केदारनाथ न्यौपाने र बहिनीलाई पत्र
–स्वयम्भू शाक्य
नेपाली भाषा, साहित्य र शैक्षिक क्षेत्रमा सकारात्मक सोच भएका कर्मयोगी, मानवतावादी र बहुआयामिक सुधारवादी चिन्तकका रुपमा स्व.केदारनाथ न्यौपानेलाई लिन सकिन्छ । राष्ट्रियता प्रति अगाध माया गर्ने र दीन दुःखीहरुलाई सेवा गर्ने उनको बानी थियो ।
नेपालको अस्तित्व र पहिचान विभिन्न जात जातिको धर्म, भाषा र संस्कृतिको संयोजनबाट मात्र सम्भव छ भनी आफ्नो स्वाभिमान गुमाउन नचाहिने , देश र जनताको कल्याणका लागि समर्पित हुर्ने स्व.केदारनाथ न्यौपानेलाई हामी संस्कृतिक योघ्दाकोे रुपमा पनि परिभाषित गर्न सकिन्छ ।
“बहिनीलाई पत्र” वि.स. २०१२ सालमा नेपाल भाषाको प्रगतिशील मासिक पत्रिका “थौकन्हे” बाट प्रकाशित भएका तीनवटा पत्रलाई संकलन गरि नेपाली भाषामा अनुवादित प्रस्तुत पुस्तिका श्री केदारनाथ न्यौपाने स्मृति प्रतिष्ठानबाट प्रकाशित गरिएको हो ।
भारतमा आई एस्सी पढिरहेकी बहिनी राधालाई लेखिएको पहिलो पत्रमा भारत, अमेरिका, रुस र चीनको वर्तमान अवस्थाको वर्णन गरि नेपाललाई कसरी सुधार र विकास गर्न सकिन्छ भन्ने विषयलाई नै केन्द्रित भएर प्रस्तुत पत्र लेखिएको पाइन्छ ।
विश्वको राजनीतिक इतिहासलाई केलाएर हेर्दा यो संसार दुई ध्रुवमा विभाजित छ । रुसले समाजवादी र अमेरिकाले पूँजिवादी विचारधारालाई आत्मसाथ गरिएकोले एक आपसमा सैद्धान्तिक मतभेद कायमै छ ।
भनिन्छ, स्वास्र्थ आफैमा कलुषित छ । विदेशी सहायतामा केही न केही स्वास्र्थ लुकेको हुन्छ । तसर्थ हामीले सहयोग लिदां अत्यन्तै सतर्क र होशियारी भई राष्ट्र र राष्ट्रियता माथि कुनै पनि आँच नपुग्ने तरिकाबाट मात्र सहयोग लिनु उचित हुने धारणा व्यक्त गर्नु भएको पाइन्छ ।
हाम्रो देश अरु देशको तुलनामा धनी छ । प्राकृतिक स्रोत, कला र संस्कृतिमा हामी सम्पन्न भएर पनि अरु देशको तुलनामा हामीले किन उन्नति गर्न सकिरहेका छैनौं ? शान्तिका प्रतिक गौतम बुद्ध नेपालमा जन्मेको हो भनी अझसम्म हामीले किन भन्न सकिरहेका छैनौं ? अरनिकोलाई विदेशीले चिनाउनु भन्दा अगावै हामीले किन चिनाउन सकेनौं ? आदि इत्यादि जस्ता अहंम् प्रश्नहरु उठाई आफनो देशबाट जवाफको खोजिमा रहेको पाइन्छ ।
काम गर्नु आलोचना पाउनु हो । जसले काम गर्छ उसले भूल पनि गरिन्छ भन्ने सोच हामीमा विकास हुन सकिरहेका छैनौं ? हामी भाग्यलाई प्राथमिकता दिई परिश्रमलाई तुच्छ ठान्छौं । भूल गर्नु ज्ञान प्राप्त गर्नु हो भन्ने कुरा हामीले कहिले सोचेनौं । तसर्थ अन्याय, अत्याचार र असत्यको बाटोमा हिड्नेहरु कहिल्यै पनि ऊभो लाग्न नसके झैं अर्काको कुरा काट्नु भन्दा आफनै माटोमा मोती फलाउँन सक्नु पर्दछ । होइन भन्ने परिश्रमका छिन्दलाई मात्र नखोजी मन, बचन र कर्मले ढुङ्गा र माटो जस्तैं एक आपसमा भरथेक गर्न सिक्नु पर्दछ । तब मात्र हाम्रो देशमा विकासका पाइलाहरु अगाडि बढ्न सक्दछन् ।
यो कुरा सत्य हो, इमान्दार आफैंमा ठूलो शक्ति हो । सत्तामा पुग्ने नेतृत्वहरुमा अलिकता मात्र इमान्दार बाँकी भए पनि देश विकास गर्न धेरै समय लाग्दैन् । कुशल राजनीतिज्ञहरु लोभ लालचमा होइन् आफ्नो कर्तव्यलाई विश्वास गर्न सक्नु पर्दछ । तसर्थ असल शासन नै राज्य संचालनको प्रमुख आधार हुने भएकोले कानून भन्दा केही माथी हुन सक्दैनन् । देश र जनताको हक, हित र भलाईका लागि गर्ने काम नै विकासको रुपमा बुझनु पर्दछ ।
शिक्षा मानवीय चेतना विकास गर्ने पद्धति हो । भोलिको लागि सोचेर आजैबाट शुरु गर्ने भविष्यको बाटो हो । त्यसैले विकासको आरम्भ शिक्षा बिना सम्भव नहुने भएकोले भाग्यमा होइन परिश्रममा विश्वास गर्नु पर्दछ । तब मात्र उज्यालो आए पछि अध्ँयारो र ज्ञान आए पछि अज्ञान आफै भागेर जान्छ । मन बचन र कर्मले राष्ट्रको चौतर्फ विकास गर्नका लागि देशमा व्याप्त अशिक्षा, गरिबी, शोषण, दमन, विकृति र विसंगतिबाट मुक्त गर्दै समतामूलक समाज निर्माणमा समर्पित हुन बहिनीलाई लेखेको प्रस्तुत पत्र मार्फत राज्यलाई आव्हान गर्दछन् ।
नेपाल विविधतामा एकता भएको देश हो । यहाँका विभिन्न जात जातिहरुको भाषा, धर्म र संस्कृतिलाई संरक्षण गर्दै मातृभाषाको माध्यमद्वारा शिक्षा दिएमा देशको उन्नति चाँडै हुन्छ । उन्नति नै हाम्रो चाहना हो । तसर्थ उन्नति र प्रगतिका लागि समयानुसार विषयवस्तुहरुमा पनि परिमार्जित गर्दै जानु पर्दछ यहि नै अनेकता बिच एकताको प्रतिक हो ।
संस्कृति नेपालको गहना हो । नेपालीहरुको पहिचान हो । गहनाको पहिचानले हामी नेपालीहरुलाई आकर्षण र सुन्दर बनाउँछ । त्यसैले कुनै पनि जातिको अस्तित्वलाई जीवन्त राख्ने हो भने सम्बन्धित जातिको बाड्मयलाई कदर गर्नु हाम्रो कर्तव्य हुन आउँछ ।
नेपालमा सात सालको क्रान्ति पश्चात प्रजातन्त्र आए पनि हरेक कुरामा राजनीतिकरण भएकोले गरिबीको रेखामूनि रहेका तमाम नेपालीहरुको इच्छा, आकान्क्षा र अभिलाषालाई आत्मसाथ गर्न सकिएन् । केबल नेताको मुखमा मात्र प्रजातन्त्र र स्वतन्त्रता रहन गयो । परिणाम हामीले विकास गर्न सकेनौं भनी शिक्षाविद बहिनीलाई लेखेको पहिलो पत्रमा आफनो चिन्ता व्यक्त गर्दछन् ।
नयाँ वर्ष र पत्र पत्रिकाबारे बहिनीलाई लेखेको दोश्रो पत्रमा बैशाख १ गते हाम्रो नयाँ दिनमा शुभकामना आदान प्रदान गरि भावि जीवनमा सुख र शान्ति होस् भन्ने चाहनाले केही वर्ष अगाडि देखि नै समारोहको रुपमा मनाउनु खुशीको कुरा हो । तर विक्रम सम्वत् हामी नेपालीहरुको मौलिक सम्वत् होइन । हाम्रो मौलिक सम्वत् नेपाल सम्वत् हो । त्यसैले आफनो मौलिक सम्वत् नेपाल सम्वत्लार्ई हामीले किन प्रयोग नगर्ने भनी राज्यसँग प्रश्न गर्दछन् ।
नेपालमा केही यस्ता व्यक्तिहरु छन्, जो आफनो देशलाई उपेक्षा गरि बनारसमा प्राण त्याग गर्ने इच्छा राख्दछन् । तसर्थ यस्ता व्यक्तिहरुसँग होशियार भई आफनो देश र संस्कृतिको विकास र रक्षाका लागि हामी एकढिक्का भई काम गर्न सक्नु पर्दछ । अन्यथा वैगुणी र विदेशी धमिराहरुले हाम्रो देशलाई नराम्रो काम गर्न सकिने भएकोले हामीहरुका बीच एकता हुन र जन चेतना फैलाउनका लागि शिक्षाविद ज्ञान ज्योति बाल्न चाहन्छन् ।
नेपाल चार्डपर्वहरुको देश हो । हामी जति पनि चार्डपर्वहरु मनाइ रहेका छौं ती चाडपर्वहरु मध्ये कतिपय चाडपर्वहरु आर्थिक दृष्टिकोणबाट र पुरातन अन्धविश्वासको कारणबाट मनाउँछ गाह्रो भैरहेको छ । त्यसैले संस्कृतिलाई रक्षा गर्दै देश, काल परिस्थितीनुसार चल्नु पर्ने आवश्यकतालाई महसुस गरि आफनो बहिनीलाई पत्राचार गरिन्छ ।
पत्र–पत्रिका ज्ञानको भण्डार हो । जसको माध्यमबाट आफुलाई चाहेको ज्ञान प्राप्त गर्न सकिन्छ । त्यसैले साधारण ज्ञान बढाउँन र शिक्षाको सर्वतोमुखी विकास गर्न पत्र–पत्रिकाको अध्ययन गर्न नितान्त आवश्यक देखिन्छ । तर हाम्रो नेपालमा पत्र–पत्रिकाको त्यति विकास हुन सकेको छैन । तैपनि पत्रिकामा पत्रकारहरुको रगत र पसिना छ । भाषा र देशप्रेमको आगाध माया छ । खानै नपाए पनि परिश्रम गर्ने बानी छ । त्यसैले हाम्रो पत्र–पत्रिकाहरु सकेसम्म ग्राहक बनेर पढ्ने बानी गर्नु पर्दछ । जसले पत्र–पत्रिकाको विकास हुनुका साथै पत्रकारहरुको भविष्य उज्जवल हुन सकुन् ।
बहिनीलाई लेखिएको तेश्रो पत्रमा सम्पादकका बारेमा ध्यान केन्द्रित भएको देखिन्छ । नेपालमा पत्र–पत्रिकाको विकास नभएको कारणबाट सम्पादक भनेको के हो ? यसले के काम गर्छ भन्ने विषयमा त्यति जानकारी छैन । जब वि.स. २००३ सालमा नयाँ स्कूलहरु खोल्न थाले । तब स्कूलका प्रतिनिधिहरु मिलेर विधार्थीहरुको पत्रिका “आँखा” प्रकाशित भए पश्चात मात्र सम्पादक र निजको काम के हो भन्ने विषयमा धेरैलाई थाहा भयो । हुन त शारदा र गोरखापत्र लगायत अन्य पत्रिकाहरु प्रकाशनमा नआएका होइनन् तापनि परिस्थितिले गर्दा राम्रो चल्न सकेको थिएन् ।
विदेशमा सम्पादकको काम सम्पादन गर्नु हो । तर नेपालमा लेख रचनाहरु खेज्नु, समाचार बनाउँनु, सम्वाददाता बन्नु, स्तम्भ लेख्नु, प्रेसकपी तयार पार्नु, प्रफ हेर्नु, ग्राहक बनाउनु र व्यवस्थापनको कार्य समेत मेहनतीका साथ गर्नु पर्ने हुन्छ । तसर्थ पत्रिका चलाउँनु धेरै गाह्रो कुरो हो । सिनेमा र होटलमा मनग्य खर्च गर्न सक्ने व्यक्तिले वार्षिक ग्राहक वा एउटा पत्रिका किनेर किन पढ्न सक्दैनन ्? यो हाम्रो नेपालीहरुको दरिद्र मानसिकताको उपज हो । त्यसैले नेपालमा धनी र गरिबीले होइन् चेतनाको अभाव छ । सकारात्मक सोचको खाँचो छ । बहिनी राधालाई आफनो देशमा फर्के पछि औषधी र विज्ञान सम्बन्धी एउटा स्तरीय पत्रिका प्रकाशन गर्न सल्लाह दिन्छन् ।
अन्तमा हामी यो भन्न सक्छौ कि कन्या मन्दिर माध्यामिक विद्यालयका संस्थापक सदस्य तथा प्रधानाध्यापक स्व. केदारनाथ न्यौपाने एक आदर्शवादी समाजका सचेतक हुन् । भाषा, साहित्य र शिक्षा क्षेत्रमा उहाँको अतुलनीय योगदान तथा दूरदर्शीताको कारणबाट आजभन्दा ६ दशक अगाडि लेखिएको बहिनीलाई पत्र आजसम्म पनि उत्तिकै सादर्भिक छ । मनन योग्य छ ।
प्रकासित मिति २०७७–४–५
फेसबुकबाट तपाईको प्रतिक्रिया