के हो कोरोना ? विश्वव्यापी नियन्त्रण प्रयास, अध्ययन–अनुसन्धान कस्तो हुदैछ ?
केशव गौतम
(कोभिड–१९) अर्थात कोरोनाभाइरस सबैभन्दा पहिला सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरमा देखिएको थियो । तर यो भाईरस कसरी उत्पती भयो भन्ने बारेमा भने बिभिन्न अफवाहहरु फैलिएको भएपनि यसबारे बैज्ञानीकहरु अझै अनुसन्धानकै क्रममा रहेकाले यसै भन्न सकिने अवस्था छैन ।
विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई ११ मार्च २०२० मा विश्व महामारी घोषणा गरेको थियो ।
नामाकरण
कोरोना भाइरसको वास्तविक नाम कोभिड–१९ हो । कोभिड–१९ मा COको अर्थ CORONA, VI को अर्थ VIRUS अनि D को अर्थ Disease भन्ने बुझिन्छ। त्यस्तै यो भाईरस पहिलो पटक सन् २०१९ मा देखिएकोले यसको पुच्छरमा १९ झुण्ड्याइएको हो । वास्तवमा बैज्ञानीकहरुले COVID-19 नाम दिनु अघि नै यसलाई Coronavirus भन्न थालिएको थियो । त्यसैले आम मानिसमा Coronavirus भन्ने नाम नै बढी प्रचलनमा छ ।
लक्षणहरु
सुरुमा कोरोनाको लक्षणलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी र टाउको दुख्ने एबं श्वास–प्रश्वासमा समस्या आउने भनिएको थियो । तर संक्रमण बढ्दै जाँदा गरिएका नयाँ अनुसन्धानहरुका अनुसार मस्कुलर पेन (शरिर दुख्ने) र कतिपय अवस्थामा खानेकुराको स्वाद थाहा नपाउने बिरामी समेत पाइएको छ ।
अहिलेसम्मको स्थीति
वो्ल्र्डओमिटरको तथांक अनुसार विश्वभर अहिलेसम्म कोरोना भाईरसबाट झण्डै ३८ लाख भन्दा बढी मानिस संक्रमित भैसकेका छन । त्यस्तै लाख १३ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने २ लाख ६० हजार बढी मानिसले यसबाट ज्यान गुमाएका छन ।
मृत्युदर
वो्ल्र्डओमिटर कै तथ्याङकलाई आधार मान्ने हो भने हालसम्मको कुल मृत्युलाई कुल संक्रमणले भाग गर्दा झन्डै ७ प्रतिशत मृत्युदर रहेको देखिन्छ । तर यो दरलाई ठ्याक्कै यति नै भन्न सकिने अवस्था भने छैन । किनभने तथ्यांक हरेक दिन बदलिरहेको छ । त्यसो त फरक फरक देशमा फरक फरक मृत्युदर रहेको पनि पाईन्छ । यस्तो हुनुको मुख्य कारण चै जनसंख्याको बनावटले फरक पारेको हुनसक्ने बैज्ञानिकहरुको ठम्याई छ । जुन देशमा युवा जनसंख्या बढी छ अथवा संक्रमितहरुमा युवा जनसंख्याको बाहुल्यता छ त्यस्तो देशमा मृत्युदर पनि कम देखिएको छ ।
कोरोना कसरी फैलिन्छ?
संक्रमित ब्यक्तिले खोक्दा, हाछिउँ गर्दा वा बोल्दा उनीहरुको नाक वा मुखबाट निस्किने स–साना Droplets हरु मार्फत सिधै एक ब्यक्तीबाट अर्को ब्यक्तिमा कोरोना सर्दछ । तर यि Droplets हरु सापेक्षिक रुपमा वजनदार हुने भएकोले यिनिहरु हावामा धेरै टाढासम्म फैलिन सक्दैनन् र तत्काल भुइँमा खस्दछन् । त्यसैले संक्रमित ब्यक्तिको शरीरबाट खसेको Droplets लाई तपाईंले आफ्नो हातले छुनु भयो र त्यही हातले नाक, मुख अथवा आँखामा छुनु भयो भने पनि यो रोग तपाईंमा सर्न सक्दछ । यही कारणले गर्दा नै विश्व स्वास्थ्य संगठनले यसबाट बच्न मान्छे–मान्छे बिच दुरी कायम राख्ने, नियमित रुपमा स्यानिटाइजर वा साबुन पानीले हात धुने, सकेसम्म हातले अनुहारमा नछुनु भन्ने गाईड लाइन्स जारी गरेको हो ।
विश्व स्वास्थ्य संगठनको गाईड लाइन्सलाई तपाईं यो लिंकमा गएर पनि पढ्न सक्नुहुन्छ ।
https://www.who.int/news-room/q-a-detail/q-a-coronaviruses
नियन्त्रणका उपाए
कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले सबै राष्ट्रहरुलाई मुख्यतया ४ वटा उपाय अपनाउन सुझाब दिएको छ ।
१) भौतिक दुरी कायम राख्ने (Maintaining Physical Distance)
२) परिक्षण (Testing)
३) ट्रेसिङ (Tracing)
४) उपचार (Treatment)
भौतिक दुरी (Physical Distance)
वास्तवमा विश्व स्वास्थ्य संगठनले सुरुमा Social Distancing भन्ने शब्दको प्रयोग गरेको थियो । तर Social Distancing को अर्थ अर्कै लाग्ने भएकोले पछी सच्च्याएर यसलाई Physical Distancing भन्न थालिएको हो ।
Physical Distancing भनेको मान्छे र मान्छे बिचको दुरी हो । भाईरसको नेचर नै एक मान्छे बाट अर्को मान्छेमा सर्ने खालको हुन्छ । त्यसैले मान्छे–मान्छे बीचको संक्रमणको दरलाई कम गर्नको लागि Physical Distancing जरुरी छ भनिएको हो । Physical Distancing ले रोग लागेकाहरुलाई वचाउने हैन । बरु रोग लाग्नै नदिनका लागि सहयोग गर्ने हो ।
Physical Distancing हुँदा र नहुँदा त्यसले संक्रमणको दरलाई कसरी प्रभाव पार्दछ भनेर बुझाउन Washington Post ले एउटा Simulator तयार पारेको थियो । १४ मार्च २०२० मा प्रकाशित यो Simulator लाई तपाईं तलको लिंकमा गएर हेर्न सक्नुहुन्छ ।
https://www.washingtonpost.com/graphics/2020/world/corona-simulator/
कोरोनासँग लड्न भौतिक दुरी कायम राख्नुपर्छ भन्ने कुरामा त कसैको पनि असहमति देखिन्न । तर भौतिक दुरीको कसरी पालना गराउने भन्ने सवालमा भने बिभिन्न देशको आफ्नै खालका तर्क छन् ।
नेपाल, भारत, भुटान, इटाली, स्पेन जस्ता देशहरु झन्डै डेढ महिना भन्दा बढी समय देखी लकडाउनमा छन । कोरिया, ताईवान जस्ता देशहरुले भने लकडाउन बिना नै कोरोनालाई जितिरहेका छन ।
अमेरिकामा त त्यहाँका राष्ट्रपतीले खुल्ला रुपमै अमेरिका बन्द हुनको लागि बनेको देश होइन भनेर बक्तब्य दिएका थिए । यसको मतलब लकडाउन नभएका देशहरुमा भौतिक दुरीको नियम पालना भैरहेको छैन भन्ने चाँही होइन । त्यहाँ पनि भौतिक दुरीको नियमलाई लागु गरिएको छ । तर घोषित रुपमा लकडाउन चै गरिएको छैन ।
वास्तवमा भौतिक दुरी कायम गरेर संक्रमणको दरलाई कम गर्ने कुरा मौजुदा हेल्थ केयर सिस्टमसँग पनि जोडिएको छ । समाजमा सबै मान्छे एकैचोटी संक्रमित भएमा हस्पिटलहरुले बिरामीको चाप धान्न सक्दैनन । यसैपनि अमेरिका जस्तो देशमा समेत भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री अभाव भएको भन्ने समाचार हामीले सुनेका छौ ।
लकडाउन
लकडाउन भनेको सरकारी तहबाट आम मानिसका लागि जारी Stay at home order हो । एक किसिमले यसलाई सफ्ट कफ्र्यु भन्दा पनि हुन्छ । लकडाउनमा मान्छेहरुलाई अनुमती बिना घर बाहिर ननिस्किनु भन्ने आदेश हुन्छ । लकडाउनको कारण मान्छेहरु घरबाट बाहिर निस्किन नपाउने हुँदा भौतिक दुरी कायम भै अन्तत कोरोना संक्रमणको दर कम हुने विश्वाश गरिन्छ ।
वास्तम्बमा लकडाउन Unknown Circumstances को उपज हो । जब कुनै निश्चित ठाउँ वा समाजमा को–को मान्छे संक्रमित छन र संक्रमणको दौरान ति मान्छेहरु अरु को–को मान्छेको संम्पर्कमा पुगेका थिए भन्ने कुराको यथेष्ट जानकारी हुँदैन । त्यसबेला त्यो पुरा भुगोललाई नै लकडाउन गरेर संक्रमणलाई अरु फैलावट हुनबाट रोक्न सकिन्छ । लकडाउनको मुलभुत उदेश्य भौतिक दुरी कायम गरेर संक्रमणको दरलाई कम गर्नु नै हो ।
खासमा भौतिक दुरीको नियमलाई पालना गर्न सबै मान्छेहरु उत्तिकै सचेत भैदिने हो भने लकडाउनको जरुरी नै हुँदैनथ्यो । तर कुनै वाध्यकारी ब्यबस्था बिना स्वघोषित रुपमा भौतिक दुरीको पालना गराउन सकिदैन भन्ने निष्कर्षकै आधारमा लकडाउन जस्तो कठोर व्यबस्था लागु गरिएको हो । लकडाउन गर्नुपर्ने बिषयमा वीज्ञहरुको फरक फरक धारणा भएपनि यसलाई मुलभुत रुपमा तीन वटा कारणहरुमा बिभाजन गरेर हेर्न सकिन्छ ।
१) भौतिक दुरी कायम गर्ने र भाईरसलाई थप फैलिन वाट रोक्न
२) द्रुत गतिमा संक्रमितहरुको पहिचान गर्न
३) लकडाउनको दौरान मेडिकल तयारीहरु गर्ने, हेल्थ केयर सिस्टमलाई मजबुत बनाउने
यि तीन कारणहरु बाट के बुझ्न सकिन्छ भने लकडाउनले भौतिक दुरी मात्रै कायम गर्दैन । बरु यसले द्रुत गतिमा संक्रमितहरुको पहिचान गर्ने, आइसोलेट गर्ने र मौजुदा हेल्थ केयर सिस्टमलाई अझ मजबुत बनाउने समय पनि प्रदान गर्दछ ।
लकडाउनका चुनौतीहरु
कोरोना नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी बिधी हुँदाहुँदै पनि लकडाउनका थुप्रै व्याबहारिक कठिनाई हरु छन् । जसले गर्दा यसलाई कोरोना नियन्त्रणको निर्बिकल्प विधी मान्न सक्ने आधारहरु कदापी छैनन ।
जस्तो कि सत प्रतिशत लकडाउन कुनै पनि आधुनिक समाजमा असम्भव प्राय हुन्छ । किनकी लकडाउन जतिसुकै कडा भएपनि केही प्रतिसत मान्छेहरु घरबाहिर निस्किएकै हुन्छन् । उदाहरणको लागि लकडाउनकै बिचमा पनि साँझ बिहान मान्छेहरु बजारमा भिड लागेको समाचार हामीले देखिरहेकै छौ । त्यस्तै लामो समयसम्म लकडाउन गरिराख्न पनि कतिपय आर्थिक र सामाजिक कारणहरुले गर्दा सम्भब हुँदैन ।
लकडाउनको सबैभन्दा ठुलो समस्या भनेकै यो कहिलेसम्म गर्ने भन्ने हो । भ्याक्सिनको बिकास नभैसकेको अवस्थामा लकडाउनबाट मात्रै समस्याको समाधान खोज्ने हो भने त्यो निकै लामो समयसम्म जान सक्छ । त्यसबाट कोरोनाको संक्रमणलाई त कम गर्न सकिएला तर मान्छेको रोजिरोटीको सवाल भने बिकराल हुन सक्छ । अझ हाम्रो जस्तो तेस्रो विश्वमा त लकडाउनलाई अनिश्चित कालसम्म लम्ब्याउदा रोगले भन्दा भोकले बढी मान्छे मर्न सक्ने सम्भावना रहन्छ ।
त्यसैले छोटो समयको लागि लकडाउनलाई भौतिक दुरी मेन्टेन गर्ने साधनको रुपमा प्रयोग गर्न सकिए पनि दिर्घकालमा भने हेल्थ केयर सिस्टमलाई बृहत्तर बनाउन मात्रै उपयोग गर्न सकिन्छ ।
परिक्षण (Testing)
परिक्षण (Testing) भनेको मान्छेको शरीरमा भाईरसको संक्रमण छ कि छैन भनेर पहिचान गर्ने बिद्यी हो । परिक्षणवाट जहिले पनि Binary नतिजा निस्किन्छ । एउटा पोजेटिभ र अर्को नेगेटिभ ।
विश्व स्वास्थ्य संगठनको सुझाब अनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारी तबरबाट गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको परिक्षण नै हो । कोरोना नियन्त्रणमा परिक्षण कति महत्वपूर्ण छ भनेर बुझाउनलाइ विश्व स्वास्थ्य संगठन (WHO) ले समेत यसलाई तिन चोटी दोहोर्याएर Testing, Testing र Testing भनेको छ ।
WHO ले परिक्षणलाई यतिधेरै महत्व दिएर भन्नुको कारण चाँही दुई वटा छन ।
१) संक्रमितहरु पहिचान गर्ने र
२) संक्रमणलाई थप फैलिन नदिन ट्रेसिङ गर्ने
अब आउनुस् Testing ले संक्रमण थप फैलिनबाट रोक्न कसरी सहयोग गर्छ भन्नेबारे उदाहरण मार्फत बुझौ ।
एउटा निश्चित भुगोल/ समाज भित्र एक लाख जना मान्छे बस्छन भनेर मानौँ ।
Condition 1: सरकारले सबै एकलाख जनाकै कोरोना Testing गर्यो भने के हुन्छ?
भलै व्याबहारिक रुपमा सबै मान्छेको Testing गर्नु सम्भव नहोला तर Assumption लाई मान्ने हो भने यस्तो कन्डिसनमा भाईरसलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । किनकी जब तपाईंलाई संक्रमितहरुको वास्तविक डाटा थाहा हुन्छ, त्यो बेला संक्रमित मान्छे र संक्रमण नभएका मान्छे बिच भर्चुअल पर्खाल खडा गर्न सकिनेछ । त्यो भनेको संक्रमितहरुलाई आइसोलेसनमा राखेर ट्रिट्मेन्टको प्रोसेसमा जान सकिन्छ । र, संक्रमण नभएका मान्छेलाई नर्मल लाइफमा फर्काउन सकिन्छ । खासमा सबै मान्छेको परिक्षण गर्न सकिएको अवस्थामा त ट्रेसिङको पनि जरुरी हुँदैन । बस संक्रमितहरुको Treatment मात्रै गरे पुग्छ ।
Condition 2: १०% अर्थात दश हजार जनामा मात्रै स्याम्पल Testing गर्यो भने के हुन्छ?
अब मान्नुस् कि दश हजार जनाको Testing मा एक हजार जनाको नतिजा पोजिटिभ देखियो । यो अवस्थामा हामीले के बुझ्नु पर्ने हुन्छ भने यि एक हजार जना संक्रमितहरु Testing गरिएका दश हजार जना मध्यका हुन । तर बाँकी नब्बे हजार जनाको त Testing नै नभएको हुनाले उनिहरु मध्य चै कतिजना संक्रमित छन भन्न् सकिन्न । त्यसैले यस्तो बेला ति एक हजार जना संक्रमितहरुको ट्राभेल हिस्ट्री पत्ता लगाएर उनिहरु सँग संपर्कमा पुगेका मान्छेहरुको पहिचान (Tracing) गर्दै Testing गर्ने बिकल्प नै सबैभन्दा उत्तम हुन्छ । जब तपाईं सबै मान्छेको Testing गर्न सक्नुहुन्न भने त्यस्तो अवस्थामा स्पष्ट लक्षण देखिएका हरुको र संक्रमितसँग संपर्कमा पुगेकाहरुको Testing गर्ने बिकल्प मात्रै बाँकी रहन्छ ।
Tracing के हो भनेर हामी एकैछिनमा चर्चा गर्नेछौ तर त्यो भन्दा पहिला Testing र ट्रेसिङको सम्बन्धलाई बुझौ । यि दुई बिलकुल एक अर्कासँग अन्तर सम्बन्धित छन । जब तपाईं कम Testing गर्नुहुन्छ भने बढी Tracing गर्नुपर्ने हुन्छ र ठीक उल्टो जब Testing बढी गरिन्छ त्यो बेला Tracing कम गर्दा पनि खासै फरक पर्दैन ।
ट्रेसिङ (Tracing)
Tracing भनेको कोरोना संक्रमित ब्यक्तिको संपर्कमा आएका ब्यक्तिहरुको पहिचान गर्ने बिधी हो । यसलाई अहिलेको चलनचल्तीको भाषामा संक्रमितको ‘ट्राभेल हिस्ट्री’ पत्ता लगाउने भनेर बुझ्दा पनि हुन्छ ।
Testing ले संक्रमितको पहिचान गर्दछ भने Tracing ले चै संक्रमितको संपर्कमा पुगेका ब्यक्तिहरुको पहिचान गर्दछ ।
मानिलिउँ हालसालै तपाईं त्यस्तो ब्यक्तिको संपर्कमा पुग्नु भएको थियो । जो ब्यक्तीलाई कोरोन संक्रमण पुष्टि भएको छ भने त्यस्तो अवस्थामा तपाईंमा पनि उक्त भाईरस संक्रमण भएको हुनसक्ने उच्च सम्भावना रहन्छ । तर यो सम्भावना मात्रै हो । संक्रमितको संम्पर्कमा पुग्दैमा कोरोना सरेको हुन्छ भन्ने ग्यारेन्टि चाँही हुँदैन ।
कोरोना नियन्त्रणको केसमा Tracing किन पनि जरुरी छ भने यसले सम्भब्य संक्रमितहरुको बारे जानकारी दिन्छ ।
Tracing कसरी गरिन्छ?
Tracing को लागि WHO ले खास कुनै गाईड लाइन्स दिएको छैन । न त यसको कुनै स्थापित मान्यता हरु नै छन । सामान्य अवस्थामा प्रारम्भिक Tracing चै संक्रमित ब्यक्तीसँगको सोधपुछको आधारमा गर्न सकिन्छ । तर कतिपय बिकशित मुलुकहरुले भने डिजिटल टेक्नोलोजीको प्रयोग गरेर पनि Tracing गरेको पाईन्छ । उदाहरणको लागि चाइनाले कसरी सर्बसाधारणको मोबाइलमा QR-Code इन्स्टल गरेर जिपिएस टेक्नोलोजी मार्फत उनिहरुको ‘ट्राभेल हिस्ट्री’ पत्ता लगाएको थियो भन्ने जान्न यो लिन्कमा गएर हेर्न सक्नुहुन्छ ।
उपचार (Treatment)
Testing मार्फत जब कोरोना संक्रमितको पहिचान हुन्छ त्यसपछी उनिहरुलाई उपचारको प्रकृयामा लगिन्छ । कोरोनाको बारेमा मान्छेहरुमा यो रोग लागेपछी बाँचिदैन कि भन्ने ब्यापक डर रहेको पाईन्छ । तर वास्तविकता चाँही कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्ने होइन ।
Chinese Journal of Epidemiology ले February 17 मा जारी गरेको डकुमेन्टलाई मान्ने हो भने कोरोनाका ८० % भन्दा बढी बिरामीमा सामान्य लक्षण मात्रै देखिन्छ । र त्यस्ता मान्छेहरुलाई हस्पिटल जान समेत जरुरी हुँदैन । उनिहरु घरमै रिकभर हुन सक्छन ।
बाँकी २० % बिरामीमा मात्रै निमोनिया तथा श्वास प्रश्वासमा समस्या देखिन्छ । उनिहरुलाई हस्पिटलमा ‘इन्टेन्सिभ केयर’को जरुरी हुन्छ । यसमध्ये पनि झन्डै ७ % मान्छेलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर संक्रमितहरुको संख्या एकदमै ठुलो भएमा त्यसको ७ % भनेको पनि एकदम ठुलो आँकडा हुन जान्छ । त्यही भएर केही समय अघि हामीले अमेरिका, ईटाली, स्पेन जस्ता आर्थिक रुपमा सम्पन्न मुलुकमा समेत भेन्टिलेटरको अभाब भएको भनेर समाचार सुनेका थियौ । हाम्रो जस्तो गरीब देशमा यदी युरोप, अमेरिकाको स्तरमा संक्रमण फैलिएमा ठुलो मानबिय संकट आईलाग्न सक्छ । त्यसैले भेन्टीलेटर जस्ता अत्यावश्यक स्वास्थ्य उपकरणको बेलैमा जोहो नगर्ने हो भने स्थिती नियन्त्रण बाहिर जान सक्छ भन्नेमा सरकार बेलैमा सचेत हुन जरुरी देखिन्छ ।
निष्कर्ष
निष्कर्षमा भन्नुपर्दा कोरोना नियन्त्रणका ४ वटै उपायहरु एक अर्कासँग अन्तर्सम्बन्धित छन । अन्तर्सम्बन्धित भन्नाले यि चारैवटा उपायहरु एकैसाथ लागु गरियो भने मात्रै प्रभाबकारी रुपमा कोरोना नियन्त्रण गर्न सकिन्छ । उदाहरणको लागि भौतिक दुरी मात्रै कायम राखेर Testing को पक्षलाई बेवास्ता गरियो भने अथवा Testing मात्रै गरेर Physical Distance र Tracing को पक्षलाई बेवास्ता गरियो भने यसले अपेक्षित नतिजा दिदैन । नेपालमा झन्डै डेढ महिना देखी लकडाउन त जारी छ । तर Testing र Tracing को काममा भने उतिसारो ध्यान पुगेको देखिन्न । जस्लेगर्दा आजको दिनसम्म संक्रमणको दर त ज्यादै कम देखिएको छ तर लकडाउन अनन्तकालसम्म लम्ब्याउन सकिदैन भनेर मान्ने हो भने लकडाउन खुलेपछी कोरोनाले ठुलो महामारिको रुप नलेला भन्न सकिन्न । यसबिचमा सरकारले हेल्थ केयर सिस्टमलाई मजबुत बनाउन र स्वास्थ्य सामाग्री एबं उपकरणहरुको जोहो गर्न जुन हिसाबले तयारी गर्नुपर्ने थियो त्यो पटक्कै गरेको देखिन्न ।
र अन्त्यमा,
हर्ड ईम्युनिटी (Herd Immunity) बारे
भ्याक्सिनको बिकास नहुँदा सम्म कोरोनालाई पूर्ण रुपमा निर्मुल पार्न सकिदैन भन्ने कुरामा त सम्पूर्ण विश्व एकमत छ । तर भ्याक्सिन बन्नलाई पनि कम्तिमा एक देखी डेढ बर्ष लाग्न सक्ने भएकोले त्यती लामो समय सम्म लकडाउन जस्तो कठोर ब्यबस्थालाई जारी राख्न सकिन्न भन्ने तर्कहरु छन । लकडाउन जारी राख्न नसकिने अवस्थामा समाजमा हर्ड इम्युनिटी ल्याएर मात्रै कोरोनालाई नियन्त्रण गर्न सकिन्छ भन्ने आवाज बिशेषगरी अमेरिका, बेलायत जस्ता देशहरुमा सुनिन थालेको छ ।
आखिर के हो त हर्ड इम्युनिटी?
ईम्युनिटी भनेको भाईरस वा ब्याक्टेरियासँग लड्ने प्रतिरोधात्मक क्षमता हो । मान्छेको शरीरमा केही न केही ईम्युनिटी जन्मजात आएको हुन्छ । त्यस्तै खानपान वा बातावरणको कारणले पनि शरिरमा लगातार इयुनिटी बिकास हुने गर्दछ । तुलनात्मक रुपमा युवा अवस्थामा मान्छेको शरिरमा रोगसँग लड्ने Defense system मजबुत हुने गर्दछ । तर वास्तवमा मान्छेको शरिरमा कुनै भाईरस वा ब्याक्टेरियालाई पराजित गर्न सक्ने क्षमता चाँही दुई तरिकाले बिकास हुन्छ ।
१) भाईरसको संक्रमण भएर निको भएपछी ।
२) भ्याक्सिन मार्फत
एकचोटी तपाईंको शरीरमा इम्युनिटी बिकास भैसकेपछी एउटा निश्चित समय भित्र फेरी सोही रोगको संक्रमण हुने सम्भावना एकदम कम हुन्छ । किनकी तपाईंको शरीरमा बिकास भएको इम्युनिटी सिस्टमले भाईरसलाई पराजित गरिदिन्छ ।
हर्ड इम्युनिटी भनेको चाँही समाजमा ८०% भन्दा बढी मान्छेमा यस्तो किसिमको प्रतिरोधी क्षमता बिद्यामान हुनुलाई मानिन्छ । भ्याक्सिनको बिकास नभएको अवस्थामा यो तबमात्रै सम्भव हुन्छ जब समाजमा बहुसंख्यक मान्छेहरु संक्रमित भएर रिकभर भएका हुन्छन ।
हर्ड इम्युनिटीका पक्ष लिने बैज्ञानीकहरुको राय के छ भने यसलाई निश्चित प्रकृया बनाएर लागु गर्न सकिन्छ । जस्तो कि एउटा निश्चित समयमा बृद्धबृद्धा र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेलाई मात्रै घर भित्र बसाएर अरुलाई नियमित अवस्थामा फर्काउन सकिन्छ । त्यसो गर्दा ति मान्छेहरुमा संक्रमणको जोखिम त रहन्छ । तर संक्रमित भैहाले पनि उनिहरुसँग रोग प्रतिरोधी क्षमता बढी हुने हुनाले मृत्युदर कम हुन्छ । र, यसरी दिन बित्दै जाँदा एउटा निश्चित समयमा समाजका बहुसंख्यक मान्छेहरु संक्रमित भएर पनि निको भैसकेका हुनेछन् । अनी एकचोटी संक्रमित भएर निको भैसकेपछि उनिहरुमा फेरी संक्रमण हुने सम्भावना कम हुन्छ । त्यसैले अरुलाई रोग सार्न सक्ने सम्भावना पनि हुँदैन । र यसरी झन्डै ८०% मान्छेमा संक्रमण भएपछी समाजमा हर्ड इम्युनिटी बिकास हुन्छ र त्यो बेला संक्रमणको दर पनि एकदम थोरै मात्र भएको हुनेछ । हर्ड इम्युनिटीको चरणमा पुगेपछी भने बृद्धबृद्धा एबं प्रतिरोधी क्षमता कमजोर भएका मान्छेलाई समेत घर बाहिर निकाल्न सकिन्छ । हुन त त्यतिबेला पनि थोरै मात्रामा संक्रमणको जोखिम त रहन्छ । तर संक्रमित भैहाले पनि त्यो बेला हस्पिटलहरुमा बिरामीको संख्या कम हुने हुनाले इन्टेन्सिभ केयर मार्फत मृत्युदर कम बनाउन सकिन्छ ।
तर हर्ड इम्युनिटीबारे असहमत बैज्ञानीकहरुको बिचारमा भने यो एकदम जोखिमयुक्त र मुर्खतापूर्ण उपाय हो । किनकी हर्ड इम्युनिटी ल्याउनको लागि समाजलाई खुल्ला छोडिदिनु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको गाईड लाइन्सलाई लकडाउन जस्तो वाध्यकारी ब्यवस्था मार्फत कडाइकासाथ लागु गर्दा समेत Exponential Growth भैरहेको महामारिलाई बिना कुनै नियन्त्रण खुल्ला छोडिदिने हो भने संक्रमितको संख्या हस्पिटल सिस्टमले धान्न नसक्ने अवस्थामा पुग्न सक्छ । जसको कारण अत्याधिक मान्छेहरुको ज्यान जोखिममा पर्दछ ।
प्रकासित मिति २०७७–१–२५
फेसबुकबाट तपाईको प्रतिक्रिया