कोरोनाको प्रभाव : दैनिक तथा साप्ताहिक पत्रपत्रिका प्रकाशनमा चुनौती

सगिता सुबेदी
बिजनेसपाटी १९ चैत्र ।

एक सय बर्ष हाराहारीको इतिहास बोकेको नेपालका पत्रपत्रिकाहरु यतिबेला अधिकाशं जसो बन्द भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि पत्रपत्रिकाहरु भन्द भएका हुन् । खासगरी सरकारले विगत ९ दिन यतादेखि गरेको मुलुक लकडाउन, पत्रपत्रिका ओसार प्रशारका क्रममा भाइरस फैलनसक्ने जोखिम, भाइरसको प्रकृति र विज्ञापन बजारको कमजोर अवस्थाबीच नेपालका अधिकाशं जसो दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु बन्द भएका हुन् । संसारमा यसअघि देखिएका भन्दा पृथक प्रकृतिको र फैलने दर उच्च रहेको भारइरसको कारणले पनि प्रिन्ट मिडियामा यसको असर परेको हो । यद्यपी प्रविधिले अलि सहज बनाएकोले होला रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यम भने सञ्चालनमा रही रहेका छन् । धेरैजसो पत्रकारहरुले घरमै बसेर काम गरिरहे पनि केही पत्रकार तथा फोटो पत्रकारहरु भने जोखिम मोलेरै फिल्डमा खटिएका देखिन्छन् ।
कोरोनाकै कारण मुलुककै ठुलो मिडिया कान्तिपुर मिडिया हाउसले रेडियो र कान्तिपुर टेलिभिजनको प्रशारण बाहेक कान्तिपुर दैनिक, काठमाण्डौ पोष्ट, नेपाल साप्ताहिक, कान्तिपुर साप्ताहिक लगायत अन्य सबै प्रकाशनहरु सुचना जारी गरेरै स्थगित गरिसकेको छ । अंगे्रजी दैनिक दि हिमालय टायम्स, आर्थिक पत्रिका कारोबार दैनिक, हिमालय टायम्स दैनिक लगायतले पनि सुचना जारी गरेरै प्रकाशन स्थगित गरेका छन् । कतिपय दैनिक पत्रिकाहरुले प्रकाशन स्थगनको आधिकारीक घोषणा नगरे पनि पत्रिका प्रकाशनमा ल्याएका छैनन् । तर अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र नागरिक दैनिकले भने पृष्ठ घटाएरै भएपनि प्रकाशनलाई निरन्तरता दिइरहेका देखिन्छन् ।
देशभरका साप्ताहिक पत्रिकाहरु पनि अधिकाशं जसोले कोरोनाकै कारण आफना प्रकाशन बन्द गरिसकेका छन् । यसरी अहिले नेपालका ९० प्रतिशत पत्रपत्रिकाहरु अल्पकालिन रुपमा बन्द भएका देखिन्छन् ।
यद्यपी मिडियाको हकमा पत्रपत्रिका मारमा परेपनि यतिवेला अन्य आर्थिक, सामाजिक, व्यवसायिक, कलाकारिता लगायत मानविय जिवनका सबै अवयवहरु चरम अप्ठेरोमा छन् । समयको घडी नै रोकिए झै भएको छ ।
सरकारले ११ गतेबाट मुलुकलाई ७ दिनको लागि लकडाउन गरेकोमा त्यसलाई थप ७ दिन बढाएर २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरिसकेको छ । सरकारका प्रबक्क्ता सञ्चारमन्त्री तथा अर्थमन्त्री डा युवराज खतिवडाले रासससँगको अन्र्तवार्तामा भारतमा कोरोनाको संक्रमणको अवस्था कस्तो हुन्छ त्यसको आधारमा नेपालमा पनि कदम चाल्नु पर्ने अवस्था आउने बताएका छन् । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमितको सङख्या बढी रहेको छ । भुटानले पनि आफनो देशमा २१ दिने लकडाउन घोषणा गरिसकेको छ । ती अवस्थाहरुले नेपालमा पनि लकडाउन अझै लम्बन सक्ने अवस्था देखिन्छ । लकडाउन जति बढे उत्ति नै नेपालका पत्रपत्रिकाहरुको प्रकाशनमा अप्ठेरो पर्ने देखिन्छ ।
यसरी प्राणघातक कोरोना भाइरसको पृथक प्रकृति र फैलावटले नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा प्रिन्ट मिडियामा संकट उत्पन्न गराएको छ । लकडाउन लम्बिए र विश्वव्यापी माहामारीको अवस्था अझै भयावह बनेको खण्डमा पत्रपत्रिकाको भविष्य नै जोखिममा पर्ने हो की ?

फेसबुकबाट तपाईको प्रतिक्रिया