आउँदैछ । कस्तो बनेको छ चलचित्र ?
हरेक बाबुआमालाई आफ्नो सन्तान राम्रो लाग्दछन् । हरेक सर्जकलाई आफ्नो सिर्जना राम्रो लाग्दछ । मलाई पनि मेरो सृजना राम्रो लागेको छ । राम्रो लाग्दा लाग्दैपनि मान्छेको जीवनमा सिक्ने कुरा कहिल्यै सकिदैन । केहि सिक्दै, सिकेको कुराहरु प्रयोग गर्दै गर्दा अहिलेको परिपेक्षमा एउटा हेर्न लायक सिनेमा बनेको छ ।
चलचित्रको कथावस्तु के छ ? खुलाउन मिल्नेसम्म खुलाईदिनुस् न ।
आजभन्दा ३० बर्ष अगाडि जोमसोमबाट मुक्तिनाथ जाँदाखेरी मान्छेहरु घोडामा भाडा तिरेर जाने गर्दथे । अहिले गाडिको सुबिधा भैसकेपछि ती मान्छेहरु जस्ले घोडामा मान्छेहरु ल्याउने लैजाने गर्दथे त्यो पेशा अहिले बिस्थापित भएको छ । यसले त्यो समाजलाई कस्तो असर पुर्यायो भन्ने बिषयलाई चलचित्रमा समेटिएको छ । अर्को कुरा शहरको परिबेश, तेरो मेरो, आफ्नो पराई, प्रेम बिछोड जस्ता परिबेश चलचित्रमा समाबेश छन् । शहरी जीवनशैली र गाउले जीवनशैलीलाई चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गर्ने जमर्को गरेको छु । समग्रमा भन्नुपर्दा किस्मत २ले अपर मुस्ताङदेखि काठमाडौंसम्मको कथा बोल्दछ ।
आजभोलि चलचित्रमा मनाङ मुष्ताङको सिन राख्ने फेसन नै चलेको छ है ?
हामी चलचित्रमा राम्रो सिन जबरदस्त घुसाउन मुष्ताङ गएका होईनौं । हाम्रो चलचित्रको कथाले नै मुस्ताङको परिबेश मागेकोले त्यहाँ चलचित्रको शुटिङ गरिएको हो । त्यहाँ शुटिङ गर्नु त्यति सहज पनि थिएन । जतिबेला पनि हावा चलिरहने, हावाले ठूलाठूला ढुङ्गा नै उडाउथ्यो । यति हुँदा हुँदै पनि गर्मी बिछट्टै हुन्थ्यो । जोमसोमको रमणिय दृश्य चलचित्रमा कैद गर्न पाउदा एक किसिमको गौरवको अनुभव भयो ।
चलचित्रलाई किस्मतकै सिक्वेयल भनिएको छ । तर किस्मतको कथा र परिवेश छुट्टै थियो । किस्मत २ लाई किस्मतसँग कसरी जोड्नुभएको छ ?
कहि केहि दृश्य, घटना परिघटनाहरु उस्तै देखिए पनि पहिलाको किस्मत र अहिलेको किस्मतमा मिल्ने कुरा भनेको निर्माता छवी ओझाको नाम मात्र हो । कलाकार, निर्देशक, स्टोरी कहि कतै किस्मतसँग मिल्दैन ।
यति भनिरहँदा किस्मत २ का प्रचार सामग्री, ट्रेलर हेर्दा किस्मतकै झल्को दिईरहेका छन् नी ?
चलचित्रको नाम एउटै हुँदा किस्मतलाई पुष्टी गर्ने परिबेश र माध्यम उस्तै लाग्न सक्दछन् । त्यो नौलो कुरा होईन । मान्छे जन्मिएदेखि नमर्दासम्म उ रुने हास्ने गर्दछ । मान्छेले लडाई गर्छ, माया प्रेम, लोभ मोह सबैकुरा मान्छेले भोगेको हुन्छ । यी कुरा त सबै मान्छेको मिल्छ नी एक अर्कामा । त्यस्तै कुराहरु किस्मत र किस्मत २को मिल्न सक्दछ । तर किस्मतकै हुबहु हो भनेर नबुझौं । छवी ओझाले मलाई किस्मत हेरौं भन्नुभएको थियो । तर मैले किस्मत २ निर्माण गर्दा कहि कतै प्रभावित भैएला भनेर त्यो चलचित्र हेर्न मानिन ।
भाविले छैटीको दिनमा हरेक मान्छेको किस्मत लेख्छिन् अरे । थाहा छैन किस्मत लेख्न भावि आउछिन् या आउदिनन् । कसैले देखेको छैन । यो धार्मिक मान्यता हो । किस्मत त लेख्छिन् तर त्यो किस्मत कसरी लेख्छिन् ? सबैको जीवनमा दुःखमात्र हुन्छ ? सबैको जीवनमा पीडा मात्र हुन्छ ? सबैको जीवनमा खुसीमात्र हुन्छ ? यी सबै मान्छेले भोग्ने कुरा छैटीको दिनमा लेखिन्छ र ? थाहा छैन, लेखिन्छ की लेखिदैन । यो सव कल्पनाको कुरा हो । यो कतिसम्म सहि हो र कतिसम्म गलत हो भन्नेकुरा किस्मत २मा देख्न सकिन्छ । सबैभन्दा ठूलो कुरा मान्छेले आफ्नो कर्म गर्नुपर्दछ । लक्ष्यमा पुग्न आफु अगाडि बढ्नै पर्दछ भन्ने कुरा चलचित्रमा देखाईएको छ ।
किस्मत हेरेका दर्शकहरुले किस्मत २ लाई कुन स्थानमा राख्छन् होला ?
किस्मत मैले १० बर्ष अगाडि एकपटक हेरेको त्यसपछि हेरेको छैन । त्यो सिनेमा उत्कृष्ट बनेको थियो, सफल बनेको थियो । त्यो सिनेमाका निर्देशक नेपाली रजतपटको एक उत्कृष्ट निर्देशक उज्वल घिमिरे हुनुहुन्थ्यो । म त्यो सिनेमा र मेरो सिनेमालाई तुलना गर्न सक्दिन । किन भने म सामान्य मान्छे हो । म सिनेमा सिक्दै गरेको बिद्यार्थी हो । मैले कतै गल्ती गरेको हुन सकुला । मैले कतै अझ सिक्न बाँकी होला । तर वहाँ त धेरै पढिसकेको बुझिसकेको मान्छे । सिनेमा क्षेत्रमा धेरै बसन्त पार गरेको मान्छे । त्यो सिनेमा उत्कृष्ट थियो मैले त्यो सिनेमासँग तुलना गर्न मिल्दैन । म यत्ति भन्छु, मेरो सिनेमा यो पेरिफेरीमा जुन बस्तुहरु उपलव्ध भयो, प्रबिधिक रुपमा, आर्थिक रुपमा, कलाकारको हिसावले जे जस्तो उपलव्ध भयो त्यहि अनुसार उत्कृष्ट सिनेमा बनाउने पहल गरेको छु । हिजोका दिनमा केहि गल्ती गरे हुँला ती गल्ती आज दोर्याएको छैन । केहि गल्तीहरु अवश्य भएका होलान्, ती गल्तीहरु आगामी सिनेमामा नदोहोर्याउने प्रण गर्दछु । प्रदर्शनमा आएपछि मेरो चलचित्रलाई दर्शकहरुले नै मापन गर्नुहुनेछ । म यत्ति भन्न चाहन्छु की मैले इमान्दारपूर्वक काम गरेको छु मैले छलकपट गरेको छैन ।
छवीराज प्रोडक्शनमा यो तपाईको दोश्रो काम हो । दोश्रो चलचित्रसम्म आईपुग्दा तपाईले छवीराजको प्याटनलाई बदल्न सक्नुभएन है ?
चलचित्र क्षेत्रलाई यता डोर्याउछु है भन्ने मेरो एउटा सपना त हुन्छ । साथसाथै छवीजीको पनि आफ्नै परिकल्पना हुन्छ । वहाँको परिकल्पनालाई साकार पार्नुपर्ने एउटा अवस्था छ । कहि न कहि त्यो अवस्थाबाट म मुक्त रहन सक्दिन । तर किस्मत २ छवीराज प्रोडक्शनबाट बन्ने चलचित्रको निरन्तरता मात्र नभएर केहि पृथक कुरा समाबेश छन् । यसको स्टोरी टेलिङ शैली फरक छ । हिजोका दिनका कथा वाचन गर्ने शैली र आजको दिनमा ऋषिले कथा बाचन गर्ने शैली फरक छ । मैले चलचित्रको धारलाई केहि परिवर्तन गर्ने कोशिश गरेको छु ।
कलाकारहरुबाट तपाईले चाहेको कला निकाल्न सक्नुभएको छ ?
मलाई स्क्रिप्टले निर्देशन गर्ने हो । कलाकारलाई पनि मुख्यत स्क्रिप्टले नै निर्देशन गर्ने हो । निर्देशकले स्क्रिप्ट र कलाकारको तालमेल मिलाईदिने हो । मान्छे कुनैपनि काममा निपूर्ण कहिल्यै हुँदैन । यति हुँदाहुदै किस्मत २ का कलाकार (शिल्पा, किशोर, नयाँ कलाकार पृथ्वीराज प्रसाई)लगायतले राम्रो काम गर्नुभएको छ । चलचित्रलाई न्याय गर्नुभएको छ ।
यहाँ एउटा पुरानो प्रसंग जोडौं न । किस्मतले नयाँ कलाकार आर्यन सिग्देललाई सिने क्षेत्रमा प्रबेश गराएको थियो उनी यो क्षेत्रमा सफल नायकको पहिचान बनाउन सफल रहे । किस्मत २मार्फत यो क्षेत्रमा प्रबेश गरेका पृथ्बीराज प्रसाईको भविष्य कस्तो देख्नुहुन्छ तपाई ?
पृथ्वीराजको नृत्य, द्धन्द्ध र अभिनय राम्रो छ । उनले आफुलाई अझ परिमार्जित गर्नुपर्छ । मैले उनको भबिष्य अध्यारो देखेको छैन । उज्यालो नै छ ।
चलचित्रको स्क्रिप्ट हेर्दा तपाईले गरेको कल्पना र अहिले तयार भएपछि चलचित्र हेर्दा सन्तुष्ट हुनुहुन्छ ?
केहि कुराहरु कल्पना गरेकोभन्दा धेरै राम्रो भएका छन् । केहि कुराहरु कल्पना गरेभन्दा कम भएका छन् । सर्वगुण सम्पन कुनै व्याक्ति हुदैनन् । सबैकुरामा पफेक्ट कुनै चलचित्र बनेका छैनन् । यहाँ मात्र होईन, बलिउड हलिउडमा पनि यस्तै हुन्छ । हामी त लगानी धेरै गर्न सक्दैनौं, समय धेरै हुँदैन । हामीले सिमित श्रोत र साधनमा जे गरिरहेका छो त्यो भयंकर नै गरिरहेका छौं ।
नेपाली चलचित्र क्षेत्रको अहिलेको अवस्थालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रमा कहि न कहि सानो सड्यन्त्रकारी दिमाखहरु क्रियशिल छन् । तथापि अहिले केहि सिनेमाले नेपाली सिने क्षेत्रलाई अन्तराष्ट्रि जगतमा चिनाईरहेका छन् । कालो पोथी यसको उदाहरण हो । नेपाली सिने क्षेत्रमा आज पढेलेखेका मानिसहरु आईरहेका छन् । हिजो परेका मात्र थिए, काम गरेर सिकेका मान्छे थिए, आज काम पनि गरिरहेका छन् पढि पनि रहछन् । बिभिन्न मुलुकमा सिनेमा पढेर यहाँ आएर सिनेमा बनाउनेहरु पनि बढिरहेका छन् । त्यसकारण नेपाली सिनेमाको भविष्य हिजो भन्दा आज उज्वल छ, आज भन्दा भोलि उज्वल छ ।
पछिल्लो समय बलिउड, हलिउड चलचित्रको सहजताले नेपाली चलचित्रहरु समस्यामा परेका हुन् ?
यसको दुईतर्फि असर परेको बुझेको छु मैले । नेपाली चलचित्रलाई बलिउड, हलिउडका चलचित्रले समस्यामा पार्नुको साथ साथै ती चलचित्र हेरेर यहाँका चलचित्रकर्मीहरु पनि परिमार्जित भएका छन् । एकातिर कालो पोथी जस्ता चलचित्र बनेका छन् जस्ले अन्तराष्ट्रिय चलचित्रहरुसँग प्रतिष्पर्धा गरेर अवार्डहरु हासिल गरेका छन् भने अर्कोतर्फ ड्रिम्स जस्ता चलचित्र बनेका छन् जस्ले चकाचक मसालेदार हिन्दी सिनेमालाई पछाडि पारेका छन् । हिजो २५, ३० लाखमा चलचित्र बन्ने गर्दथे, आज ७०, ८० लाखमा चलचित्र बन्ने गरेका छन् । आफ्नै पहलमा भएपनि नेपाली चलचित्रहरु बिश्व बजारमा जाने कोशिस गरिरहेका छन् । तर सरकारी स्तरमा नेपाली चलचित्रको बैदेशिक बजार खोज्ने काम हुन सकेको छैन । यदि सरकारी तवरबाट सानो पहल गर्ने हो भने हामीले अन्तराष्ट्रिय स्तरका चलचित्र बनाउन सक्छौं ।
बिदेशी चलचित्र हेर्दा मलाई साच्चै गिल्टी फिल हुन्छ । हामीले किन यस्तो सिनेमा बनाउन सकेनौं जस्तो लाग्छ । फेरी हाम्रो मार्केट हेरेर सन्तोष मान्छु । तरपनि अव हामीले बिदेशी सिनेमासँग प्रतिष्पर्धा गर्न नसक्ने हो भने यो क्षेत्र धरासायी बन्छ । नेपाली चलचित्रको बजार बिस्तार गरेर राम्रो लगानी गर्ने वातावरण भयो भने हामी बिदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नसक्ने चलचित्र बनाउन सक्दछौं ।
अन्त्यमा तपाईको चलचित्र किस्मत २ दर्शकहरुले किन हेर्ने ?
पहिलो कुरा त यो चलचित्रको स्टोरी राम्रो छ । चलचित्रमा हासो, खुसी, पीडा, द्धन्द सबै चिज छ । तर अहिले ऋषि लामिछानेले मेरो चलचित्र राम्रो छ भनेको भरमा दर्शकहरु हलसम्म आउदैनन् । दर्शकहरुले आफै अध्ययन गरेर यो सिनेमा हेर्नुपर्छ, यो सिनेमा हेर्नुहँदैन भन्ने धारणा बनाईसकेका हुन्छन् । २० ओटा सिनेमा चल्दा एउटा चलचित्र चल्छ । हिट होईन सुपरहिट हुन्छ । मलाई के लाग्छ भने किस्मत त पहिल्यैं हिट भैसकेको हो । हाम्रो टीमले यसअघि सुपरहिट चलचित्र हवल्दार सुन्तली बनाईसकेका छौं । यो टीमले बनाएको चलचित्रबाट हामीले प्रसस्तै मनोरन्जन पाउछौं भन्ने कुरा दर्शकलाई थाहा छ । दर्शकले हाम्रो चलचित्र किस्मत २ लाई पर्खिरहनुभएको छ भन्ने हाम्रो बिश्वास हो ।
तपाईको अवको योजना के छ ?
अहिले त किस्मत २ को प्रचार प्रसारमै व्यस्थ छु । यसपछि ओम किरण राईले निर्माण गर्न लागेको चलचित्र उजेली निर्देशनको तयारीमा छु । यसमा जीवन लुईटेल बाहेक अन्य कलाकार फाईनल भएका छैनन् । उजेली सकाएपछि प्रदिप उदय निर्माता म निर्देशक रहेर एउटा चलचित्र गर्दैछौं । यसपछि फेरी छवी ओझाकै अर्को चलचित्रको लागि कुरा भैरहेको छ ।
तपाईले चलचित्र उजेलीको लागि उजेली भेटिएन भन्नुभएको थियो । अझै भेट्नुभएको छैन उजेली ?
उजेली नभेटिएकै हो । मैले लगभग २ सय बहिनीहरुलाई हेरे । उनीहरु धेरै राम्राराम्रा थिए । तर समस्य के भैदियो भने मेरो परिकल्पनाको उजेली गाउकी एउटा स्वतन्त्र केटी, जस्मा कपटता भन्ने चिज छैन । मलाई त गाउले भाषा बोल्ने युवती चाहियो, गाउले हिडाई हुनु पर्यो । यो अत्यन्तै बिकट गाउको आर्मी परिवारको कथा हो । हामीले खोजेको उजेलीले घास काट्न जान्नुपर्ने हुन्छ, ठूलाठूला रुखमा चड्न सक्नुपर्छ । त्यसकारण त्यो परिबेश सुहाउदो केटी पाईएन ।
चाहनुभयो भने त चल्तीकै नायिकाहरुलाई उजेली बनाउन सक्नुहुन्थ्यो होला नी ? एक निर्देशकले कलाकारबाट कतिसम्म कला निकाल्न सक्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ नी ?
शहरका सुद्ध नेपाली बोल्न नसक्ने युवतीलाई बिकट गाउँको लवजमा बोलाउन सिकाउन समय लाग्छ । चल्तीकै नायिकालाई कुनै बिकट बस्तीमा तीन महिना राखेर लवज सिक भन्न त सकिन्थ्यो, तर हामी सिमित खर्चमा चलचित्र बनाउन बाध्य छौं । नेपाली चलचित्रको बजार सानो छ । चलचित्रको लागत बढाउदा भोली लगानी उठाउन समस्या पर्दछ । एउटा निर्देशकले निर्माताको लागानी खेर नजाओस् भन्नेमा पनि सतर्क हुनुपर्दछ । यति भन्दै गर्दा फेरी खोजेजस्तो पात्र भेटिदै भेटिएन भने त तपाईले भनेजस्तै चल्तीकै नायिकालाई समय दिनुको बिकल्प हुँदैन ।
प्रकाशित मिति २०७३-५-७
फेसबुकबाट तपाईको प्रतिक्रिया