के हो एसिया अफ्रिका ग्रोथ कोरिडर ?किन आयो यो अवधारणा ?

सुरेन्द्र ढकाल

भारतले जापान र केही अफ्रिकी देशहरुलाई मिलाएर २५ मे २०१७ का दिन एसिया–अफ्रिका ग्रोथ करिडर नामक एक आर्थिक सहयोग सम्बन्धी सम्झौता अघि सा¥यो । यस अवधारणा गुजरातमा भएको अफ्रिकी विकास बैंकको बैठकको अवसरमा प्रस्तुत भएको थियो । विकासशील राष्ट्रहरुको लागि अनुसन्धान तथा सूचना प्रणाली नयाँ दिल्ली, इकोनोमिक रिसर्च इन्स्टिच्युट फर आसियान जाकार्ता र इन्स्टिच्युट अफ डिभलपिङ इकोनोमिज जापानका प्रतिनिधिहरुले यस बैठकमा भाग लिएका थिए । यी प्रतिनिधिहरुले एसिया र अफ्रिकाका प्रबुद्ध समूह (थिंक टैंक) हरुसँग सरसल्लाह गरी दीर्घकालीन सोचसहितको एक प्रस्ताव पत्र तयार गरेका थिए । बैठकले तयार पारेको यस प्रस्तावपत्र जसलाई एसिया अफ्रिका ग्रोथ करिडर भनिन्छ, यसको मुख्य घोषित उद्देश्य भनेको जापान र भारतको सहकार्यमा अफ्रिकामा गुणात्मक विकासका पूर्वसंरचनाहरुको विकास गर्नु, उनीहरुबीच सूचनाको आदानप्रदान (डिजिटल कनेक्टीभीटी) स्थापित गर्नु र सहभागी देशहरुबीच खुला र स्वतन्त्र हिन्द प्रशान्त (इण्डो प्यासिफिक) क्षेत्रीय ब्यापारको विकास गर्नु थियो । यस अवधारणा अनुसार सहभागी राष्ट्रहरुका स्वास्थ्य र औषधी उत्पादन, प्रकोप ब्यवस्थापन, सीप विकास, कृषि र कृषि वस्तु प्रसोधनका लागि आवश्यक गुणात्मक भौतिक पूर्वसंरचनाको विकासलाई प्राथमिकता दिनु थियो । यस अवधारणालाई कार्यरुपमा परिणत गर्न सहभागी अफ्रिकी देशहरुलाई भारत, दक्षिण पूर्वी एसियन देशहरु र अष्ट्रेलियाली महादेशका देशहरुसँग सामुद्रिक मार्ग (सामुद्रिक सिल्क रोड) ले जोडने लक्ष्य राखिएको छ । जसअनुरुप भारतको गुजरात जामनगरमा रहेको समुद्री वन्दरगाह, इडेन खाडीमा रहेको जिबुटीको वन्दरगाह, अफ्रिकाको मोम्वासा र जान्जीवारका वन्दरगाहहरु, मदुराइ र कलकत्ताका वन्दरगाहहरु र म्यानमारको सित्वे वन्दरगाहहरुबीच सिधा ब्यापरिक जलमार्गले जोडिने भनिएको छ ।

यस एसिया अफ्रिका ग्रोथ करिडरको अवधारणाले चार विभिन्न क्षेत्र जस्तो गुणात्मक भौतिक विकासका पूर्व संरचनाको सिर्जना, संस्थागत सूचनाको आदानप्रदान अनि सीप र क्षमताको विकास, जनता–जनताबीचको सहकार्यमा सम्पन्न गरी यस इण्डो प्यासिफिक र अफ्रिकन क्षेत्रको विकास र समृद्धि गर्ने भनिएको छ । यसप्रकार पहिल्याइएका यी चार विभिन्न क्षेत्रलाई यस अवधारणाले यस क्षेत्रको सर्वांगिण विकास र समृद्धिको लागि आवश्यक चार स्तम्भ भनेको छ । यस अवधारणालाई यथार्थमा परिणत गर्न वित्तीय स्रोतको प्रभावकारी परिचालन यस क्षेत्रका सहभागी सदस्य राष्ट्रहरुको सामाजिक आर्थिक विकासका लागि गर्नुपर्ने, उच्च गुणात्मक मापदण्डको प्रयोग गरी सदस्य राष्ट्रहरुबीच वातावरणीय र सामाजिक असरलाई न्यून गर्ने, भौतिक विकासका पूर्वसंरचना निर्माण गर्दा आर्थिक रुपबाट सम्भव अनि, समावेशी, सुरक्षित र प्रकोप प्रतिरक्षात्मक, दक्षता र दिगोपनलाई ब्यवस्थित गर्ने कुरालाई जोड दिइएको छ ।

किन आयो यो अवधारणा ?
सोभियत संघ र पूर्वी युरोपेली समाजवादको पतन साथै एकातर्फ अमेरिका र सोभियत संघबीचको शीतयुद्ध समाप्त भयो भने अर्कोतर्फ यी
दुवै खेमामा नरही बेग्लै रहेका असंलग्न भनिने तर दुवै खेमासँग सहयोग लिन नचुक्ने असंलग्न आन्दोलन पनि सेलायो । हिजोसम्म अति कमविकसित
र विकासशील राष्ट्रलाई आर्थिक सहयोग दिने भन्ने अमेरिका र पश्चिम युरोपेली राष्ट्रहरु अब सहयोग होइन, सौविध्यपूर्ण ब्यापार गरौं भन्न थाले । यसै अनुरुप विश्व ब्यापार संगठन खडा हुन पुग्यो । के अमेरिका के चीन के भारत र के नेपालजस्तो अति कमविकसित राष्ट्र पनि विश्व ब्यापार संगठनको सदस्य बन्न पुगे । यसै विश्व ब्यापार संगठनको सदस्यतालाई सदुपयोग गरी ब्यापार गर्न सकेको कारण चीनले सम्पूर्ण विश्वलाई आफ्नो बजार बनायो ।

यसरी गरेको ब्यापार नाफाको कारण चीनको केन्द्रीय बैंकमा ४० खरब विदेशी मुद्रा जम्मा हुन पुग्यो । यसको ठीक विपरीत अमेरिका, भारत र युरोपेली देशहरु चीनसँगको ब्यापारमा घाटाको स्थितिमा पुगे । विश्व ब्यापारको माध्यमबाट विश्व अर्थ ब्यवस्थालाई आफ्नो नियन्त्रणमा लिन चीनले एकातर्फ आफ्नै अन्तर्राष्ट्रिय लगानी विकास बैंक स्थापना गरी अमेरिकी नेतृत्वमा रहेको विश्व बैंक र जापानको नेतृत्वमा रहेको एसियाली विकास बैंकलाई खुला चुनौति दियो भने अर्कोतर्फ आफूसँग ब्यापार गर्ने सबै राष्ट्रलाई एकै यातायात संरचनाभित्र ल्याउन जल, स्थल दुवै मिलाई चीनले वन वेल्ट वन रोड अथवा वेल्ट रोड इनिसियटिभ (विआरआई) सुरु गरेपछि अमेरिका, जापान, भारत र युरोपेली देशमा कोलाहल मच्चियो । चीनको विआरआइ परियोजनालाई चुनौति नदिने हो भने सम्पूर्ण विश्व ब्यापार र लगानी चीनको हातमा जाने देखी अमेरिका पर्दा पछाडि बसेर भारत र जापानलाई अघि सारी उनीहरुले एसिया अफ्रिका ग्रोथ करिडरको अवधारणा अघि सारेका हुन् । चीनलाई अघि बढ्न नदिन अमेरिकाले नयाँ अन्तर्राष्ट्रिय सुरक्षा नीतिमात्रै अघि सारेन वल्की विश्व ब्यापार संगठनको नीति नियम विपरीत चीनिया वस्तुलाई भन्सार लगाउने निर्णय गरेपछि चीनले एकातर्फ विश्व ब्यापार संगठनलाई गुहारेको छ भने अर्कोतर्फ उसले पनि अमेरिकी वस्तुलाई सोही अनुपातमा भन्सार लगाएको छ । छोटोमा भन्नुपर्दा अब विश्व अर्को ब्यापारिक युद्धको अवस्थामा प्रवेश गरेको छ जस्को एउटा नेतृत्व चीनको विआरआई परियोजनाले लिएको छ भने अर्को एसिया अफ्रिका ग्रोथ करिडरको परियोजनाले लिएको छ । कुन कुन राष्ट्र ककस्को पछि लाग्ने हो त्यो त अब आउने दिनहरुले नै वताउला ।
(नेकपा मालेका पोलिटब्युरो सदस्य ढकाल बिजनेसपाटी अनलाइनका नियमित स्तम्भकार हुनुहुन्छ ।)

प्रकाशित मिति २०७५-०१-०६

फेसबुकबाट तपाईको प्रतिक्रिया