कोरोनाका गम्भिर बिरामीको लागि पनि बरदान बन्दै डेक्सामिथासोन नामक औषधि

काठमाडौं, २ असार

कोरोना भाइरस (कोभिड-१९ ) बाट गम्भीर बिरामी भएका मानिसको ज्यान बचाउने नयाँ औषधिको पहिचान भएको छ । डेक्सामिथासोन नामक औषधिको प्रयोगबाट कोरोना भाइरसबाट ग्रसित बिरामी निको हुने एक अध्ययनले पुष्टि गरेकाे छ।

सस्तो र सहजै उपलब्ध हुने यस औषधिले कोरोना भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई समेत बचाउन सक्ने छ। बेलायतका वैज्ञानिकहरुले डेक्सामिथासोन कोरोनाविरुद्धको लडाइनमा ठूलाे सफलता प्राप्त भएको जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ। यो औषधिले काेराेना भाइरसका कारण भेन्टिलेटरमा राखेको बिरामीको मृत्युको जोखिम एक तिहाइले घटाउने बताइएकाे छ। अक्सिजन दिनुपर्ने अवस्थामा पुगेका पाँच बिरामी मध्ये चारलाई यो औषधिले निको हुने समाचारमा जनाइएको छ।

अनुसन्धानकर्ताले बेलायतमा कोरोना भाइरसको संक्रमणबाट सुरुवातदेखि अहिलेसम्म ५ हजार मानिसको ज्यान बचाउन यही औषधिको प्रयोग गरेको दाबी गरेका छन्। यो औषधि निकै सस्तो भएकाले कोरोनाका धेरै संक्रमति रहेका गरिब देशले समेत धेरै फाइदा लिनसक्ने बताइएको छ। कोरोना भाइरसका २० मध्ये १९ बिरामी अस्पताल भर्ती नभइ ठिक हुने गरेका छन्। जो अस्पतालमा भर्ती हुन्छन्, उनीमध्ये अधिकांश पनि ठिक हुन्छ। तर, केहीलाई भने अक्सिजन वा मेकानिकल भेन्टिलेसनको आवश्यकता पर्छ। ती उच्च जोखिममा रहेका बिरामीलाई डेस्कामेथासोन औषधि प्रभावकारी हुने विशेषज्ञहरुको भनाइ छ।

यो औषधिको प्रयोग पहिलेदेखि नै शरिर सुन्निएको कम गर्नको लागि प्रयोग गरिने गरिएको थियो। अब यसले कोरोनाका कारण हुने मानविय क्षेति कम गर्न सहयोग गर्ने अनुमान गरिएको छ। जब शरिरको प्रतिरक्षा प्रणाली ओभरड्राइभमा जान्छ, तब यो औषधिले कोरोना भाइरसँग लड्न सहयोग गर्ने अनुसन्धानकर्ताको दाबी छ। यो औषधिको परीक्षण अक्सफोर्ड युनिभसिर्टीको टिमले लगभग २ हजार अस्पतालमा गरेको थियो।

भेन्टिलेटरमा राखिएको बिरामीमा यो अौषधि प्रयोग गर्दा मृत्युको जोखिम २८ देखि ४० प्रतिशतसम्म कम गरेको थियो। यस्तै अक्सिजनको आवश्यकता पर्ने बिरामीको जोखिम २० देखि २५ प्रतिशतसम्म कम भएको देखिएको छ। मुख्य जाँचकर्ता प्रोफेसर पिटर हार्बीले भनेका छन्, ‘यो अहिलेसम्मको एउटा मात्रै औषधि हो, जसले मृत्युदर कम गर्न सक्षम भएको छ। यसले राम्रो काम गरेको छ, यो एक ठूलो सफलता हो।’

अर्का शोधकर्ता प्रोफेसर मार्टिन ल्यान्ड्रले भनेका छन् कि भेन्टिलेटरमा उपचाररत हरेक आठ बिरामीमा एक जनाको जीवन बचाउन सकिन्छ। अक्सिजन दिएर उपचार गरिएका बिरामीका लागि यो औषधिको प्रयोग गरेर उपचार गर्दा २५ जनामा एक जनाको ज्यान बचाउन सकिन्छ। बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया