कोरोनाका कारण बेलायतमा हुने जलवायु सम्मेलन स्थगित
काठमाडौं, २० चैत
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बेलायतको ग्लास्गोमा हुने तय भएको जलवायु सम्मेलन एक वर्ष पछि धकेलिएको छ ।बेलायत र संयुक्त राष्ट्रसंघका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसै वर्षको ९ नोभेम्बरबाट सुरु हुने बताइएको राष्ट्रसंघीय वार्षिक भेला कोप–२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुने कायक्रम थियो । अब सो सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ।
विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहँदा जलवायु सम्मेलन स्थगित गर्नुपर्ने आवाज उठेका थिए । स्कटल्याण्डको ग्लास्गो सहरमा सम्मेलनका लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको संख्यामा मानिसहरू भेला हुँदै थिए।
महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड–१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँदैछ।
जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण पेरिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो । वातावरणवादी समूहहरूले यो टार्न नसकिने निर्णय भएको बताएका छन् ।
यद्यपि यो सम्मेलन यसअघि नै बेलायत र स्कटिस सरकारबीचको असहज अवस्थाले विवादित बनिसकेको थियो ।
सोही कारण वार्ताहरू सञ्चालन गर्ने जिम्मा पाएकी मन्त्री क्लेअर ओ–निललाई प्रधानमन्त्री बोरिस जोनसनले बर्खास्त गरेका थिए ।
द इन्स्चिच्युट फर न्यू इकोनोमिक थिङ्किङका अडयर टर्नर भन्छन्, ‘यस महामारीले कोप २६ का लागि हाम्रा प्राथमिकताका तहलाई पुर्नव्यवस्थित गर्नेछ। कार्बन कम उत्सर्जन गर्ने नयाँ प्राथमिकता अब अर्थतन्त्रलाई पुनर्निर्माण गर्नुपर्ने अवस्थामाझ अवसरका रूपमा देखिनेछ।Agency
फेसबुकबाट तपाईको प्रतिक्रिया