के हुँदै छ कांग्रेसका भ्रातृ संस्था नेविसंघमा ?
काठमाडौं १६ श्रावण
–नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ । पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । तर, पछिल्लो दश वर्षदेखि भने कांग्रेसको नेता उत्पादन गर्ने यो कारखाना बन्द छ । जसका कारण कांग्रेसमा नयाँ नेता जन्मन सकेका छैनन् ।
नियमित महाधिवेशन हुन नसक्दा नेविसंघ १० वर्षदेखि तदर्थवादमा चलेको छ । ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकता भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन । तर, त्यसयता कांग्रेसको भने दुईवटा महाधिवेशन सम्पन्न भइसकेका छन् ।
गत फागुनमा सम्पन्न १३ औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले नेविसंघको ११औँ महाधिवेशन चाँडै गराउने घोषणा गरेका थिए । त्यसपछि २३ देखि २५ साउनसम्म महाधिवेशन गर्ने घोषणा पनि भयो । तर, महाधिवेशन आउन अब ८ दिन बाँकी हुँदा नेविसंघभित्र रहेको वर्षौंदेखिको विवाद भने मिल्न सकेको छैन ।
एउटा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढेको छ । तर, असन्तुष्ट समूह भने पहिले विवाद समाधान हुनुपर्ने माग लिएर पार्टी केन्द्रीय कार्यालयमै आमरण अनशन बसिरहेको छ ।
महाधिवेशनको मिति नजिक आइसके पनि विवाद मिलिसकेको छैन । भक्तपुर, सिन्धुपाल्चोक, रुपन्देही, पर्सा, रौतहट, कञ्चनपुर, सिरहा, सोलुखुम्बु, धनुषासहितका ११ जिल्लामा विवाद छ । ती जिल्लामा जिल्ला अधिवेशन नभए पनि महाधिवेशन प्रतिनिधिको चयनमा देखिएको विवाद मिलाउने प्रयास भइरहेको महाधिवेशन निर्देशक समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
यसअघिको समितिले प्रभावकारी काम गर्न नसकेपछि पार्टी सभापति देउवाले पाँच दिनअघि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेका थिए । समितिमा किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र गोविन्द भट्टराई सदस्य छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया