के के भयो गोवामा मोदी र प्रचण्डको भेटमा ?

काठमाडौ १ कार्तिक

नेपाल-भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक कात्तिक ११ गते नयाँदिल्लीमा आयोजना हुने भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्रस्तावित नेपाल भ्रमणअघि बैठक बस्न लागेको हो । मुखर्जी कात्तिक १७ गतेबाट तीनदिने राजकीय भ्रमणमा आउँदैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति भारतको गोवामा भएको भेटवार्तामा बैठक तय भएको हो । ‘कात्तिक ११ गते विदेशमन्त्री स्तरीय बैठक बस्नेछ । त्यसको एक दिनअघि सिनियर अफिसियल्सको बैठक बस्नेछ । यस विषयमा कुराकानी भएको छ’, परराष्ट्रसचिव शंकरदास बैरागीले टेलिफोनमा भने ।

विदेशमन्त्री स्तरीय बैठकमा पनि भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल हुनेछ । त्यस्तै प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्नेबारे कुरा हुनेछ । दुई वर्षअघि नेपालमा सम्पन्न विदेशमन्त्री स्तरीय आयोग बैठकको समीक्षा यसपटक हुने भएको छ । बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली पक्षको नेतृत्व गर्नेछन् भने उनकी भारतीय समकक्षी सुष्मा स्वराजले भारतको नेतृत्व गर्नेछिन् ।

दाहाल–मोदी भेटमा भारतका राष्ट्रपति मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे कुराकानी भएको उनले बताए । नेपाल बसाइका क्रममा भारतका राष्ट्रपतिले पोखरा, लुम्बिनी र जनकपुर भ्रमण गर्नेबारे त्यस क्रममा चर्चा भएको थियो । ब्रिक्स सदस्य देशहरूको आठौं शिखर सम्मेलन समापनपछि दाहाल र मोदीबीच २० मिनेट भेट भएको हो ।

बैठकमा प्रधानमन्त्री दाहालको एक महिनाअघि सम्पन्न भारतको राजकीय भ्रमणमा भएका सहमति तथा समझदारी कार्यान्वयन गर्नेबारे पनि कुराकानी भएको थियो । नेपालमा भारतीय सहयोगमा बनेका विकास परियोजनाहरूलाई गति दिन तथा तिनीहरूको कार्यान्वयनको अनुगमन गर्ने उद्देश्यले बनाउने भनिएको दुई देशीय समितिलाई चाँडै टुंग्याउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो समिति चाँडै गठन हुनेछ’, सचिव बैरागीले भने । अाजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया