कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं २४ माघ

बागलुङ-बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक  मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४००  प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ ।कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् ।

“कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ”, उनले भने, “कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।” अहिलेसम्म ४०० नाघ्न सकेको थिएन ।  कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो ।कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए ।जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उहाँले जानकारी दिए । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसी÷बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया