कृषि पढ्नमा आकर्षण बढ्दो !
काठमाडौँ १ मंसिर
चितवन-खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ। स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा तीन हजार नौ सय चारजनाले प्रवेश परीक्षा दिएका थिए। सङ्कायका सहायक डिन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा एक सय ६५ र कास्कीको पुरनचौरमा ५० जनाले मात्र अध्ययन गर्न पाउने छन्।
गत वर्ष कृषि सङ्कायमा तीन हजार जनाले प्रवेश परीक्षा दिएका थिए। वर्षेनी कृषि पढ्न चाहनेको सङ्ख्या बढ्दो छ। त्यस्तै भेटेरिनरी र मत्स्य विज्ञानमा दुई हजार दुई सय ३५ जनाले आवेदन दिएकामा एक हजार सात सय ४७ जनाले प्रवेश परीक्षा दिएका छन्। जसमध्ये ५० ले भेटेरिनरीमा र १६ जनाले मत्स्य विज्ञानमा अध्ययन गर्न पाउने छन्। गत वर्ष ती दुवैमा एक हजार दुई सय ५० जनाले आवेदन दिएकामा एक हजार एक सय ८५ जनाले प्रबेश परीक्षा दिएका थिए। सो सङ्कायकी डिन डा. शारदा थपलिया कृषि शिक्षाको महत्व बढ्दै जाँदा अध्ययनका लागि विद्यार्थीको चाप थपिँदै गएको बताउँछन्। विज्ञान विषयमा दश जोड दुई उत्तीर्ण गरी राम्रो अङ्क ल्याएका अधिकांशको चाहना कृषि र भेटेरिनरी शिक्षा बनेको छ। थपलियाका अनुसार प्रवेशिका परीक्षामा ८५ प्रतिशत र दश जोड दुईमा ७५ प्रतिशतभन्दा कम अङ्क ल्याएका विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन्।
कृषि र भेटेरिनरीमा उच्च शिक्षा सकेपछि स्वदेशमा नै रोजगार र व्यवसाय गर्ने प्रशस्त अवसर रहेको छ। विदेशका लागि पनि सहज अवसर हुन्छ। सोही विश्वविद्यालयका प्राध्यापक एवम् पूर्वरजिस्टार डा सूर्यकान्त घिमिरे विश्वका अधिकांश देशले भविष्यमा कसरी खाद्यान्न पुर्याउने भन्ने विषयमा चिन्तन थालेकाले कृषि शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको बताउँछन्। कृषि शिक्षा अध्ययन गरेका जो कोही पनि बेरोजगार नरहेको भन्दै उनले आवश्यक जनशक्ति पूर्ति हुन नसकेको बताए। स्वास्थ्य विज्ञान शिक्षा महँगो भएकाले पनि कृषि शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको बताइन्छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया